सिरियाका राष्ट्रपति बसरदेखि बंगलादेशकी हसिनासम्म, देशलाई संकट पर्दा छोडेर भागे
काठमाडौं : गएको डिसेम्बर ८ मा सिरियाका राष्ट्रपति बसर अल असद देश छाडेर भागे। विद्रोही समूह र सेनाबीच विगत ११ दिनदेखि चलिरहेको भिडन्तकाबीच विद्रोही लडाकुहरूले राजधानी दमास्कस कब्जा गरेपछि असदले देश छोडेका हुन्। डराएर देश छाडेर राष्ट्रपति असद भागेर रूस पुगेका छन्। त्यसअघि असदलाई रूस र इरानको पूर्ण समर्थन प्राप्त थियो।
असदको सत्ताच्यूतपछि विद्रोही समूहले सिरियामा नयाँ युगको शुरुवात भएको घोषणा गरे। उनीहरूले सिरियाको राजधानीसँगै, अलेप्पो, हामा, होम्स र दारा जस्ता चार प्रमुख सहर कब्जा गरेर खुसियाली मनाए।
त्यो सँगै ५० वर्षे शासनको अन्त्य भयो। बसर अल असद सन् २००० मा राष्ट्रपति बनेका हुन्। त्यसअघि उनका बुवा हाफेज अल असद सन् १९७१ देखि सन् २००० सम्म देशको राष्ट्रपति थिए।
जारी युद्धका कारण सिरियामा ३ लाख ७० हजार मानिस विस्थापित भइसकेका थिए। तर, तानाशाही राष्ट्रपति बसरले मनोमानी ढंगबाट सत्ता हाँकिरहे। अन्तत: कसैलाई नभनी सुटुक्क देश छाडेर भागे।
बेलायती समाचार संस्था रोयटर्सका अनुसार बसरले सेनामा रहेका आफ्नै भाइलाईसमेत नभनी देश छाडेर भागेका थिए। बसरका भाइ महेर अल-असद सिरियाली सेनाको शक्तिशाली विभागका प्रमुख थिए। दाइ सुटुक्क रसिया भागेको थाहा पाएपछि मात्रै भाइ महेर पनि सेनाको हेलिकप्टर लिएर भागेका थिए।
बसरले आफू भाग्नु अगाडि नै श्रीमती र तीन छोराछोरीलाई रसिया पुर्याइसकेका थिए। बसरले आफू भाग्ने कुरा कसैलाई नभनेका मात्र होइनन्, उनले आफ्ना सेना, प्रहरी, राष्ट्रपति कार्यालयका निकट कर्मचारी लगायत सबैलाई झुक्याएका पनि थिए। गत सातादेखि अहिलेसम्म उनी रूसमै रहेको बताइन्छ।
त्यसो त राष्ट्रप्रमुखहरू प्रायः राजनीतिक, आर्थिक संकट, सैन्य विद्रोह वा जनआन्दोलनका कारण आफ्नो देश छाड्न बाध्य हुन्छन्। यस्ता घटनाले न केवल उनीहरूको शासनको अन्त्य गर्छ, देशको भविष्य र राजनीतिक स्थायित्वलाई पनि गम्भीर रूपमा प्रभावित गर्छ। नागरिक, सैन्य विद्रोह र सुरक्षा कारण देखाउँदै राष्ट्रप्रमुखहरू देश छाडेर भाग्ने चलन निकै पुरानो हो।
हालसम्म थाह भएअनुसार, ६०९ बीसीमा जुदाह राज्यका राजा भागेर इजिप्ट गएको अवस्थालाई राष्ट्रप्रमुखले देश छाडेको पहिलो घटना मानिन्छ। त्यसयता सयौं शासकले देश छाड्नुपरेको छ।
पछिल्ला देश छाडेर भागेका केही चर्चित राष्ट्रप्रमुखहरूबारे यहाँ चर्चा गरिएको छ :
शेख हसिना (बंगलादेश)
दक्षिण एसियालीहरूका लागि ताजा अनि चर्चित घटना हो, बंगलादेशकी तानाशाही प्रधानमन्त्री शेख हसिना भागेको। १५ वर्षसम्म बंगलादेशको शासन चलाएकी शेख हसिना विद्यार्थी आन्दोलनले चर्को रूप लिएपछि सन् २०२४ को अगस्टमा बंगलादेश छाडेर भारतमा शरण लिन बाध्य भइन्। सरकारी जागिरमा आरक्षणको विषयप्रति प्रश्न उठाउँदै विद्यार्थीहरूले थालेको आन्दोलन चर्किएपछि उनले अन्ततः पद त्याग्नुपर्यो।
सरकारी जागिरमा दिइने आरक्षणको विरोधमा सुरू भएको आन्दोलन चर्कियो। आन्दोलनकारी राष्ट्रपति निवासमै छिर्न थालेपछि हसिनाले भारतमा शरण लिएकी हुन्। सन् १९९६ मा पहिलो पटक निर्वाचित भएदेखि नै हसिनाले भारतसँग निकट सम्बन्ध राखेकी थिइन्। हसिनाले सधैं दिल्लीसँग ढाकाको निकट सम्बन्धको महत्त्वमा जोड दिँदै आएकी थिइन्।
सन् २०२२ मा दिल्ली भ्रमणका क्रममा उनले बंगलादेशको स्वतन्त्रतामा भारत सरकार, भारतीय जनता र सुरक्षा फौजले सहयोग गरेको स्मरण गर्दै बंगलादेशले कहिल्यै पनि भारतलाई भुल्नु नहुने बताएकी थिइन्।
