उकेरा टप फाइभ : कर्णाली सरकारले उठाउन खोजेका सुकुम्बासी परिवारदेखि पुराना फिल्ममेकरको कमब्याकसम्म
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले जातीय छुवाछूत र साम्प्रदायिकता घृणास्पद कार्य तथा समाज विकासको ऐजेरू भएकाले यसलाई फेदैमा उखेलेर फाल्न अहिलेको सरकार तत्पर रहेको र जातीय उत्पीडनको काँडा निकाल्न लागिपर्ने बताएका छन्। नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३७औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले असमानता, अन्याय, छुवाछूत र दुःख भोगेर कोही सुख हुन सक्दैन नसक्ने र सुखी हुन असमानता र छुवाछूत हटाउनुपर्नेमा जोड दिँदै संविधानमा आफूहरूले त्यही भएर सामाजिक न्याय र समानताको व्यवस्था गरिएको बताए।
नेपाल प्रिमियर लिग एनपिएलको इलिमिनेटरमा चितवन राइनोजलाई पराजित गर्दै कर्णाली याक्सले दोस्रो क्वालिफायर खेल्ने भएको छ। एक सय ७६ रनको लक्ष्य पछ्याएको चितवन २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ५४ रनमा समेटियो। योसँगै कर्णालीले खेल २१ रनले जितेको हो।
पहिलो क्वालिफायरको खेलमा जनकपुर बोल्ट्सलाई हराउँदै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ। सुदूरपश्चिमले जनकपुरलाई आठ विकेटले हराएको हो। बुधवार भएको पहिलो खेलमा कर्णालीले चितवन राइनोज्लाई पराजित गरेर दोस्रो क्वालिफायरमा प्रवेश गरेको थियो। बिहीबार दोस्रो क्वालिफायरको खेल हुँदैछ। एनपिएलको फाइनल शनिबार छ।
सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई उपस्थित गराउन आदेश दिएको छ। प्रसाईंको बन्दीप्रत्यक्षीकरणको मुद्दामा बुधबार न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले प्रसाईंलाई उपस्थित गराउन आदेश दिएको हो। प्रसाईंका छोरा निराजन प्रसाईंले आफ्ना बुवालाई प्रहरीले गैरकानुनी रूपमा हिरासतमा राखेको, जिल्ला अदालत काठमाडौंको आदेश पछि पनि हिरासतमै राखेको भन्दै मंगलबार सर्वोच्चमा रिट दायर गरेका थिए।
श्रीमतीलाई कुटपिट गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मुगुको छायाँनाथ रारा नगरपालिका-११ का २८ वर्षीय कृष्ण कुमाई छन्। उनले आफ्नी श्रीमतीमाथि पटक-पटक कुटपिट गर्दै घरेलु हिंसा गरेको आरोप छ। प्रहरीले श्रीमान कृष्णमाथि अनुसन्धान अघि बढाएको छ।
क्यानडाले नयाँ सीमा नियमहरू घोषणा गरेको छ। यसअन्तर्गत देशको अमेरिकी सीमामा नयाँ सुरक्षा उपायहरू लागू गरिने बताइएको छ। नयाँ नियमअनुसार सीमा निगरानीलाई मजबुत बनाइनेछ। नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भर्खरै क्यानडाबाट अमेरिका आउने हरेक उत्पादनमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका बेला क्यानडाले यो घोषणा गरेको हो।
अब आज उकेरामा प्रकाशित टप पाँच समाचार
