उकेरा टप फाइभ : बालेनको राजमा बदमासीदेखि मोदनाथ मरहट्टको हिजोका कुरासम्म

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले इन्डोस्कोपी गरेका छन्। बिहीबार बिहान साढे नौ बजे त्रिवि शिक्षण अस्पतालमा ओलीको इन्डोस्कोपी गरेका हुन्। प्रधानमन्त्री ओलीकी निजी चिकित्सक डा. दिव्यासिंह शाहका अनुसार प्रधानमन्त्री ओलीको नियमित स्वास्थ्य जाँचको क्रममा इन्डोस्कोपी गरिएको हो। तर, इन्डोस्कोपी परीक्षणमा कुनै समस्या देखिएको छैन।
नेपाल प्रिमियर लिग एनपिएलमा आज भएको खेलमा जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई पराजित गरेको छ। बिहीबार भएको क्वालिफायर-२ मा जनकपुरले कर्णालीलाई दुई विकेटले पराजित गर्दै फाइनल पुगेको हो। उपाधिका लागि जनकपुरले र सुदूरपश्चिम रोएल्सबीचको फाइनल शनिबार हुनेछ।
एसीसी यु१९ महिला एसिया कपको सुपर फोरमा नेपाल र श्रीलंकाबीचको खेल रद्द भएको छ। नेपालकी कप्तान पूजा महतोले टस जितेर पहिलो ओभर बलिङ गरेपछि वर्षा भएसँगै खेल रद्द भएको हो। योसँगै दुवै टोलीले एक-एक अंक बाँडे। नेपालले अब भोलि बंगलादेशसँग आफ्नो अन्तिम खेल खेल्नेछ। उक्त खेलमा बंगलादेशलाई पराजित गरे नेपालले फाइनल खेल्नेछ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको हिरासतमा सुतिरहेको तस्बिर सार्वजनिक गर्ने व्यक्तिले माफी मागेका छन्। गत आम निर्वाचनमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट हाम्रो नेपाल पार्टीको तर्फबाट उम्मेदवारी दिएका निकोलस भुसालले रविको तस्बिर सार्वजनिक गरेको खुलासा भएको हो।
अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले छिमेकी राष्ट्र क्यानडालाई अमेरिकामै गाभ्ने संकेत गरेका छन्। क्यानडामा कर लगाउने कुरा पहिले नै गरिसकेका ट्रम्पले यसपटक क्यानाडाका अधिकांश नागरिकहरू अमेरिकाको ५१औं राज्य बन्न चाहेको बताए।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार सिरियाका पूर्व नेता बशर अल-असदको पतन रूसका लागि ‘पराजय’ नभएको भन्दै मस्कोले त्यस देशमा आफ्नो लक्ष्य हासिल गरेको दाबी गरेका छन्। दमन र व्यापक मानव अधिकार उल्लङ्घन तथा गृहयुद्धका आरोपहरूले चिनिएको असद परिवारको आधा शताब्दी लामो शासनको अन्त्य गर्दै विद्रोहीहरूको आकस्मिक अग्रगति गरेपछि असद यस महिनाको सुरूमा मस्को भागेका थिए। उनले मस्कोमा असदसँग भेट्न बाँकी रहेको तर चाँडै भेट्ने योजना बनाएको बताए।
अब आज उकेरामा प्रकाशित टप पाँच समाचार
‘सडक सौन्दर्य’ को नाममा काठमाडौँ महानगरपालिका र १० वटा वडाले एक करोड ९८ लाख दुरुपयोग गरेका छन्। उकेराले प्राप्त गरेको विवरणमा ‘सडक सौन्दर्य’ को आवरणमा प्रतिस्पर्धाबाट बत्ती राख्ने प्रक्रिया छल्न १० लाख मुनीमा कोटेसनमा जिम्मा दिइयो। करिब दुई करोड खर्च गरेपछि अहिले आएर त्यस्ता बत्ति नै काम नभएको निष्कर्ष निकाल्यो महानगरले। करिब दुई करोड खर्च गरेर पुलदेखि पोलसम्ममा झिल्के बत्ती राखेको महानगरले अहिले भने त्यसले दृश्य प्रदूषण बढाएको भन्दै रोक लगायो।
