प्रहरीकै अगाडि रविको फोटो सिसिटीभीमा खिचेको निकोलसको दाबी, कास्की प्रहरी कारबाहीको तयारीमा

प्रहरीकै अगाडि रविको फोटो सिसिटीभीमा खिचेको निकोलसको दाबी, कास्की प्रहरी कारबाहीको तयारीमा

काठमाडौं : निकोलस भुसालले कास्की प्रहरीको हिरासतमा सुतिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको तस्बिर आफूले प्रहरीकै सिसिटीभीमा खिचेको बताएका छन्।

तस्बिर सार्वजनिक गरेर आफूले गल्ती गरेको स्वीकार गर्दै भुसालले कसैलाई दोष लगाउने वा खराब नियत नराखेको बताए। गत शनिबार आफू रविको स्वास्थ्य अवस्था बुझ्न जाँदा उनी सुतिरहेको प्रहरीकै सिसिटिभीमा देखेपछि आफूले फोटो खिचेको भुसालको दाबी छ।

‘मैले प्रहरीकै अगाडि रवि लामिछाने सुतिरहेको फोटो सिसिटिभीमा खिचेको हुँ। त्यतिबेला प्रहरीले केही भनेन,’ उनले भने। 

हिरासतमा रहेका व्यक्तिलाई भेट्न जाँदा मोबाइल लगायतका सबै सामग्री बाहिरै राखेर मात्र प्रहरीले पठाउने गर्छ। कास्की प्रहरीले कार्यालयमा आउने सेवाग्राहीलाई मोबाइलसमेत भित्र लैजान दिएको छैन। रविलाई कास्की प्रहरीले नियमित हिरासत कक्षमा नराखी अलग्गै कोठामा राखेको छ। 

रवि पक्राउ परेदेखि कास्की प्रहरी प्रमुख श्यामबाबु ओलिया, डिएसपी बसन्त शर्मा लगायतले कार्यालयमा अरू प्रयोजनमा जाने सेवाग्राहीलाई पनि मोबाइल लैजान प्रहरीले रोक लगाएका छन्।

भुसालले भने प्रहरी गेटभित्र सिसिटीभी देखेको र त्यसमा रवि लामिछाने सुतेको देखिएपछि फोटो खिचेको बताएका छन्।

कास्की प्रहरीका डिएसपी बसन्त शर्माले यस विषयमा अनुसन्धान भइरहेको र फोटो खिच्ने व्यक्ति खोजिरहेको जानकारी दिए। तस्बिर खिच्ने व्यक्तिलाई कारबाही गरिने उनको भनाई छ।

उता, गृहमन्त्री रमेश लेखकले प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई रविको त्यस तस्बिरको विषयमा छानबिन गरी दोषीलाई तत्काल कारबाहीमा ल्याउन निर्देशन दिएका छन्। 

गृहमन्त्री लेखकको निजी सचिवालयका अनुसार आईजीपी कुँवरलाई त्यसबारे छानबिन गरी दोषी जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउन निर्देशन दिए। 

पुष ४, २०८१ बिहीबार १५:२७:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।