विद्युतीय कारोबारको मुद्दामा जेनेस सलुसनलाई जिल्ला अदालतको सफाइ
काठमाडौँ : काठमाडौँ जिल्ला अदालतले जेनेस सलुसन विरुद्धको विद्युतीय कारोबार सम्बन्धी मुद्दामा सफाइ दिएको छ।
न्यायाधीश खिमानन्द भुसालको एकल इजलासको कार्तिक ६ मा सुन्दर ग्रुप अफ कम्पनीजको दाबी नपुगेको भन्दै जेनेस सलुशनलाई सफाइ दिएको हो।
जेनेसका सिइओ अञ्जनी फुयाँलसहितले सुन्दर ग्रुप अफ कम्पनिजका वेभ होस्ट गरेकोमा अनधिकृत रूपमा वेभ होस्टमा प्रवेश गरेर कम्पनी र कम्पनीका ग्राहकको सबै डेटाहरू नष्ट गरेको दाबी गर्दै अदालतमा मुद्दा दायर भएको थियो।
सुन्दर ग्रुपले मेटाइएको आफ्ना डेटाहरू माग्दा नदिएको भन्दै सो डेटा मेटाउँदा कम्पनीलाई ठुलो आर्थिक क्षति भएको र सो डेटाहरूको दुरुपयोग हुनसक्ने भन्दै कम्पनीका प्रबन्ध निर्देशक कविराज कँडेलले प्रहरीको साइबर ब्युरोमा जाहेरी दिएको थियो।
ब्युरोले गरेको अनुसन्धानमा अमेजन वेभ सर्भिसबाट प्राप्त विवरण लगायतको अध्ययनबाट जेनेस सोलुसनको आइडीबाट अनधिकृत रूपमा प्रवेश गरेर डेटा डिलिट गरेको भन्दै अञ्जनीसँगै अनिता फुयाँल, रमा फुयाँल र नेपालस्थित कार्यालयका सिइओ प्रसन्न पोखरेललाई प्रतिवादी बनाएको थियो।
पुष ५, २०८१ शुक्रबार १४:३९:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।