बन्दीप्रत्‍यक्षीकरणको मुद्दामा दुर्गा प्रसाईंलाई उपस्थित गराउन सर्वोच्चको आदेश

बन्दीप्रत्‍यक्षीकरणको मुद्दामा दुर्गा प्रसाईंलाई उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं : सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई उपस्थित गराउन आदेश दिएको छ।

प्रसाईंको बन्दीप्रत्यक्षीकरणको मुद्दामा बुधबार न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले प्रसाईंलाई उपस्थित गराउन आदेश दिएको हो।

प्रसाईंका छोरा निराजन प्रसाईंले आफ्ना बुवालाई प्रहरीले गैरकानुनी रूपमा हिरासतमा राखेको, जिल्ला अदालत काठमाडौंको आदेश पछि पनि हिरासतमै राखेको भन्दै मंगलबार सर्वोच्चमा रिट दायर गरेका थिए।

त्यसमा सुनुवाइ गर्दै न्यायाधीश पोखरेलले विपक्षीको नाममा कारण देखाऊ र बन्दीसहित उपस्थित गराउन आदेश गरेको हो।

यस मुद्दामा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), प्रहरी प्रधान कार्यालय नक्साल, गृहमन्त्रालय र काठमाडौं जिल्ला अदालतलाई विपक्षी बनाएको हो।

प्रहरी हिरासतमा रहेका प्रसाईंमाथि आपराधिक विश्वासघातको आरोपमा अनुसन्धान भइरहेको छ।

प्रसाईंले अन्य व्यक्तिलाई प्रयोग गरी व्यापारी तथा उच्चस्तरीय व्यक्तिलाई धम्की दिएको प्रहरीको दाबी छ।  

पुष ३, २०८१ बुधबार १५:५०:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।