गल्ती स्वीकार्दै रुसी राष्ट्रपतिले भने- ‘युक्रेनमा पहिले नै पूर्ण क्षमताका साथ हमला गर्नुपर्थ्यो’

गल्ती स्वीकार्दै रुसी राष्ट्रपतिले भने- ‘युक्रेनमा पहिले नै पूर्ण क्षमताका साथ हमला गर्नुपर्थ्यो’

एजेन्सी : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले पूर्ण क्षमताका साथ युक्रेनमाथि आक्रमण नगरेर गल्ती गरेको स्वीकार गरेका छन्।

बिहीबार आफ्नो वार्षिक पत्रकार सम्मेलनमा पुटिनले युद्धका लागि राम्रोसँग तयार हुनुपर्नेमा रुसले सन् २०२२ मा युक्रेनमाथि आक्रमण गर्ने योजनाबद्ध नभएको समेत बताए।

उनले भने, ‘युक्रेनमा पहिले नै पूर्ण क्षमताका साथ हमला गर्नुपर्थ्यो। रुसले युद्धका लागि राम्रोसँग तयार भएर सन् २०२२ मा युक्रेनमाथि आक्रमण गर्ने योजनाबद्ध तयारी गर्नुपर्थ्यो।’

चार घण्टाभन्दा बढी समय चलेको पत्रकार सम्मेलनमा पुटिनले बसर अल–असद, रुसको आणविक कार्यक्रम, रुसमा बढ्दो मुद्रास्फीति र डोनाल्ड ट्रम्पसँग सम्बन्धित प्रश्नको जवाफ दिए।

सिरिया र त्यहाँ निवर्तमान राष्ट्रपति बसर अल असदबारे सोधिएको प्रश्नमा उनले त्यहाँको अवस्था जटिल रहेको बताए। तर, सिरियाको घटना रुसको हार भने नभएको उनको भनाइ छ।

रुसले सिरियाका पूर्व राष्ट्रपति बसर अल असदलाई समर्थन गरेको थियो। रुसी राष्ट्रपतिले पनि बशर अल असदलाई भेट्न नसकेको तर छिट्टै भेट्ने योजना रहेको बताए।

यसबाहेक भ्लादिमिर पुटिनले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि सोधिएको प्रश्नको जवाफ दिँदै चार वर्षदेखि भेट नभएको र उनले चाहेमा भेट्न तयार रहेको बताए।

पुष ५, २०८१ शुक्रबार १०:१४:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।