एनपीएल : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल प्रवेशका लागि पहिलो क्वालिफायरमा आज लिगको शीर्षस्थानमा रहेको सुदूरपश्चिम रोयल्स र दोस्रो स्थानको जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा हुँदैछ।
खेल दिउँसो १ बजे कीर्तिपुरमा सुरु हुनेछ। जारी प्रतियोगितामा सुदूरपश्चिम बलियो देखिएको छ। लिग चरणको सातमध्ये एउटा खेलमा मात्र पराजय भोगेको सुदूरपश्चिको ब्याटिङ र बलिङ लयमा छ।
यता लिगको सुरुवाती खेलहरूमा चमत्कारपूर्ण प्रदर्शन गरेको जनकपुरको प्रदर्शन पनि क्वालिफायरमा बलियो हुने अपेक्षा गरिएको छ।
जनकपुरले लिगको सात खेलमा पाँच जित र दुई हारको नतिजा आत्मसाथ गरेको थियो। सुदुरपश्चिम र जनकपुरबिचको पहिलो क्वालिफायर खेलको विजेता सोझै फाइनलमा पुग्ने छ।
जनकपुरका लागि कप्तान अनिल साहले एनपीएलका बाँकी खेल गुमाउने भएका छन्। हातमा चोट लागेपछि टोलीका लागि अब बाँकी खेलको कप्तानी आशिफ शेखले गर्नेछन्।
उद्घाटन देखिनै हजारौँ नेपाली क्रिकेट दर्शकको साथ पाएको एनपिएलको प्लेअफ चरणका खेलमा दर्शकको चाप झनै बढ्ने देखिन्छ।
नेपाल क्रिकेट संघ(क्यान)ले नेपाली खेलकुदमै ठूलो आर्थिक लगानीमा आयोजना गरेको एनपिएल सर्वाधिक पुरस्कार राशी रहेको प्रतियोगिता पनि हो।
विभिन्न देशका ४० भन्दाबढी खेलाडीको आगमनले थप चर्चा पाएको एनपिएलको विजेता टोलीले एक करोड १० लाख रुपैयाँ पुरस्कार पाउनेछ।
यस्तै उपविजेतालाई ५१ लाख, तेस्रो हुने टोलीलाई २५ लाख र चौथोलाई १५ लाख रुपियाँ पुरस्कार दिने निर्णय क्यानले गरेको छ।
एनपिएलको उत्कृष्ट खेलाडीले करिब ६२ लाख रुपियाँको ‘आमोडा एन्ड जेईको’ कम्पनीको कार पुरस्कार पाउनेछ।
पुष ३, २०८१ बुधबार ०७:४८:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।