मोदनाथ मरहट्टाको हिजोका कुरा : प्रधानपञ्चको ज्यादती न भनिसाध्य न त सुनिसाध्य नै

मोदनाथ मरहट्टाको हिजोका कुरा : प्रधानपञ्चको ज्यादती न भनिसाध्य न त सुनिसाध्य नै

साहित्यकार तथा पूर्वशिक्षक मोदनाथ मरहट्टा उमेरले ६९ वर्षका भए। उनी अहिले पनि हिँडडुल तथा साहित्य लेखन कार्यमा सक्रिय छन्। उनका ‘पहिलो पाइला शिखरतिर उकासिँदै गर्दा’,‘उज्यालो जन्मनुअघि’ कविता, ‘लेख्ने विषयको खोजी’ खण्डकाव्य, ‘जेल डायरी’निवन्ध संग्रह, ‘चित्र र चरित्र’ लगायत आधा दर्जन भन्दा बढि कृति प्रकाशित भइसकेका छन्। 
 
उनले राजा महेन्द्रको शासन व्यवस्थादेखि पञ्चायत, बहुदलीय प्रजातन्त्र हुँदै गणतन्त्रसम्मको अनुभव बटुलेका छन्। गाउँमा वि.स. २०१९ सालमा स्कुल खुल्दा पहिलो पटक उनी भर्ना भएका थिए। स्कुल जाँदा कुनै ड्रेसको लागि अनिवार्य थिएन। उनी स्कुल पढ्दा छोरी मान्छेहरूलाई पढाउनु हुँदैन भन्ने परम्परा थियो। 

पञ्चायत व्यवस्थामा गाउँका प्रधानपञ्चको हेपाई असह्य थियो। जुन न भनिसाध्य छ न त सुनिसाध्य नै। उनले त्यो समयमा देखेका भोगेका कुराहरू कुराहरुलाई उकेराको हिजोका कुराकोलममा यसरी सुनाए :

000

स्कुलको ड्रेस कहिले दौरा र लगौटी, कहिले गन्जी र कट्टु
मेरो जन्म २०१२ सालमा गोर्खा जिल्लाको सिरानचोक गाउँपालिकामा भएको हो। त्यतिबेला पश्चिम २ नम्बर गोरखा चिउरीबोट भन्थे। म जन्मिनुअघि हाम्रो गाउँमा स्कुल खुलेकै थिएनन्। १५ सालपछि बल्ल गाउँमा छिटपुट स्कुल खुल्न थाले। म पाँच वर्षको हुँदा चिथ्रे पोखरी भन्ने ठाउँमा पूर्व सैनिकहरूले सामान्य लेखपढ गर्न जान्ने एक जना बालाई पढाउने जिम्मा दिए। ती बाले त्यही चौतारोमा गाउँलेहरूलाई पढाउन थाले। मलाई त्यहाँ पुग्न घरबाट एक घण्टा उकालो हिँड्नुपर्थ्यो। 

हामी तीन भाइमा म माइलो हो। त्यो पढ्न जाने चौतारोमा पुग्न २ वटा बाटो थियो। एउटा छोटो बाटो जंगलको थियो भने अर्को लामो बाटो गाउँको। हामी गाउँको बाटो लामै भएपनि हिँड्दै जान्थ्यौँ। त्यही चौतारोमा पसेर मैले क/ख/ग सिकेको हो। त्यो भन्दा नै अगाडि मेरा बाले पनि कहिलेकाहीं मुखैले कख भन्दिनु हुन्थ्यो तर, अक्षरको घेरा बनाउने काम त्यो चौतारोमा सिकियो।

एकदिन, तिनै मलाई पढाउने गुरू बाले अग्नीथापनाको होम विधि पाठ घोकेर आइज भन्नुभएको थियो। उहाँले थोरै मात्र घोकेर आइज भन्नु भएको भएपनि मैले पुरै घोकेर गएँ। अनि भोलिपल्ट त्यो पाठ पढेर सुनाएँ। उहाँ तमाखु खाँदै हुनुहुन्थ्यो। मैले सुनाएपछि 'गुरू मलाई अरू पनि आउँछ' भनें। गुरूले तमाखु खाइरहेको फलामको नलीले स्वाँटका स्वाँट कुट्नुभयो, तँलाई बढि जान्ने हुन्छस् भनेर। 'तँलाई यति पाठ पो घोकेर आइज भनेको थिएँ, सबै पाठ कसले घोकेर आइस्?' भन्दै पिट्नुभयो। उहाँको पिटाइले मेरो पिठ्युँ भरि सुम्लै-सुम्ला उठ्यो। यो देखेपछि हजुरआमाले त्यहाँ जानै दिनु भएन। 

