भाषणका क्रममा 'कुजात' शब्द प्रयोग गरेका प्रचण्डले दलितहरूसँग मागे 'माफी'
काठमाडौं : राजनीतिक भाषणका क्रममा 'कुजात' शब्द प्रयोग गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलित समुदायसँग माफी मागेका छन्।
दलित अभियन्ता डा मित्र परियारको नेतृत्वमा रहेको कास्ट वाच नेटवर्कको प्रतिनिधि मण्डलले बुझाएको ज्ञापनपत्र बुझ्ने क्रममा प्रचण्डले सिंगो दलित समुदायसँग माफी मागेका हुन्।
गत कार्तिक २८ मा सार्वजनिक कार्यक्रममा प्रचण्डले 'कुजात'हरूको संसर्गले आफू पनि मैलाधैला भएको बताएका थिए। प्रचण्डले विपक्षीहरूलाई संगतै गर्न नहुने जात पनि भनेका थिए।
उनको यो अभिव्यक्तिपछि नेपाली समाजको सामाजिक सन्दर्भमा प्रयोग गरिने शब्द 'कुजात'को प्रयोगले दलित समुदायको अपमान गर्ने भाष्य बोलेको र आत्म सम्मानमा चोट पुर्याएको भन्दै आलोचना भएको थियो। त्यही विषयमा कास्ट वाच नेटवर्कले प्रचण्डलाई भेटेर ज्ञापनपत्र बुझाएको संयोजक परियारले बताए।
त्यस भेटमा प्रचण्डले आफूलाई अन्यथा नसोच्न दलित समुदायसँग अनुरोध गर्दै आत्मालोचना गरेको संयोजक परियारले बताए।
'मैले दलित समुदायलाई आघात पर्ने गरी बोलेको होइन। तथापि 'कुजात' शब्द र वाक्यले दलित समुदायको आत्मसम्मानमा चोट पुगेकोमा म दुख व्यक्त गर्दछु। माफी चाहन्छु, प्रचण्डले भनेका थिए, मेरो उद्देश्य दलित समुदायको आत्मसम्मान गिराउनु हुँदै होइन, उठाउनु हो। गलत शब्द चयन भएको विषयमा सार्वजनिक रूपमा नै कुनै न कुनै तवरले, कुनै न कुनै फोरममा माफी आत्मालोचना गर्ने छु।'
पुष ३, २०८१ बुधबार १८:३४:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।