उकेरा टप फाइभ : समताका उत्तम सन्जेलको बदमासीदेखि सन्तोष आचार्यको चौथो अंगसम्म

काठमाडौं : मलेसियामा जारी एसीसी यू-१९ वुमन्स एसिया कप क्रिकेटमा नेपाल र भारतबीचको खेल हावाहुरीसँगै वर्षा भएपछि प्रभावित भएको छ। नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको भारतले ३ ओभर १ बलमा २८ रन जोड्दा वर्षा भएको थियो। वर्षा नरोकिएपछि नेपाल र भारतले एक-एक अंक बाँडेका हुन्। योसँगै नेपाल ३ अंकसहित समूहको उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका नगर प्रहरीले सडकमा आतंक मच्चाएको भन्दै असन्तुष्टि जनाएका छन्। आज ललितपुर महानगरपालिकाको १०६औं स्थापना दिवस कार्यक्रमको सम्बोधनमा उनले नगर प्रहरीको काम गरिब लखेट्ने नभएको बताए। काठमाडौं महानगरका मेयर बालेन शाहको निर्देशनमा त्यहाँका नगर प्रहरीले फुटपाथ हटाउने भन्दै सडकका व्यापारीदेखि मकै पोल्न बसेका सर्वसाधारणसम्मलाई आतंकित गरिरहेका छन्। यसैमेसोमा काठमाडौंका नगर प्रहरीले ठेला, साइकल र गाडामा सब्जी, अन्य उपभोग्य सामान बेच्नेलाई लखेट्ने गरेको ठीक नभएको बताए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई थप चार दिनको म्याद थप भएको छ। जिल्ला अदालत कास्कीका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले रविलाई थप चार दिन हिरासतमा राख्न अनुमति दिएको हो। प्रहरीबाट प्राप्त अनुसन्धान प्रतिवेदन अध्ययन, प्राप्त प्रमाणको विश्लेषण, अभियोग पत्र लेखन लगायतको काम बाँकी भएकाले थप म्याद चाहिएको जिल्ला न्यायाधीवक्ताको जिकिरपछि अदालतले म्याद थप गरेको हो।
नेपाल प्रिमियर लिग एनपिएलको विजेता टिमले एक करोड १० लाख रूपैयाँ पाउने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले आज एक विज्ञप्ति जारी गर्दै प्रतियोगितामा पुरस्कारबारे जानकारी गराएको हो। क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार उपविजेता टिमले ५१ लाख, तेस्रो हुने टिमले २५ लाख र चौथो हुने टिमले १५ लाख रूपैयाँ पुरस्कार पाउने छन्।
एकीकृत समाजवादीले राष्ट्रिय सभा वामदेव गौतमलाई पार्टीमा भित्र्याउनका लागि औपचारिक निर्णय गराउने तयारी गरेको छ। त्यसका लागि वार्ता र छलफल भइरहेको भन्दै केही प्राविधिक कारणले मात्र रोकिएको उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए। त्यसलगत्तै वामदेव आफैंले पनि एकीकृत समाजवादीमा जान आफू तयार रहेको बताए।
अब आज उकेरामा प्रकाशित टप पाँच समाचार
नेपाल बाल संगठन (बाल मन्दिर)को जग्गा प्रकरण, नागरिकता किर्ते आरोपी कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अनि बाँसबारीको सरकारी जग्गा हडपेको आरोप लागेका चौधरी ग्रुपको मुद्दाको अनुसन्धान सत्ताको छायाँमा परेको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढलेर एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा नेपाली कांग्रेस सहितको सरकार आएसँगै नेपाल प्रहरीले गरिरहेको यी अनुसन्धान पूरै प्रभावित भएको हो।