१९ सालमा हाम्रो घर नजिकै विद्यालय खुल्यो। त्यो स्कुलको संस्थापक विद्यार्थीका रुपमा हामी ९ जना थियौँ। त्यो बेलामा अहिलेको जस्तो डेस्क-बेच्न थिएन। आमाले बुन्नुभएको मकैको खोसेलाको चटकी लिएर जान्थ्यौं। स्कुलमा पछि-पछि २६ जना जति विद्यार्थी भयौँ। विद्यार्थीहरुमाझ आउने जाने क्रम चलि रह्यो। त्यो बेला ८/९ वर्षको उमेरमै बिहे गर्ने चलन थियो। मेरा साथीहरूले १/२ कक्षामा हुँदै बिहे गरे। म भने पढ्दै गएँ। अनि २८ सालमा यही स्कुलबाट ८ कक्षा पास गरें। 

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई पढेको स्कुल भनेर बढि चर्चामा रहेको अमर ज्योती जनता माविबाट एसएलसी दिएँ। त्यसपछि हामी गरिबका छोरा कहिले कता, कहिले कता गर्दा गर्दै भौतारिएर मास्टर हुन पुगियो।

त्यो बेला स्कुल जाँदा कुनै ड्रेस थिएन। जस्तो लगाएर गए पनि हुन्थ्यो। दौरा र भित्र लगौटी भन्ने हुन्थ्यो। त्यही लगाएर जान्थ्यौँ। अहिलेको जस्तो कट्टु लगाउने चलन थिएन। बाहुनहरूले ब्रतबन्ध गरेपछि कछाड बाँध्नुपर्ने हुन्थ्यो। पछि युनाइटेड मिसन टु नेपाल भन्ने संस्थाले स्कुलको ड्रेस भनेर सेतो गन्जी र नीलो कट्टु दिएको थियो। यो सधैं लगाउनुपर्छ भन्ने थिएन। स्कुलको विशेष दिन मात्रै लगाउँदा हुन्थ्यो।

स्कुल पढ्दाको सुरुवातमा छोरी मान्छेहरू थिएनन्। पछि तिनै मलाई संस्कृत पढाउने गुरुका छोरी र नातिनी चाहिँ स्कुल पढ्न आएका थिए। उनीहरू तीन कक्षामा पढ्न आएका थिए तर, ४ कक्षामा पुग्दै बिहे भइहाल्यो। त्यसपछि त केटीबिहीन स्कुल भयो। त्यो अमर ज्योती स्कुलमा म जाँदा एसएलसी दिने २ जना केटीहरू मात्रै थिए। एक जना विवाहित र अर्की अविवाहित। 

बिहे गर्नेको त्यो परम्परा
छोरी मान्छेहरूको बिहे गर्ने परम्परा पनि अनौठो थियो। एउटा नीति श्लोक नै थियो। ८ वर्षमा बिहे गरेर दिँदा गौरी, ९ वर्षमा रोहिणी र १० वर्षमा बिहे गरेर छोरी ज्वाइँको घर पठायो भने कन्या हुन्छ भन्थे। त्यो १० वर्षभित्रमा बिहे गर्यो भने छोरी पवित्र हुन्छन् भन्ने चलन थियो। ११ वर्षमा बिहे भयो भने त्यो रजवती (रजस्वला) हुन्छे। यो समयमा कसैले बिहे गर्यो भने नरक पर्छन् भन्ने गरिन्थ्यो। यो मान्यताले छोरीहरूको सानैमा बिहे गर्दिने चलन थियो। केटीको मात्रै होइन, केटाहरूको पनि सानैमा बिहे हुन्थ्यो।

