भ्रष्टाचार मुद्दामा मलेसियाका पूर्व प्रधानमन्त्री नजिब जेलमा, पत्नीलाई एक दर्जन बढी आरोपमा सफाइ
एजेन्सी : मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाककी श्रीमतीविरुद्ध दायर गरिएको एक दर्जनभन्दा बढी सम्पत्ति शुद्धीकरण तथा कर छलीको अभियोगलाई मलेसियाको एक अदालतले बिहीबार खारेज गरिदिएको छ।
७३ वर्षीया रोसमाह मन्सोरमाथि सन् २०१३ को डिसेम्बर ४ देखि सन् २०१७ को जुन ८ को बीचमा ७१ लाख रिंगिट (झण्डै १६ लाख अमेरिकी डलर) सहित सम्पत्ति शुद्धीकरणसम्बन्धी एक दर्जनभन्दा बढी आरोप लगाइएको थियो।
उच्च अदालतका न्यायाधीश के मुनिआन्डीले सबै १७ वटा आरोपमा ‘सत्यता, औचित्यता र वैधानिकताको अभाव’ भएको भन्दै खारेज गर्दै सफाइको आदेश दिएको एएफपीलाई प्राप्त भएको निर्णयको प्रतिलिपिमा उल्लेख छ।
महान्यायाधिवक्ताको कार्यालयले उक्त निर्णयविरुद्ध अपिल गर्ने बताएको मलेसियाली सञ्चारमाध्यमले जनाएका छन्।
सन् २०२२ को सेप्टेम्बरमा भ्रष्टाचारको अभियोगमा रोसमाहलाई १० वर्षको जेल सजाय सुनाइएको थियो तर उनले उक्त सजायविरुद्ध अपिल गरी जमानतमा छुटेकी थिइन्।
उनीविरूद्ध आफ्नो पतिको शासनकालमा बोर्नियो टापुको मलेशियाली भागमा ग्रामीण विद्यालयहरूको लागि सौर्य ऊर्जा परियोजना सुरक्षित गर्न सहयोग पुर्याएको भन्दै एक कम्पनीसँग घूस लिएको आरोप लगाइएको थियो।
रोस्माहको महङ्गा ह्यान्डब्याग, लुगाफाटा र गहनाको विशाल सङ्ग्रहको लागि मलेसियालीहरूले लामो समयदेखि आलोचना गर्दै आएका छन्।
सन् २०१८ को चुनावमा पतिको पराजयपछि उनको घरमा प्रहरीले छापा मारेपछि उनका विलासिताका सङ्ग्रहबारे चर्चा भएको थियो।
उनलाई विलासी जीवनका लागि फिलिपिन्सकी पूर्व प्रथम महिला इमेल्डा मार्कोससँग तुलना गरिएको थियो र सत्ताच्युत गरिएका पूर्व प्रधानमन्त्रीको सत्ताले आर्थिक रूपमा सङ्घर्षरत र मध्यमवर्गीय मलेसियालीहरूसँग सम्पर्क गुमाएको आरोप लगाइएको थियो।
नजिब सार्वभौम सम्पत्ति कोष वनएमडीबीमा भएको ठूलो आर्थिक घोटालासँग सम्बन्धित भ्रष्टाचारको आरोपमा छ वर्षको जेल सजाय काटिरहेका छन्। उनले नजरबन्दमा बाँकी सजाय भुक्तान गर्न अपिल दायर गरेको छ र जनवरी ६ का लागि सुनुवाइ तय गरिएको छ।
बन्द अवस्थामा रहेको सरकारी कम्पनीबाट अर्बौं डलर हिनामिना भएको भनिएको वनएमडीबी प्रकरणले उनीविरूद्ध संयुक्त राज्य अमेरिका, स्विट्जरल्याण्ड र सिङ्गापुरमा अनुसन्धान सुरू गरेको छ।
पुष ४, २०८१ बिहीबार १४:४३:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।