डेडिकेटेड र ट्रंकलाइन विवादमा कुलमानलाई साथ दिएका २ सञ्चालक गए, मन्त्री खड्काले पराजुली र केसीलाई ल्याए

डेडिकेटेड र ट्रंकलाइन विवादमा कुलमानलाई साथ दिएका २ सञ्चालक गए, मन्त्री खड्काले पराजुली र केसीलाई ल्याए

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा बलबहादुर पराजुली र लक्ष्मण केसी नियुक्त भएका छन्।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मङ्गलबार सङ्खुवासभाका मकालु गाउँपालिका-३ का पराजुली र धादिङ गङ्गाजमुना गाउँपालिका-५ का केसीलाई सञ्चालक समिति सदस्यमा चार वर्षका लागि नियुक्त गरेका मन्त्री खड्काको निजी सचिवालयले जनाएको छ। 

सञ्चालक समिति सदस्यद्वय भक्तबहादुर पुन र कपिल आचार्यको कार्यकाल मंगलबार सकिएको थियो। त्यसपछि उनीहरूको रिक्त स्थानमा पराजुली र केसीलाई नियुक्त गरिएको हो। 

डेडिकेटेड तथा ट्रंकलाइन विवादमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई साथ दिएको भन्दै ती दुवै सञ्चालकलाई ऊर्जामन्त्री खड्काले गएको साउन १८ मा स्पष्टीकरण सोध्दै बर्खास्त गरेका थिए। तर, पछि सर्वोच्च अदालतले पुनर्बहाली गरेको थियो।

डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता नबुझाएसम्म लाइन जोड्न नहुने अडान राखेपछि उनीहरूलाई मन्त्री खड्काले स्पष्टीकरण सोधेका थिए। उनीहरू दुवै जना कुलमानका प्रायजसो निर्णयमा साथ दिने सञ्चालकका रूपमा थिए।  

पुष ३, २०८१ बुधबार १८:२२:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।