मेरा धेरै साथीहरूको २ कक्षा पुग्ने बित्तिकै बिहे गरिदिएका थिए। अर्को साथीले ७ कक्षामा पुगेपछि बिहे गरेका थिए। मैले चाहिँ अलिक ढिला बिहे गरें। मैले आफू २४ वर्षको हुँदामात्रै बिहे गरेको हो। यतिबेला म मास्टर भएर स्कुल पढाउन थालेको २ वर्ष भइसकेको थियो। 

मास्टर भएपछि केटी दिनेको लर्को 
त्यो समयमा पढेलेखेकाहरू कमै थिए। अहिलेको जस्तो जो पायो त्यसले एसएलसी पास गरेको हुँदैन थियो। धेरैले त सानै उमेरमा बिहे गरिहाल्थे। 

एसएलसी नदिँदै मलाई बिहेको लागि दबाब आइरहेको थियो। तर, केके कुराले पन्छाइरहेको थिएँ। २२ वर्ष पुगेपछि शिक्षण पेसामा लागें। 'मास्टर' भनेपछि त्यो बेला मलाई छोरी दिनेहरू कति थिए, कति। तर, मैले गरिँन। २४ वर्षको उमेर पुगेपछि मैले छानेर रोजेर अर्यालकी छोरी बिहे गरेको हो। 

त्यति बेला हुनेले बिहेमा धुमधामसँगले खर्च गर्थे। सुनचाँदीका गरगहना लगाएर झपक्क पारेर बेहुली अन्माउँथे। तर मेरो त्यस्तो भएन। मेरो त्यही ६ सय रूपैयाँमा बिहे उकासियो। गरिबको छोरो पैसा प्रशस्त भएको पो ठुलै गरौँ भन्ने हुन्थ्यो! थिएन, साधारण बिहे गरियो। 

राजनीतिक दलको प्रभावमा स्कुल सारेको सार्यै 
मैले ९ वटा स्कुलमा पढाउने अवसर पाएँ। सुरुमा बासुकी निमावि भन्ने विद्यालयमा पढाएँ। यो स्कुल पुग्न मेरो घरबाट डेढ दिन लाग्थ्यो। यहाँ पढाउँदा-पढाउँदै फेरि सरुवा भएर बाबुराम भट्टराईको घर नजिकै भएको स्कुलमा पुगें। यहाँ मैले तीन वर्ष पढाएँ। अनि फेरि घर छेउको स्कुलमा आएँ। 

राजनीतिक हिसाबले पनि होला, त्यसताकाका पञ्चहरूसँग मेरो धकेलाधकेल हुन थाल्यो। कहिले कांग्रेस त कहिले पञ्चहरूसँग मेरो दोहोरी चल्यो। उनीहरुले मलाई सरुवा गरेको गर्यै गराए। फेरिपनि मैले पढाउन छाडिँन। अवकाश पाउने बेलामा मात्र पढाउन छाडें, ६८ सालबाट। त्यो बेला पनि अनिवार्य अवकाशको लागि उमेर अझै थियो। अरू कामहरू पनि गरिन्छ कि भन्ने हिसाबले छाडियो। तर, त्यस्तो केही भएन। त्यसपछि साहित्यतर्फका पुस्तकहरू लेखनमै व्यस्त भएँ। 

पहिलो पटक गाडी देख्दा भागेको रोमाञ्चक अनुभूति 
मैले पहिलो पटक तनहुँको आबुखैरेनीमामा गाडी देखेको हो। २४ सालमा गाडी चढ्ने अवसर पाएको थिएँ। मेरो बुबाले मलाई घरबाट नारायणगढमा नुन-तेल लिन हिँड भन्नुभएको थियो। अहिलेको जुगेडी बजारसम्म जिप जाँदो रहेछ त्यतिबेला। बाटोमा हिँड्दै गर्दा उताबाट जिप आएको देखें। मलाई बेस्सरी डर लाग्यो। अनि बाटो छाडेर पाखातिर लागें। यति धेरै डर लाग्यो नि, भन्दा मान्छेहरू हाँस्छन् होला। बुबासँगै हुँदा पनि निकै पर भित्तामै पुगें।

