रविको हिरासतभित्रको तस्बिरबारे छानबिन गर्न प्रहरीलाई गृहमन्त्री लेखकको निर्देशन
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने कास्की प्रहरीको हिरासतमा सुतिरहेको तस्बिरबारे छानबिन गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिएका छन्।
हिरासतभित्रको तस्बिर सार्वजनिक भएसँगै बिहीबार गृहमन्त्री लेखकले प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई सो तस्बिरको विषयमा छानविन गरी दोषीलाई तत्काल कारबाहीमा ल्याउन निर्देशन दिएका हुन्।
गृहमन्त्री लेखकको निजी सचिवालयका अनुसार आईजीपी कुँवरलाई सो बारे छानबिन गरी दोषी जो सुकै भए पनि कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन्।
बुधबार साँझबाट राष्ट्रिय स्वतन्त्र पार्टीका नेता र कार्यकर्ताले सामाजिक सञ्जाल हिरासत कक्षभित्रको तस्बिर भन्दै राखिरहेका छन्।
सो तस्बिर आफूले खिचेको रास्वपाका समर्थक निकोलस भुसालले स्वीकारेका छन्। उनले हिरासतको तस्बिर सार्वजनिक गरेकोमा माफी समेत मागेका थिए।
हिरासतमा रहेका व्यक्तिलाई भेट्न जाँदा मोबाइल लगायतका सबै सामग्री बाहिरै राखेर मात्र प्रहरीले पठाउने गर्छ। भेट्न आउनेलाई हिरासत कक्ष बाहिर भेट्न दिन्छ।
रविलाई कास्की प्रहरीले नियमित हिरासत कक्षमा नराखी अलग्गै कोठामा राखेको छ। भेट्न आउनेलाई कोठामै पठाउने गरेको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाको भनाइबाट समेत पुष्टि हुन्छ।
उनले सामाजिक सञ्जालमा सोही तस्बिर राखेर सो तस्बिर सक्कली रहेको र आफू समेत त्यहीँ भेट्न गएको लेखेका छन्।
पुष ४, २०८१ बिहीबार १३:५०:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।