गोदावरीमा मार्बल उद्योगले पारेको प्रभावबारे आर्ट काउन्सिलमा प्रदर्शनी

गोदावरीमा मार्बल उद्योगले पारेको प्रभावबारे आर्ट काउन्सिलमा प्रदर्शनी

काठमाडौं : बबरमलस्थित नेपाल आर्ट काउन्सिलमा गोदावरी मार्बल उद्योगले स्थानीयलाई पारेको प्रभावका तस्बिर प्रदर्शनी गरिएको छ। प्रदर्शनीमा गोदावरीमा रहेको मार्बल उद्योगले वातावरण र स्थानीय जनतामा पारेको प्रभावको तस्बिरमार्फत देखाइएको छ।

प्रदर्शनीमा उद्योग बन्द गर्नुपर्ने मागसहितको मुद्दाको कागज र उद्योग बन्द गर्नका लागि दबाब सिर्जना गरिएको समाचारका साम्रगीहरू पनि राखिएको छ। ‘नदीनाला कसका?’ नामक फोटो प्रदर्शनी र त्यसले पारेको असरका बारेमा आयोजक टोलीले अवलोकनकर्ताहरूलाई जानकारी गराइरहेका थिए।

मंसिर २८ गतेबाट शुरू भएको प्रदर्शनीमा नौ महिना लामो फेलोसिप कार्यक्रममा तयार पारिएको फोटोग्राफी, चलचित्र र अन्य बहुसञ्चार सामग्री देखाइएको आयोजकमध्येकी एक श्रीना नेपालले  जानकारी दिइन्।

प्रदर्शनीमा अहिले भइरहेको प्रगतिबारे प्रचलित भाष्य, त्यसलाई व्यक्ति, समुदाय तथा राष्ट्रराज्यका हैसियतमा हामीले कति र कुन प्रकारले स्वीकारेका छौँ तथा यस भाष्यलाई आत्मसात गर्नाले नदीनाला, वनजङ्गल र जमिनको कुन हदसम्म दोहन भएको छ भन्नेबारेमा पुनर्विचार गर्न आग्रह गरिएको उनले बताइन्।

यसका अलावा गोदावरीमा विकासको कथा, त्यहाँ मार्बल उद्योगको उत्खनन्, मुक्कुमलुङमा विकासको कथा र नयाँ केवलकार परियोजना निर्माणका लागि फाँडेर सर्वनाश पारिएको जंगल जोगाउन स्थानीयवासीहरू अझै लडिरहेको कथालाई समेटिएको छ।

भिडियो र फोटो मार्फत जोगीदहमा विकासको कथा, पछिल्लो ३० वर्षदेखि यहाँका राजनीतिक दलका नेताहरूले आफ्ना मतदातालाई देखाएको नयाँ एयरपोर्टको आशा र त्यसका लागि १५६ हेक्टर जंगलका रुखबिरुवा फँडानी गरेर आएको काठपात बेच्नेको विषयलाई पनि प्रदर्शनीमा तस्बिरमार्फत देखाइएको छ।

​​​​​​ प्रदर्शनीको प्रबन्धक नयनतारा गुरुङ कक्षपतिले नदीनाला, वनजंगल र जमिन रफ्तारमा नाश हुँदै गर्दा हाम्रो आहार, अन्तरंग गीत, जीवनमरणका संस्कार र जमिनसँग यतिधेरै जेलिएका हामा संस्कृतिहरूको नियति के हुन्छ भन्दै प्रश्न गरिन्।

मार्बल उद्योगको स्थापना र त्यसका लागि भएको प्राकृतिक सम्पत्तिको दोहन राणाकालीन समयबाट नै सुरू भएको आयोजक नेपालले बताइन्।

‘राणाकालीन समयमा रुख काट्नेलाई झुण्डाइदिनु भन्ने कानून थियो। जब गोदावरीमा मार्बल खानी छ भन्ने थाहा भयो, त्यसपछि राणाहरूले त्यही कानून आफ्ना लागि सजिलो बनाए,’ उनले भनिन्, ‘त्यहीअनुसार एउटा चिरञ्जीवी लाल अग्रवाल र मोहनलाल अग्रवाललाई मार्बल उद्पादनको जिम्मा दिइयो। सोही अनुसार उनीहरूले चलाएका थिए।’

​​​​​​​

राणाकालीन समयमा खोलिएको मार्बल उद्योग शाह वंशका राजाको पालामा बन्द भएको थियो। प्रदर्शनी पुस ७ गतेसम्म चल्नेछ।

पुष ३, २०८१ बुधबार ११:५९:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।