पछि नारायणगढबाट टाँडी बजार जाँदाखेरि बुबाले मलाई गाडीमा जानुपर्छ भन्नुभयो। नुन-तेलको डोको जुगेली बजारमा राखेर आफन्तको घरहुँदै फर्कउँला भन्नुभयो। मैले पनि हुन्छ भनें। जुगेली बजारदेखि नारायणगढसम्म हिँडेरै आइयो। यहाँ आएपछि टाँडी बजार चाहिँ गाडीमा आइयो। गाडीमा चढेपछि म त डरले बीचमै थचक्क बसें। मलाई बसको नाम अहिले पनि याद छ- नेपाल पब्लिक मोटर सर्भिस। 

बसभित्र घोप्टिएर बसिरहेको थिएँ। मैले 'बा खोइ त बस चलेको?' भनेर सोधें। बाले 'उठेर हेर त। रुख दौडिएका छन्' भन्नुभयो। यसो उठेर हेरेको त, हो रैछ। हेर्दा हेर्दै टाँडी बजार आइहाल्यो। आफन्तकोमा भेटघाट गरेर फर्कँदा हिँडेरै आइयो नारायणगढ। यो मेरो पहिलो बस यात्रा थियो। 

त्यसपछि ३० सालमा मात्रै खैरेनीबाट काठमाडौंसम्म बस चढेर आएको छु। गाडी कहिल्यै नदेखेको मान्छेलाई बडो अचम्म हुँदो लाग्दो रहेछ। रुख दौडिएको नै होला भन्ठान्थेँ। तर, होइन रहेछ।

साहित्य मोहको जरो 
कक्षा २ मा पढ्दाको कुरा हो, गुरुले प्रत्येक शुक्रबार कविता लेख्न लगाउनु हुन्थ्यो। त्यो बेला दशैं-तिहारजस्ता पर्वका बारेमा कविता लेख्न लगाइन्थ्यो। अनि मैले त्यतिबेला नै झ्याउरे छन्दमा कविता लेखेर गुरुलाई सुनाउँथेँ। 

एकदिन यस्तै भयो। बा दिनभरि काम गरेर घरमा आउनुभएको थियो, उहाँलाई पानीले बेस्सरी कुटेको थियो। अनि स्कुलका गुरुले कविता लेखेर लिएर आइज भनेर भनेपछि मैले बालाई हेरेर ‘किसानको दुःख’शिर्षकमा कविता लेखें। लक्ष्मी प्रसाद देवकोटाको मुनामदनबाट अलिकति प्रभाव परेको हुनाले यो झ्याउरे छन्दमा लेखेको थिएँ। भोलि पल्ट स्कुलमा कविता सुनाउने दिन थियो। ४ जनाले कविता लेखेका थिए। 

कक्षाको सानो देखेर होला, गुरुले सबैभन्दा पहिला 'लु आएर कविता सुना मोदे' भन्नु भयो। मैले कविता सुनाएँ। अनि कविता सुनाएको एकछिन पछि गुरुले एउटा कापि दिनुभयो, तँ पहिलो भइस् भनेर। त्यही दिनबाट ममा कविता लेखनमा क्षमता रैछ भन्ने लाग्यो अनि त्यतिबेलादेखि मैले कविता तथा साहित्यमा कलम चलाएको हो। जुन आजका दिनसम्म पनि उत्तिकै सक्रिय छु।  

मैले पहिलो पटक ‘पहिलो पाइला शिखरतिर उकासिँदै गर्दा’ पुस्तक प्रकाशित गरेको थिएँ। त्यसपछि क्रमश: ‘उज्यालो जन्मनुअघि’ कविता,‘लेख्ने विषयको खोजी’ निबन्ध संग्रह,‘जेल डायरी’पछिल्लो समय चाहिँ मेरो ‘चित्र र चरित्र’ भन्ने पुस्तक प्रकाशित भएका छन्।  