यसवर्ष फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ले ५० करोड ग्रस कलेक्सन गर्यो। ‘१२ गाउँ’, ‘छक्कापञ्जा ५’ लगायतले २०/२० करोड बढी ग्रस कलेक्सन गरे। यी बाहेक अन्य दर्जन फिल्मले पनि दुई देखि १० कराेडसम्मको कमाइ गरे। करिब दुई महिना फिल्मको व्यापार गुल्जार बन्यो। एक अर्बमाथिको व्यापार भयो। कमेडी, एक्सन, सोसल अनि फेमिली ड्रामा लगायत सबै खालका फिल्म चले। यसले नयाँ फिल्म निर्माताहरू हौसिएको देखियो। निष्क्रिय भएर बसेका पुराना निर्माता समेत चल्मलाउन थाले। दर्शकले सबै किसिमका चलचित्रलाई रुचाउन थालेपछि पुराना फिल्मकर्मीहरू फिल्म निर्माणमा कस्सिएका छन्।
पूरा समाचार: फिल्म निर्माणमा फर्कँदै वडाध्यक्षदेखि मन्त्रीसम्म बनेका पुराना फिल्मकर्मी, भन्छन्- ‘यो राइट टाइम हो’
अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका डोनाल्ड ट्रम्पले भारतमा पठाइने अमेरिकी सामानमा लगाइएको करबारे कडा अभिव्यक्ति दिएका हुन्। उनको यो भनाइले भारत सरकारलाई सोच्न बाध्य तुल्याउने निश्चित प्रायः छ। भारतले अमेरिकी सामानमा जति कर लगाउँछ, अमेरिकाले पनि भारतीय सामानमा त्यही नै कर लगाउने ट्रम्पको भनाइ छ।
पूरा समाचार: भारतलाई ट्रम्पको चेतावनी 'जस्तालाई त्यस्तै व्यवहार गरिन्छ'
राष्ट्रप्रमुखहरू प्रायः राजनीतिक, आर्थिक संकट, सैन्य विद्रोह वा जनआन्दोलनका कारण आफ्नो देश छाड्न बाध्य हुन्छन्। यस्ता घटनाले न केवल उनीहरूको शासनको अन्त्य गर्छ, देशको भविष्य र राजनीतिक स्थायित्वलाई पनि गम्भीर रूपमा प्रभावित गर्छ। नागरिक, सैन्य विद्रोह र सुरक्षा कारण देखाउँदै राष्ट्रप्रमुखहरू देश छाडेर भाग्ने चलन निकै पुरानो हो। पछिल्ला देश छाडेर भागेका केही चर्चित राष्ट्रप्रमुखहरूबारे यहाँ चर्चा गरिएको छ।
पूरा समाचार: सिरियाका राष्ट्रपति बसरदेखि बंगलादेशकी हसिनासम्म, देशलाई संकट पर्दा छोडेर भागे
वीरेन्द्रनगर नगरपालिका-७ खारखोलीमा बस्दै आएकी नन्दकला विकलाई कुन बेला डाक्टरले घर भत्काइदिने हो भन्ने चिन्ताले रातदिन पिरोलिरहेको छ। किनभने उनले बनाएको घर सरकारी जग्गामा पर्छ। त्यहाँ कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत यातायात व्यवस्था कार्यालयले ट्रायल सेन्टर बनाउँदै छ। त्यहाँका ६ घरधुरी भूमिहीन दलित परिवारलाई ट्रायल सेन्टरका नाममा यातायात व्यवस्था कार्यालयले गएको कात्तिक ३० मा सात दिने सूचना जारी गर्दै ठाउँ खाली गर्न भनेको छ।
पूरा समाचार: ‘ट्रायल सेन्टर’ बनाउने नाममा भूमिहीन सुकुम्बासी परिवारलाई उठीबास गराउँदैछ कर्णाली सरकार
राजनीतिक भाषणका क्रममा 'कुजात' शब्द प्रयोग गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलित समुदायसँग माफी मागेका छन्। दलित अभियन्ता डा मित्र परियारको नेतृत्वमा रहेको कास्ट वाच नेटवर्कको प्रतिनिधि मण्डलले बुझाएको ज्ञापनपत्र बुझ्ने क्रममा प्रचण्डले सिंगो दलित समुदायसँग माफी मागे। गत कार्तिक २८ मा सार्वजनिक कार्यक्रममा प्रचण्डले 'कुजात'हरूको संसर्गले आफू पनि मैलाधैला भएको बताएका थिए। प्रचण्डले विपक्षीहरूलाई संगतै गर्न नहुने जात पनि भनेका थिए।
पूरा समाचार: भाषणका क्रममा 'कुजात' शब्द प्रयोग गरेका प्रचण्डले दलितहरूसँग मागे 'माफी'
पुष ३, २०८१ बुधबार २२:१५:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।