खाडी गएका सबै महिलामाथि दुर्व्यवहार हुन्छ भन्ने छैन : श्रममन्त्री भण्डारी

खाडी गएका सबै महिलामाथि दुर्व्यवहार हुन्छ भन्ने छैन : श्रममन्त्री भण्डारी

काठमाडौं : श्रम तथा सामाजिक सुरक्षामन्त्री शरदसिहं भण्डारीले घरेलु कामदार रुपमा खाडी गएका सबै महिलाहरूसँग दुर्व्यवहार हुन्छ भन्ने गलत भाष्य निर्माण भएको बताएका छन्। 

बिहीबार काठमाडौंमा आयोजित श्रमिकहरूको सुनुवाइ कार्यक्रममा बोल्दै उनले घरेलु कामदारका रुपमा काम गर्ने धेरैको राम्रो अवस्था रहेको भएतापनि खाडीमा सबै महिलाहरूसँग दुर्व्यवहार हुन्छ भन्ने गलत भाष्य निर्माण हुनु उचित नरहेको बताए। 

उनले भने, ‘घरेलु कामदारको विषयमा जुन भाष्य परिभाषित गरिएको छ। जे कुरामा पनि सकारात्मक र नकारात्मक दुबै कुरा हुन्छन्। तर नकारात्मक कुरालाई मात्र किन अगाडि ल्याउने? १०/२५ वर्ष नै घरेलु कामदारका रुपमा रहेकाहरूको अवस्था राम्रो पनि छ नि। धेरै सङ्ख्यामा राम्रो नै भएको देखेको छु।’ 

उनले नेपालमै पनि महिलाहरूको अवस्था राम्रो नभएको भन्दै केही घटनालाई हेरेर भाष्य बनाउन नहुने बताए। 

‘काठमाडौंमा पनि केही ठाउँको केही घटनालाई हेरे खाडीमा सबै महिलाहरूसँग दुर्व्यवहार हुन्छ भन्ने खालको भाष्य कत्तिको उचित हुन्छ? फर्केर आएका महिलालाई पनि यसले बदमासी गर्यो होला भन्ने खालको भाष्य अनि कसरी समाज बन्छ,’ उनले सोधे। 

उनले वैदेशिक रोजगारमा जाने नेपालीहरूले सीप र ज्ञान सिकेर नजाँदा धेरै दुख पाइरहेको अवस्था रहेको पनि बताए। 

पुष ४, २०८१ बिहीबार १८:०७:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।