जनकपुर बोल्ट्सलाई हराउँदै सुदूरपश्चिम एनपिएलको फाइनलमा

जनकपुर बोल्ट्सलाई हराउँदै सुदूरपश्चिम एनपिएलको फाइनलमा

काठमाडौँ : पहिलो क्वालिफायरको खेलमा जनकपुर बोल्ट्सलाई हराउँदै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ। सुदूरपश्चिमले जनकपुरलाई आठ विकेटले हराएको हो।

जनकपुरले सुदूरपश्चिमलाई १ सय ४० रनको लक्ष्य दिएकोमा १८.३ ओभरमा २ विकेट गुमाएर उसले सहजै लक्ष्य पूरा गर्यो ।

सुदूरपश्चिमका विनोद भण्डारीले सर्वाधिक ५८ रन जोडे। उनले ५५ बलमा ३ चौका र ३ छक्का हाने। अलि जेबले ३२ रन बनाए। ब्रेण्डन मक्मुलनले १९ बलमा १ चौका र १ छक्काको सहयोगमा २५ रन जोडेका थिए। कप्तान दीपेन्द्र सिंह ऐरीले १६ बलमा १ चौका र १ छक्काको सहयोगमा २० रन बनाए। 

जनकपुरका लागि किशोर महतो र ललितनारायण राजवंशीले समान १ विकेट लिए।

टस जितेर पहिले ब्याटिङ रोजेको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३९ रन बनाएको थियो। ​​​​​​जनकपुका लागि जेम्स निशमले सर्वाधिक ४५ रन बनाएका थिए। अशुब कसांकारले २६ रन बनाए। 

लाहिरु मिलन्थाले १२ रन बनाए। आसिफ शेखले ११ रन बनाए। हर्ष ठाकरले १२ रन बनाए। अरनिको यादवले ११ रन बनाए।

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले ३, सेफ अलि जेबले २ र अभिनास बोहोरा र स्कट कुग्गेलेइनले १-१ विकेट लिए। 

फाइनलमा पुग्ने दोस्रो टिमको निर्णय अब कर्णाली याक्स र जनकपुर बोल्ट्सको खेलले निर्धारण गर्नेछ। दोस्रो क्वालिफायर खेलमा यी दुवै टिममध्ये जसले जित्छ उही फाइनलमा पुग्ने छ।

बुधवार भएको पहिलो खेलमा कर्णालीले चितवन राइनोज्लाई पराजित गरेर दोस्रो क्वालिफायरमा प्रवेश गरेको थियो। बिहीबार दोस्रो क्वालिफायरको खेल हुँदैछ। एनपिएलको फाइनल शनिबार छ।

पुष ३, २०८१ बुधबार १६:२१:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।