जन्मँदै कसैलाई श्रेष्ठ वा ठूलो जातको हो भनिनु मान्य हुँदैन : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अन्योल, अस्थिरता र भ्रष्टाचारले सीमा नाघेपछि दुई ठूला दलको सहकार्यमा नयाँ सरकार बनाउनु परेको बताएका छन्।
नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३७औं स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले अघिल्लो सरकारतर्फ लक्ष्य गर्दै कमिलाको आयु पुग्यो भने पखेटा पलाउँछ भनेझैं मुलुकका एमाले र कांग्रेसजस्ता पार्टी हुँदाहुँदै कस कसका केके नाच चलेका हुन् भनेर जनताले भन्न थालेपछि स्थिरतातर्फ देशलाई फर्काउन आफूहरूले नयाँ सरकार बनाएको स्पष्ट पारे।
‘हामी सुशासन र विकास फेरि फर्काएर मुलुकलाई गन्तव्यमा लाने छौं। हाम्रो सरकारलाई सराप्नेहरू पनि नभएका होइनन्। सरकार अहिले ढल्छ, भरे ढल्छ भनेर धारे हात लगाउनेहरू छन्’ उनले भने, ‘राजाका पालामा अनेक मुद्दा मामिला लगाएर जनतालाई फसाउने, जातीय विद्वेष फैलाउने काम भएका थिए। हामी मानिस हौं र मानिस भनेको सबै बराबर हुन्छ। जातपात भन्ने नचाहिने कुरा हो। यसको अन्त्यका लागि हामी विद्यमान कानुनमा आवश्यक संशोधनका लागि पनि लाग्ने छौं।’
प्रधानमन्त्री ओलीले जातीय छुवाछूत र साम्प्रदायिकता घृणास्पद कार्य तथा समाज विकासको ऐजेरू भएकाले यसलाई फेदैमा उखेलेर फाल्न अहिलेको सरकार तत्पर रहेको र जातीय उत्पीडनको काँडा निकाल्न लागिपर्ने बताए।
असमानता, अन्याय, छुवाछूत र दुःख भोगेर कोही सुख हुन सक्दैन नसक्ने र सुखी हुन असमानता र छुवाछूत हटाउनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले संविधानमा आफूहरूले त्यही भएर सामाजिक न्याय र समानताको व्यवस्था गरिएको बताए।
उनले भने, ‘मान्छे एउटै हो। जन्मँदै कोही पनि श्रेष्ठ हुँदैन। जन्मँदै श्रेष्ठ वा ठुलो जातको हो भनिनु मान्य हुँदैन। सरकारले त्यस्ता कुराहरुलाई मान्यता दिँदैन।’
पुष ३, २०८१ बुधबार १७:०७:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।