क्यानडालाई अमेरिकामै गाभ्ने ट्रम्पको अभिव्यक्ति, भने- ‘५१औं राज्य!’
एजेन्सी : अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले छिमेकी राष्ट्र क्यानडालाई अमेरिकामै गाभ्ने संकेत गरेका छन्।
क्यानडामा कर लगाउने कुरा पहिले नै गरिसकेका ट्रम्पले यसपटक क्यानाडाका अधिकांश नागरिकहरू अमेरिकाको ५१औं राज्य बन्न चाहेको बताएका छन्।
ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामी क्यानाडालाई वार्षिक एक अर्ब डलर भन्दा बढी सब्सिडी दिन्छौँ। यसको कुनै अर्थ छैन। धेरै क्यानाडेलीहरू यो अमेरिकाको ५१औं राज्य होस् भन्ने चाहन्छन्। यसले उनीहरूलाई कर र सैन्य सुरक्षामा धेरै बचत गर्नेछ। यो एक महान विचार हो। ५१औं राज्य!’
ट्रम्पले यसअघि आप्रवासी र अवैध लागूऔषध रोक्न क्यानडा र मेक्सिकोमा २५ प्रतिशत थप कर लगाउनु आवश्यक भएको बताएका थिए। उनले २० जनवरीमा पदभार ग्रहण गर्नेबित्तिकै क्यानडा, मेक्सिको र चीनविरुद्ध कर लगाउने ‘कार्यकारी आदेश’मा हस्ताक्षर गर्ने बताएका थिए।
क्यानडा र अमेरिकासँग विश्वको सबैभन्दा लामो सिमाना छ र दुई देशबीचको व्यापार सम्बन्ध एक ट्रिलियन डलरभन्दा बढी छ।
पुष ४, २०८१ बिहीबार ०८:०३:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।