एनपीएल इलिमिनेटर : चितवनलाई स्तब्ध बनाएको कर्णालीले दोस्रो क्वालिफायर खेल्ने

एनपीएल इलिमिनेटर : चितवनलाई स्तब्ध बनाएको कर्णालीले दोस्रो क्वालिफायर खेल्ने

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को इलिमिनेटरमा चितवन राइनोजलाई पराजित गर्दै कर्णाली याक्सले दोस्रो क्वालिफायर खेल्ने भएको छ।

एक सय ७६ रनको लक्ष्य पछ्याएको चितवन २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ५४ रनमा समेटियो। योसँगै कर्णालीले खेल २१ रनले जितेको हो।

चितवनका लागि रवि बोपाराले ५३ रनको अर्धशतकीय पारी खेल्दा कप्तान कुशल मल्ल २१, विपिन रावल १६, लुक बेनकेन्टेन १६ रन बनाए।

कर्णालीका जीसान मक्सुदले तीन विकेट लिँदा सोमपाल कामी र नन्दन यादवले समान दुई–दुई तथा विपिन शर्माले एक विकेट हात पारे।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा तानिएको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ७५ रन बनायो।

उसका लागि जयकिसन कोल्सावाला र विल बोसिस्टोले क्रमशः ५३ र ५२ रनको अर्धशतक बनाए। त्यसबाहेक जिसान मक्सुद १४ रनमा आउट हुँदा चाडविक वाल्टनले २३ बलमा ४६ रनको आक्रामक पारी खेले।

चिवतनका लागि सोहेल तनवीरले दुई विकेट लिँदा शरद भेषावकर, रवि बोपारा र कुशल मल्लले समान एक-एक विकेट लिए।

जितसँगै कर्णालीले फाइनल प्रवेशका लागि आजै हुने पहिलो क्वालिफायरको पराजित हुने टोलीसँग बिहीबार खेल्नेछ। पराजित चितवन भने प्रतियोगिताबाट बाहिरिएको छ।

पहिलो क्वालिफायर आज दिउँसो १ बजे जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच हुनेछ।

पुष ३, २०८१ बुधबार १२:३१:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।