सिरहामा सडक दुर्घटनाका घटना घटे, मृत्यु हुनेको सङ्ख्या बढ्यो
काठमाडौं : सिरहामा चालु आर्थिक वर्षको प्रथम चौमासिकमा दुई सय ५५ सवारी दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ। यसमा चार सय ५७ जना घाइते भएको ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ।
यो तथ्याङ्क गत आर्थिक वर्षको प्रथम चौमासिकको भन्दा दुर्घटनामा कम भएको देखिन्छ। तर, मृत्यु हुनेको सङ्ख्या बढेको छ। गत आवको प्रथम चौमासिकमा १५ जनाको ज्यान गएको थियो।
ट्राफिक प्रहरीका अनुसार गत आवमा जिल्लामा नौ सय ९७ सवारी दुर्घटना भयो। यसमा ६८ जनाले ज्यान गुमाएका थिए। एक हजार पाँच सय ७९ जना घाइते भएका थिए।
दुर्घटनामा कमी ल्याउन साथै मृत्यु दरमा कम गराउन जनचेतना कार्यक्रमलाई तीव्रता दिए तापनि मृत्यु हुनेको दरमा भने वृद्धि भएको जिल्ला ट्राफिक कार्यालय लहानका प्रमुख एसपी पोषणराज थपलियाले बताए।
'दुर्घटनाको अनुसन्धान गर्दा जिल्लामा भएका अधिकांश सवारी दुर्घटनामा चालककै बढी गल्तीका कारण हुने गरेको देखिन्छ, एसपी थपलियाले भने।
उनका अनुसार मापसे र लापसे गरी सवारी चलाउँदा, सवारीलाई उछिन्न खोज्ने, यान्त्रिक गडबडी, तीव्रगतिमा सवारी चलाउँदा, सडक चौपाया, क्षमताभन्दा बढी यात्रु बोकेर सवारी चलाउँदा, ट्राफिक नियम उल्लङ्घन, बढ्दो मात्राका अव्यवस्थित सिटी रिक्सालगायत कारण दुर्घटना हुने र दुर्घटनाबाट मानिसको मृत्यु हुने गरेको छ।
पुष ३, २०८१ बुधबार १४:२९:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।