फिल्मले ५० करोड कमाएपछि नाटकमा फर्किए विजय, नाजिरको निर्देशनमा ‘हरि हजुरबा’ गर्ने

फिल्मले ५० करोड कमाएपछि नाटकमा फर्किए विजय, नाजिरको निर्देशनमा ‘हरि हजुरबा’ गर्ने

काठमाडौं : यस वर्षकै सर्वाधिक कमाई गरेर निर्मातालाई पैसा बुझाउने अभिनेता हुन्- विजय बराल। उनले अभिनय गरेको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ले घरेलु बक्स अफिसमा ५० करोडको व्यापार गर्यो। यो नेपालकै अहिलेसम्मको सर्वाधिक कमाइ हो।

फिल्म चलेपछि फिल्म क्षेत्रमा विजय बरालको माग समेत बढेको चर्चा छ। तर, एक महिनादेखि उनी भने नाटक ‘हरि हजुरबा’को मञ्चनका लागि जुटेका छन्।

उनलाई अर्का कलाकार नाजिर हुसेनले आफ्नो नाटक ‘हरि हजुरबुबा’मा अभिनय गराउन लागेको हुन्। विजय र नाजिरले यो नाटकलाई मण्डलामा तीन हप्तासम्म चलाउने योजना बुनेका छन्। नाटक भोलिबाट प्रदर्शन हुँदैछ।

नाजिरको चार लाइन कविताबाट जन्मिएको यो नाटकमा विजयले फिल्म ‘पूर्णबहादुरको सारङ्गी’जस्तो भूमिका निर्वाह गर्दैछन् रे। नाटकमा नाजिर नाती र विजय हजुरबुवाको भूमिका देखिँदैछन्। नाटकले द्वन्द्वकालीन घटनाको कथालाई प्रस्तुत गर्ने नाजिर बताउँछन्।

नातिनीको पर्खाइमा रहेका हजुरबुबा र हरिबीचको सम्वाद र सांगीतिक माहोलले नाटकलाई एक घण्टा भन्दा लामो समयको छ। मंगलबार मण्डला नाटकघरमा रिहर्सल गर्दै गर्दा भेटिएका विजय र नाजिरले कवितामार्फत नाटक जन्मिएको सुनाए।

नाटकका निर्देशक समेत रहेका नाजिरले भने, ‘निकै अगाडि लेखिएको कविता थियो। यो कवितालाई कथा बनाए। यो कथा चाहीँ फर्किनेहरूको कथा हो, खोजिनेहरूको कथा हो। सिधै भन्दा त्यही द्वन्द्वमा मान्छे हराएर मान्छे नै खोजिरहनुभएको कथा हो।’

अर्का कलाकार विजय बरालले नाटकमा आफ्नो भूमिकाबारे स्पष्ट पार्दै यसपटक पनि आफू कुर्ने मान्छे नै भएको बताए। उनले भने, ‘फिल्म ‘पूर्णबहादुरको सारङ्गी’मा पनि मैले कसैलाई कुर्दा कुर्दै नै फिल्म सकिन्थ्यो। यसमा पनि कुर्ने नै काम छ।’

उनले नाजिरको लेखन तथा अभिनयको तारिफ गर्दै डिजाइनमा पनि उस्तै अब्बल रहेको बताए। नाटक खेल्न किन राजी भए त विजय?

उनले भने, ‘नाजिर उमेरमा सानो भए तापनि नाटक हामी सँगै शुरु गरेका हौँ। उसले आफ्नो सोचको स्टाइलमा काम गराउँछ। ६-७ वर्षपछि नाजिरले निर्देशन गरेको हो। मैले के शर्त राखेँ भने तँ खेल्छस् भने म पनि खेल्छु। थिएटरमा हामीलाई प्राक्टिस पनि हुन्छ भन्ने हिसाबले नाटकमा फर्किएको हो।’

पूर्णबहादुरको सारङ्गी चलेपछि ‘अर्को फिल्म आउँछ कि भनेर कुरेका दर्शकलाई निराश बनाएको हो?’ भन्ने प्रश्नमा विजयले ठट्यौली पारामा आफू झुक्याउने मान्छे भएको बताए।

उनले अगाडि भने, ‘फिल्म ‘कबड्डी’ चल्दै गर्दा पढ्नपर्छ भनेर म इण्डिया जाने मान्छे हो। अहिले पूर्णबहादुर सारङ्गी’ भयङ्कर चल्यो। कसैले विजयको सिनेमा आउँछ कि भन्ने लाग्यो। आउँछ होला सिनेमा तर देखिएन। मलाई सिनेमा भन्दा यतिकै ठिक लाग्छ।’

फिल्म चलेपछि पारिश्रमिक ५० लाख लिन लागेको भन्ने हल्लाको समेत उनले खण्डन गरे। आफूले अहिलेसम्म कुनै पारिश्रमिक नतोकेको र न्यून पारिश्रमिकमा नाटक खेल्न ठिक परेको बताए।

पुष ३, २०८१ बुधबार १४:०२:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।