पूरा समाचार: बालेनको राजमा बदमासी : लहरे बत्तीको नाममा एक करोड ९८ लाख दुरुपयोग
साहित्यकार तथा पूर्वशिक्षक मोदनाथ मरहट्टाका ‘पहिलो पाइला शिखरतिर उकासिँदै गर्दा’,‘उज्यालो जन्मनुअघि’ कविता, ‘लेख्ने विषयको खोजी’ खण्डकाव्य, ‘जेल डायरी’निवन्ध संग्रह, ‘चित्र र चरित्र’ लगायत आधा दर्जन भन्दा बढि कृति प्रकाशित भइसकेका छन्। उनले राजा महेन्द्रको शासन व्यवस्थादेखि पञ्चायत, बहुदलीय प्रजातन्त्र हुँदै गणतन्त्रसम्मको अनुभव बटुलेका छन्। पञ्चायत व्यवस्थामा गाउँका प्रधानपञ्चको हेपाई असह्य थियो। जुन न भनिसाध्य छ न त सुनिसाध्य नै। उनले त्यो समयमा देखेका भोगेका कुराहरू कुराहरुलाई उकेराको हिजोको कुरा कोलममा यसरी सुनाए।
पूरा समाचार: मोदनाथ मरहट्टको हिजोको कुरा : प्रधानपञ्चको ज्यादती न भनिसाध्य न त सुनिसाध्य नै
सयौं सिनेमा घरहरू कोभिडकै कारण बन्द भए। चलचित्र महासंघका अध्यक्ष नरेन्द्र महर्जनका अनुसार पहिलेको तथ्यांक अनुसार ४ सय ५० हलहरू सञ्चालनमा रहेको र अहिले आएर १६० देखि १६५ वटा मात्र हलहरू सञ्चालनमा छन्। २८० वटा हलहरू बन्द अवस्थामा रहेको उनले जानकारी गराए। केही हल माओवादी सशस्त्र युद्धको समय बन्द भएका हुन् भने केही कोरोना महामारीको चपेटामा परेर बन्द भए।
पूरा समाचार: दरबार हत्याकाण्डदेखि कोभिडसम्म : देशभर २८० बढी सिनेमा हल बन्द, सुदूरपश्चिम र कर्णालीमा १/१ वटा मात्रै
भारतीय संसद् भवन परिसरमा सत्तारूढ र विपक्षी र गठबन्धनबीच झडप हुँदा भारतीय जनता पार्टी (भाजपा)का सांसद प्रतापचन्द्र सारङ्गी र मुकेश राजपुतलाई चोट लागेको भाजपाले जनाएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सांसद सारङ्गी र राजपुतलाई फोन गरी उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिए। भारतीय राष्ट्रिय काङ्ग्रेसका नेता राहुल गान्धीले भाजपा सांसदहरूले आफूलाई संसद्मा प्रवेश गर्नबाट रोकेको र धकेलेको आरोप लगाए।
पूरा समाचार: भारतमा सत्ता र प्रतिपक्ष सांसदबीच झडप, भाजपा सांसदले आफूलाई संसद् पस्न नदिएर धकेलेको राहुल गान्धीको आरोप
निकोलस भुसालले कास्की प्रहरीको हिरासतमा सुतिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको तस्बिर आफूले प्रहरीकै सिसिटीभीमा खिचेको बताएका छन्। तस्बिर सार्वजनिक गरेर आफूले गल्ती गरेको स्वीकार गर्दै भुसालले कसैलाई दोष लगाउने वा खराब नियत नराखेको बताए। गत शनिबार आफू रविको स्वास्थ्य अवस्था बुझ्न जाँदा उनी सुतिरहेको प्रहरीकै सिसिटिभीमा देखेपछि आफूले फोटो खिचेको भुसालको दाबी छ।
पूरा समाचार: प्रहरीकै अगाडि रविको फोटो सिसिटीभीमा खिचेको निकोलसको दाबी, कास्की प्रहरी कारबाहीको तयारीमा
पुष ४, २०८१ बिहीबार २२:०४:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।