त्रिवि मैदानमा प्याराफिट र फ्लडलाइट जडानका लागि एक अर्ब ३४ करोडको टेन्डर
काठमाडौं : त्रिवि क्रिकेट मैदानमा प्याराफिट र फ्लडलाइट जडान गर्न बोलपत्र आह्वान भएको छ।
शहरी विकास मन्त्रालयले शुक्रबार सार्वजनिक सूचना निकालेर मैदानमा प्याराफिट र फ्लडलाइट जडान गर्न बोलपत्र आह्वान गरेको हो।
बोलपत्रमा प्याराफिट जडानका लागि १ करोड ६२ लाख र फ्लडलाइट जडानका लागि एक करोड ७४ लाख रुपैयाँ धरौटी रकम राखिएको छ। कुल टेन्डर रकमको दुई देखि तीन प्रतिशत रकम धराैटी राखिने कानूनी प्रावधान छ।
धरौटी रकमको आधारमा हेर्दा प्याराफिट जडानका लागि करिब ६४ करोड ८० लाख रुपैयाँ र फ्लडलाइटका लागि करिब ६९ करोड २० लाख रुपैयाँको ठेक्का आह्वान भएको देखिन्छ।
यसरी हेर्दा दुवै कामका लागि मन्त्रालयले एक अर्ब ३४ करोड रुपैयाँको बोलपत्र आह्वान भएको हो।
यो बोलपत्र प्रस्ताव गरिसक्नुपर्ने अन्तिम मिति माघ ६ गतेलाई तोक्दा सोही दिन एक घण्टापछि बोलपत्र खोलिनेछ।
टेन्डर लागेसँगै तीन सिफ्टमा काम सम्पन्न गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्। विश्वस्तरको रंगशालाको राम्रो डिजाइन गर्न र जग्गा प्राप्तिका लागि केही समय लागेकाले काममा ढिला हुन गएको ओलीको भनाइ छ।
उनले फेसबुकमा लेखेका छन्, ‘अब हामीले तीन सिफ्टमा फटाफट काम गरेर यसलाई निर्धारित समयमै सम्पन्न गर्नु पर्ने छ। यसलाई विश्वस्तरको बनाउने प्लान भने त्यसपछि पनि जारी रहने छ। काम छिटो सक्न र आवश्यक सुझाव तथा खबरदारी गर्न सबैलाई अनुरोध गर्छु।’
पुष ५, २०८१ शुक्रबार ११:५६:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।