बोटभरी लटरम्म किबी फल्दा पनि म्याग्दीका किसान तनावमा
म्याग्दी : धौलागिरि गाउँपालिका-७ शिवाङको धौलागिरि कृषि तथा पशुपन्छी फार्मका सञ्चालक ओमराज मगर बगैँचामा लटरम्म किबी फलेको देखेर जति खुसी छन्, त्योभन्दा बढी दुःखी किबीले बजार नपाएर बनेका छन्।
‘सत्तरी बोटमा करिब तीन हजार किलोग्राम किबी फलेको छ’, उनले भने, ‘मंसिर महिनाभर करिब पाँच सय किलोग्राम मात्र किबी बिक्री भयो। पुस महिनामा नटिप्ने हो भने झरेरै सकिन्छ। बजार नपाएर तनावमा छु।’
गत वर्षको तुलनामा दोब्बर बढी किबी फले पनि बिक्री गर्न समस्या भएको मगरको गुनासो छ। बजार अभाव र मूल्य नपाउने मगरको मात्र नभएर किबीखेती गरेका म्याग्दीका कृषकको साझा समस्या हो।
धौलागिरिको शिवाङ, मराङ, मालिकाको दिच्याम, देवीस्थान, रुम, मङ्गलाको कुहँ, बरङ्जा, किमचौर, हिदी, बेनी नगरपालिकाको भकिम्ली, घतान, रघुुङ्गाको दरमिजा, पाखापानी, चिमखोला, बेगखोला, अन्नपूर्णको नागी, राम्चे, हिस्तानमा ५० भन्दा बढी किबी बगैँचा रहेका कृषि ज्ञान केन्द्रले जनाएको छ।
सानो बजार र उत्पादन धेरै भएपछि किबी बिक्री गर्न समस्या भएको बेनी नगरपालिका-३ भकिम्लीका कृषक लालबहादुर पुनले बताए।
‘यहाँका उपभोक्ताहरूको किबीमा अझै बानी परिसकेको छैन,’ उनले भने, ‘पोखरा, काठमाडौँ लैजाँदा अन्य ठाउँको किबीसँग प्रतिस्पर्धा गरेर मूल्य पाइँदैन।’
करिब दुई हजार किलोग्राम किबी फलाएका पुनले बागलुङका फलफूल व्यापारीलाई प्रतिकिलोग्राम एक सय ८० रुपैयाँका दरले एक हजार पाँच सय किलोग्राम बिक्री गरिसकेको बताए।
भकिम्लीका अन्य कृषकले भने बजार नपाउँदा किबी टिपेका छैनन्। मंसिर र पुस महिना किबी टिप्ने याम हो। पुससम्म नटिपे किबी बोटमै पाकेर झर्ने, चराचुरुङ्गीको आहरामा सीमित हुने चिन्ता कृषकको छ।
कोदो, मकै र गहुँ बाली दुम्सीले नष्ट गर्न थालेपछि बाझिएको खेतबारीमा कृषकले किबीखेती गरेका थिए। कृषि ज्ञान केन्द्रको अभिलेखअनुसार म्याग्दीको ११ हेक्टर क्षेत्रफलमा भएको किबीखेतीबाट गत आर्थिक वर्ष २०८०/०८१ मा ४४ मेट्रिक टन उत्पादन भएको थियो।
केन्द्रका प्रमुख सञ्जिव बास्तोलाले यस वर्ष मौसम अनुकूल भएको, रोगकिराको समस्या नदेखिएको र फूल खेल्ने समयमा असिना नपरेकाले किबी उत्पादन बढेको बताए। धेरै दाना लागेका कारण आकार सानो हुँदा बजार नपाउने समस्या देखिएको बास्तोलाले बताए।
‘असी ग्रामसम्म तौल भएको किबीलाई गुणस्तरीय मानिन्छ। उपभोक्ताले किबीको ठूला दाना खोज्छन्,’ उनले भने, ‘बोटमा धेरै दाना लागेकाले आकार सानो हुँदा कृषकलाई बिक्री गर्न समस्या भएको हो।’
किबीको दानाको आकार ठूलो बनाउन बटिलामै पतलाउने, बगैँचा व्यवस्थापन, मल र पानी पर्याप्त दिन कृषि ज्ञान केन्द्रका प्रमुख बास्तोलाले सुझाव दिए। उद्योग वाणिज्य सङ्घ र फलफूल व्यापारीसँग समन्वय गरेर किबीको बजारीकरणमा पहल गरेको उनले बताए।
बत्तीस वर्षअघि जापानबाट आएका स्वयम्सेवकले धौलागिरि क्षेत्रमै पहिलोपटक म्याग्दीको राम्चेमा किबी भित्र्याएका थिए। व्यावसायिक खेती भएको पछिल्लो एक दशकयता हो। म्याग्दीको मध्य पहाडी क्षेत्रको भूगोल र हावापानी किबी खेतीका लागि अनुकूल मानिन्छ।
स्वादिलो र धेरै पौष्टिकतत्व पाइनु किबीको विशेषता हो। लगाएको तेस्रो वर्षबाट एउटा बोटमा ५० देखि ७० किलोग्रामसम्म फल लाग्ने गर्छ। समुद्री सतहदेखि एक हजार पाँच सयदेखि दुई हजार मिटरको उचाइमा किबीखेती गर्न सकिन्छ।
भिटामिन सी लगायत पौष्टिकतत्व पाइने किबी चिनी रोगका बिरामीहरूका लागि लाभदायक मानिन्छ। पाचन प्रक्रियालाई सहयोग गर्ने किबीबाट जाम र वाइन बनाउन सकिन्छ। अमिलो र गुलियो स्वाद पाइने किबीलाई नेपालीमा ठेकी फलको रूपमा चिन्ने गरिएको छ।
पुष ४, २०८१ बिहीबार १०:११:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।