पूरा समाचार: सत्ताको छायाँमा अनुसन्धान : बालमन्दिर जग्गा, सिरोहियाको नागरिकता र चौधरी ग्रुपले हडपेको जग्गाबारे प्रहरी मौन
पहिलेका पत्रकारले आफूपछिको पुस्ता निर्माण गरेका थिए। तर, अहिले आफूपछिको पुस्ता तयार पार्न सम्पादकहरू लागेको देखिँदैन। ठोक्नु र नङ्ग्याउनु छ भने खोजी पत्रकारिता गरेको देखिन्छ नत्र देखिन्न। यसरी जकडिएको मिडियालाई निकाल्नु अहिले मिडिया नेतृत्वको चुनौती हो। यी र यस्तै विषयमा रहेर स्वतन्त्रता, कान्तिपुर साप्ताहिक, नारी, नेपाल साप्ताहिक, शिक्षापत्र, लोकपथमा काम गरिसकेर अहिले फरकधार डटकममा प्रधानसम्पादक रहेका सन्तोष आचार्यसँग प्रजु पन्तले गरेको कुराकानी आजको चौथो अंगमा।
पूरा समाचार: चौथो अंग : मिडियाको आम्दानी जग्गामा लगानी गरेर प्रकाशक दलाल बने, पत्रकार निकालिँदा पनि सम्पादक निरीह भए
चिकित्सा शिक्षा आयोगले चिकित्सा शास्त्रको स्नातकोत्तर (पीजी) तहका आवासीय चिकित्सक (रेजिडेन्ट डाक्टर) लाई निर्वाह भत्ता नेपाल सरकारको आठौँ तहको स्वास्थ्यकर्मीको तलब स्केलमा कमी नहुने गरी) को सुनिश्चितता गरेर माग सिट माग्न निर्देशन दिएसँगै निजी मेडिकल कलेज, स्नातकोत्तर तहका आवासीय चिकित्सक र आयोगबीच विवाद चुलिएको छ।
पूरा समाचार: आवासीय चिकित्सकको निर्वाह भत्तामा राजनीति : सरकार पेल्ने पक्षमा, निजी मेडिकल कलेज सिट र शुल्क बढाउने दाउमा
निजी स्कुल समताका सञ्चालक उत्तम सन्जेलले कानुनी प्रक्रिया बिना नै गोकर्णेश्वर नगरपालिकामा समता स्कुल सञ्चालन गर्न लागेको खुलेको छ। उनले स्कुल सञ्चालनको स्वीकृति नै नलिई गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर पाँचमा स्कुल बनाउन थालेका हुन्। स्कुलको नक्सा समेत पास भएको छैन।
पूरा समाचार: रोकिएन समताका सन्जेलको बदमासी, स्वीकृति नै नलिई गोकर्णेश्वरमा स्कुल भवन बनाउँदै, नगर प्रमुखको शंकास्पद निर्णय
आर्थिक वर्ष २०८०/०८१ मा कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा पशुपंक्षी विकास निर्देशनालयले बराहताल गाउँपालिका-८ जयपुर डाँडास्थित हरियाली बहुमुखी पशुपालन तथा कृषि समूहलाई बाख्रा खरिद र खोर निर्माणका लागि ३५ लाख रूपैयाँ अनुदान दियो। त्यसमा समूहको तर्फबाट १४ लाख ६ हजार थप गरेर लगानी गर्ने सम्झौता भयो। कुल ४९ लाख ६ हजार रूपैयाँबाट बाख्रा-बोका खरिद, खोर निर्माण, घाँस, औषधी वापतको रकम, बिमा, ढुवानी, डिपिङ टेङ्की निर्माण र होडिङ बोर्डमा खर्च गर्नुपर्ने सम्झौतामा उल्लेख थियो। तर, त्यस समूहका अध्यक्ष विमल शाहीले सम्झौताविपरीत बाख्रा-बोका खरिद, बिमा, ढुवानी खर्च मात्रै खर्च गरेको पाइएको छ।
पूरा समाचार: बाख्रा पालनमा आएको सरकारी बजेट दुरूपयोग, समितिका पदाधिकारीलाई फकाएर आधा काममा आधा बजेट झ्वाम
पुष २, २०८१ मंगलबार २१:४८:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।