बंगलादेशमा गत जनवरीमा भएको निर्वाचनबाट शेख हसिना देशको प्रधानमन्त्री चुनिएकी थिइन्। यो उनको पाँचौँ कार्यकाल थियो। यद्यपि उनको सरकार एक वर्ष पनि टिकेन।
अहिले भने बंगलादेशको एक अदालतले निर्वासित पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। अदालतले हसिनाको आवामी लिग पार्टीका पूर्वमहासचिव ओबैदुल कादिर र अन्य ४४ जनाविरूद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ। यसैबीच हसिना र उनकी बहिनी शेख रेहानालाई पक्राउ गरी बंगलादेशलाई सुपुर्दगी गर्न भारतसँग आग्रह गरेका छन्।
हसिनाको शासन अन्त्य भएपछि बंगलादेशमा हाल अन्तरिम सरकारको नेतृत्व नोबेल पुरस्कार विजेता मुहम्मद युनुसले गरिरहेका छन्।
मोहम्मद अशरफ घानी (अफगानिस्तान)
तालिबानसँग लडिरहेको अमेरिकी सैनिक फिर्ता भएपछि अफगानी राष्ट्रपति देश छाडेर भागे। तालिबानले अफगानिस्तानको अधिकांश भाग कब्जा गरेर शासन चलाउन थाल्यो। तालिबानी समूह अफगास्तिानको राजधानीमै प्रवेश गरेपछि घानीले सन् २०२१ को अगस्टमा देश छाडे।
विद्रोही समूह तालिबानका लडाकुहरू राजधानी काबुल छिरेको केही घन्टामै घानी हवाई मार्गबाट भागेर उनी संयुक्त अरब इमिरेट्स (यूएई)मा शरण लिन गए।
पत्नी, सेना प्रमुख र राष्ट्रिय सुरक्षा सल्लाहकारसहित देश छाडेका राष्ट्रपति घानीले फेसबुक पोष्टमार्फत् अफगानिस्तानका नागरिकलाई सम्बोधन गर्दै रक्तपात रोक्नका लागि यस्तो निर्णय लिन बाध्य भएको बताएका थिए।
उनले भनेका थिए, ‘आज मलाई एक कठिन निर्णय लिनु थियो या त म सशस्त्र तालिबान, जो राष्ट्रपति भवनमा प्रवेश गर्न चाहन्थे, उनीहरुको अगाडि उभियौं, या आफ्नो प्यारो देश, जसको सुरक्षाका लागि मैले २० वर्ष खर्चिएँ, त्यसलाई छोडुँ। यदि यस क्रममा अनगिन्ती मानिस मारिन्छन् र काबुल शहर ध्वंस हुन्थ्यो भने ६० लाख जनसंख्या भएको शहरमा ठूलो मानवीय त्रासदी हुन्थ्यो।’
असरफ घानी अफगानिस्तानमा दुई पटक राष्ट्रपति बने। उनी पहिलो पटक सन् २०१४ र दोस्रो पटक सन् २०१९ मा राष्ट्रपति चुनिएका थिए। उनलाई देशको चर्चित शिक्षाविदको रुपमा पनि चिनिन्थ्यो। उनले आफ्नो करिअरको अधिकांश समय अफगानिस्तान बाहिर नै बिताए। तर उनी कयौं वर्षको युद्धपछि अफगानिस्तानको पुनर्निर्माणका लागि फर्किएका थिए। जब उनले राष्ट्रपति पद सम्हाले, त्यतिबेला उनले एक इमान्दार व्यक्तित्वको पहिचान बनाएका थिए।
हाल अफगानिस्तानको शासनसत्ता तालिबानले चलाइरहेको छ। घानी संयुक्त यूएईमै छन्।
गोटाबाया राजापाक्षे (श्रीलंका)
श्रीलंका चरम आर्थिक संकटमा परेपछि सन् २०२२ मा नागरिकले विद्रोह गरे। महिनौंदेखि विद्युत् कटौती तथा इन्धन, खाना र औषधि जस्ता आधारभूत सामग्रीको अभाव र चर्को मूल्य भएपछि नागरिक विद्रोहमा उत्रिएका थिए। विद्रोहमा उत्रिएका जनताले राष्ट्रपति भवन नै कब्जा गरे। उनीहरू भवनमै छिर्ने चाल पाएपछि राष्ट्रपति गोटाबाया राजापाक्षे देश छाडेर भाग्न बाध्य भए।
७३ वर्षीय गोटाबाय सेनाको एउटा विमानमा चढेर माल्दिभ्सको राजधानी माले पुगे। उनीसँगै पत्नी र एक जना गार्ड पनि थिए। राजापाक्षेको प्रस्थानले श्रीलंकामा दशकौंसम्म शासन गर्ने पारिवारिक वंशको अन्त्य गरेको छ।
देश छाडेर राजापाक्षे थाइल्याण्ड पुगे। थाइल्याण्डबाट उनी सिंगापुर पुगे। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार, हाल उनी सिंगापुरमै छन्। राजापाक्षेको शासन समाप्त भएपछि श्रीलंकामा भर्खरै चुनाव सम्पन्न भएको छ।
पुष ३, २०८१ बुधबार २०:४५:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।