प्रधानपञ्चको त्यो ज्यादती
म पञ्चायत लागु भएपछिको मेरो गाउँका प्रधानपञ्चदेखि अन्तिम प्रधानपञ्चसम्मलाई चिन्छु। अन्तिम प्रधानपञ्चसँग त पौठेजोरी नै खेलिन्थ्यो। पहिलो प्रधानपञ्च दुर्गादत्त ढकाल हुन्। उनी १७ साल भन्दाअघि गाउँका जमिन्दार थिए। पछि पञ्चायतको चुनावमा उनी प्रधानपञ्चमा चुनिए। उनी जमिनदार अनि कांग्रेस समर्थक पनि थिए। पञ्चायती व्यवस्था आएपछि उनी यसैमा लागे। उनी प्रधानपञ्च भइसकेपछि गाउँको जिम्मलको भन्दा पनि ठूला हुने भइहाले। एक त व्यवस्थाका विरुद्ध नै केही बोल्न नपाउने। अर्को, व्यक्तिका विरुद्ध पनि बोल्न नपाइने भयो। 

हामी भन्दा अघिल्ला दाजु दिदीहरू पढेलेखेर गाउँ पुगेपछि वडाध्यक्षहरूसँग विभिन्न कुरामा पौठेजोरी खेल्थेँ। हामी त्यो समयमा 'गाउँ फर्क अभियान'को विरोधी थियौँ। किनभने यो पञ्चायत भन्दा पनि खराब छ भन्ने लाग्थ्यो। 

त्यो समयमा हैकम चलाउने पञ्चहरूले हाम्रो गाउँमा एक जना मेहनती किसानको खेत लुटे। ती किसानको राम्रो खेत र बारी थियो। प्रधानपञ्चका दाजुभाइ जिल्ला पञ्चायतका सदस्य पनि थिए। त्यही भएर उनीहरूले ती किसानको जग्गामा र्याल काड्न थाले र उसलाई किर्ते चोरी मुद्दा लगाएर, एउटा कोरो (धामी झाँक्री जस्तै हो, कामेको अभिनय गरेर जसकामा मन लाग्छ, उसैको जमिनमा लगेर गाडिदिन्छ।) भन्ने झाँक्री जस्तो लगाएर गाउँ निकाला नै गरे। 

म त्यो बेला ७ वर्षको थिएँ होला। मेलापातमा फलानाले ज्यादती गर्यो भन्ने कुरा गर्थे। तर, उनीहरुका विरुद्धमा कसैले पनि बाहिर आवाज उठाउँदैन थिए। 

प्रधानपञ्चले नै प्रत्यक्ष दिएको यातना चाहिँ एकजना सार्की दाइलाई थियो। ती दाइ हाम्रो घरमा हलीका रुपमा काम गर्नुहुन्थ्यो। अनि एक दिन हाम्रो गाउँमा कसैको पैसा हरायो। पैसा हरायो भनेर निकै हल्लाखल्ला भयो। अनि ती हाम्रा घरमा हली बसेका लुरे सार्कीलाई समातेर गए। ती लुरे सार्कीलाई चौतारोमा हात पछाडि बाँधेर उत्तानो पारेर लडाए। उनलाई दिनभरि चौतारोमा लडाउँदा पनि उनी गलेनन्। उनी नगलेपछि भोलिपल्ट हातको औँलाको बीचमा बाँसको लाठी च्यापेर घुमाइदिन थाले। त्यो हेर्नेमा म पनि छु। उनको हातबाट छरछरी रगत आयो। तर पनि उनी गलेनन्। उनले चोरेको भए पो गल्नु!
 
उनले कबुल नगरेपछि बेस्सरी कुटे। अनि उनकी आमालाई माया लागेपछि 'यसले कति तिर्नुपर्नेछ, म यो गहना बेचेर तिर्छु, यसलाई नमार्नुहोस्' भनेपछि गहना दिइन्। त्यसपछि उसलाई छाडिएको थियो। प्रधानपञ्चहरूले अरू ठाउँमा के थियो थाहा भएन, हाम्रोमा अचाक्ली ज्यादती गरेका थिए। 

केही सुधारवादी पनि थिए। वडा सदस्यले मलाई पहिलो बिफरको सुई लगाइदिएका छन्। वडा सदस्यले सबै गाउँलेहरू बोलाएर बिफरको सुई लगाइदिए। त्यतिबेला बिफरको फैलिएको थियो। 

पुष ४, २०८१ बिहीबार २१:३४:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।