आन्तरिक पर्यटन प्रवर्द्धन गर्न पोखरा महोत्सव हुँदै, पाँच लाख सहभागी हुने आयोजकको दाबी
काठमाडौँ : आन्तरिक र बाह्य पर्यटन प्रवर्धन गर्ने उद्देश्यले पुस १३ देखि १७ सम्म पोखरामा २६ औँ पोखरा सडक महोत्सवको आयोजना हुने भएको छ।
रेस्टुराँ एन्ड बार एसोसिएसन (रेवान) पोखराले अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर महोत्सव आयोजना गर्न लागेको हो।
रेवानका केन्द्रीय अध्यक्ष सङ्घर्ष विष्टले सडक महोत्सवले आन्तरिक पर्यटन प्रवर्द्धनका साथै विदेशी पर्यटकको बसाई लम्ब्याउन मद्दत पुग्ने आशा व्यक्त गरे।
महोत्सवले स्थानीय पर्यटनमा नेपाली उत्पादनलाई प्रोत्साहन र विश्व बजारमा पुर्याउन मद्दत पुगेको उनले बताए।
विभिन्न नेपाली खाना, जातीय वेशभूषा र परम्परागत संस्कृतिको प्रदर्शनले समग्र पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने विष्टले बताए।
पोखराको लेकसाइड क्षेत्रको करिब तीन किलोमिटर क्षेत्रमा महोत्सव आयोजना हुँदै आएको छ।
समग्रमा सडक महोत्सव स्थानीयस्तरमा आर्थिक गतिविधि चलायमान, विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना गर्ने दरिलो माध्यम बनेको महोत्सवका संयोजक विकास भट्टरार्ईले बताए।
महोत्सवको प्रवर्द्धकमा नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार र पोखरा पर्यटन परिषद् रहेका छन्। २५ वर्षदेखि निरन्तर रूपमा हुँदै आएको पोखरा सडक महोत्सव देशकै ठुलो महोत्सवका रूपमा रहँदै आएको छ।
यो पटक पाँच लाख पर्यटकले महोत्सव भ्रमण गर्ने आयोजकको अनुमान छ। महोत्सवको अवसरमा सडक महोत्सवमा रहने रेस्टुराँको मूल्य सूचिमा २० प्रतिशतसम्म छुट दिँदै छ। यस्तै होटेलमा २० प्रतिशत र प्याराग्लाइडिङ सेवामा १० छुट पाइने छ।
महोत्सवमा मुख्य आकर्षणका रूपमा विभिन्न जातजातिका लोपोन्मुख सांस्कृतिक कार्यक्रम, मौलिक वेशभूषा प्रदर्शन, झाँकी प्रदर्शन प्रतियोगिता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, लाइभ कन्सर्ट, खेलकुदतर्फ बोट रेस, वेटर रेस, टग अफ वार, मोमो, ससेज खाने प्रतियोगिता रहेका छन्।
पुष ३, २०८१ बुधबार १६:०६:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।