कार्यालयमा हाजिर गरेर टाप ठोक्ने चिकित्सकलाई कस्दै मन्त्रालय
काठमाडौँ : कार्यालयमा उपस्थित भए पनि हाजिर गरेर बाहिरिइहाल्ने चिकित्सकमाथि स्वास्थ्य मन्त्रालयले कार्वाहीको तयारी सुरु गरेको छ। अस्पतालमा चिकित्सक नभेटिएकोबारे मन्त्रालयले सुरु गरेको ‘हेल्लो स्वास्थ्य १११५’ मा अधिकांश गुनासो आएपछि त्यस्ता चिकित्सक पहिचान गरेर कार्वाही गर्न स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले निर्देशन दिएका हुन्।
मन्त्री पौडेलले यस अगाडि नै विद्युतीय हाजिरी अनिवार्य गर्न निर्देशन दिए पनि त्यसको समेत पालना भएको देखिएन। मन्त्रालय सम्बन्धी गुनासो सुनुवाइका लागि सुरु गरेको हेल्लो स्वास्थ्यमा आइरहेका गुनासोमध्ये कार्यालय समयमा सम्बन्धित चिकित्सक अस्पतालमा नभेटिएको अधिक गुनासो आएपछि मन्त्री पौडेलले यसको अनुगमन र कार्वाहीको निर्देशन दिएको मन्त्रालयका एक अधिकारीले जानकारी दिए।
मन्त्रालयले मातहतका सबै अस्पतालमा पत्र पठाएर चिकित्सक एवं स्वास्थ्यकर्मीहरू कार्यालय समयमा कार्यकक्षमा रही सेवा प्रवाहको व्यवस्था मिलाउन निर्देशन दिएको थियो। पत्रमा कार्यालय समयमा बाहिर जानु परे लगबुक राखेर जाने व्यवस्था मिलाउन भनेको थियो।
कार्यालयमा आउँदा र जाँदा अनिवार्य रूपमा विद्युतीय हाजिरी गर्ने व्यवस्था मिलाउन समेत निर्देशन दिए पनि त्यसको पालना भएको देखिएन।
पुष ५, २०८१ शुक्रबार १४:०८:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।