बाल विवाह विरोधी फिल्म ‘जुना’ माघ २५ मा रिलिज हुने
काठमाडौँ : बाल विवाहको विरुद्ध बनेको फिल्म‘जुना’ माघ २५ मा रिलिज हुने भएको छ। फिल्ममा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मि भट्ट, कमल बोहरा, अस्मिता बस्नेत, खगेन्द्र न्यौपाने, विकास आनन्द, इन्द्र बिके र केशव अधिकारीको अभिनय रहेको छ।
गोदावरी फिल्म प्रोडक्सन एन्ड रिसर्च सेन्टर प्रालिको ब्यानरमा निर्माण भएको सिनेमामा जीवन सेन्चुरीले निर्देशन गरेका हुन्।
फिल्ममा नेपाली समाजमा रहेको महिला हिंसा, बाल विवाह, अनमेल विवाह, बहुविवाह, बलात्कार, जबरजस्ती करणी, छाउपडी जस्ता कुप्रथालाई अन्त्य गर्नुपर्ने सन्देश समेटिएको निर्देशक सेन्चुरीले बताए।
पर्वतको सालिजा ओख्रेनीमा छायाङ्कन गरिएको फिल्ममा दीपकप्रसाद घिमिरेले लगानी गरेका हुन्। फिल्ममा राजबहादुर सानेको कथा, बीबी अनुरागी र रमेश सेन्चुरीको सङ्गीत, जीवन सेन्चुरी र भीमबहादुर पौडेलको शब्द, अन्जु पन्त, पूर्णकला बिसी र यदुराई लकान्द्रीको स्वर र रामेश्वर हुमागाईँको डिओपी रहेको छ।
सिनेमाको वितरण एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले गर्नेछन्।
पुष ४, २०८१ बिहीबार १९:२०:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।