फिल्म निर्माणमा फर्कँदै वडाध्यक्षदेखि मन्त्रीसम्म बनेका पुराना फिल्मकर्मी, भन्छन्- ‘यो राइट टाइम हो’
काठमाडौं : यसवर्ष फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ले ५० करोड ग्रस कलेक्सन गर्यो। ‘१२ गाउँ’, ‘छक्कापञ्जा ५’ लगायतले २०/२० करोड बढी ग्रस कलेक्सन गरे। यी बाहेक अन्य दर्जन फिल्मले पनि दुई देखि १० कराेडसम्मको कमाइ गरे। करिब दुई महिना फिल्मको व्यापार गुल्जार बन्यो। एक अर्बमाथिको व्यापार भयो। कमेडी, एक्सन, सोसल अनि फेमिली ड्रामा लगायत सबै खालका फिल्म चले।
यसले नयाँ फिल्म निर्माताहरू हौसिएको देखियो। निष्क्रिय भएर बसेका पुराना निर्माता समेत चल्मलाउन थाले। भदौदेखि मंसिरसम्म चलचित्र विकास बोर्डबाट ६० फिल्मले अनुमति लिइसके। नयाँ शैलीका फिल्मलाई दर्शकले रूचाउन थालेपछि वसन्त निरौला, नरेश पौडेल, छवि ओझा, तुलसी घिमिरे, ऋषि लामिछानेलगायतले फिल्म निर्माणबाट टाढिएका थिए।
तर, दर्शकले सबै किसिमका चलचित्रलाई रुचाउन थालेपछि पुराना फिल्मकर्मी उनीहरू फिल्म निर्माणमा कस्सिएका छन्। पौडेल पुरानै फिल्मको शीर्षकको फिल्म लिएर दर्शकमाझ आउने सुरसारमा छन्। १२ वर्षको अन्तरालमा पुरानै फिल्म ‘सिलसिला’मार्फत निर्देशनमा फर्कन लागेका हुन्। उकेरालाई प्राप्त जानकारी अनुसार सूर्य श्रेष्ठले लगानी गर्ने फिल्ममा समीर भट्टलाई खेलाउन खोजिएको छ। पहिलो ‘सिलसिला’मा विराज भट्ट र रेखा थापाको मुख्य भूमिका थियो।
उता, पुराना पुस्ताका निर्देशक तुलसी घिमिरे पनि फिल्म निर्माणमा फर्किएका छन्। आठ वर्षअघि फिल्म ‘दर्पण छायाँ २’ फ्लप भएपछि उनको अर्को फिल्म आएको छैन। यतिबेला उनी विपिन कार्कीलाई मुख्य भूमिकामा लिएर फिल्म ‘पहाड’निर्माणमा जुटेका छन्। अहिले फिल्मको गीतमा काम भइरहेको छ। गीत अभिनेता कार्कीले नै गाएका छन्।
आठ वर्षपछि फिल्म नबनाउँदा तुलसीलाई पनि फिल्म निर्माणमा ढिलाइ भएको लागेको रहेछ। त्यसको कारक उनी नयाँ प्रविधिलाई मान्छन्।
‘समय अलिकति लाग्यो। नयाँ प्रविधि आउँदा नयाँ सिस्टम आए। पहिलाको जस्तो सिस्टम छैनन्,’ उनले भने ,‘पहिलाको तुलनामा अहिले एकदमै राम्रो सिस्टमहरू आए। नेपाली फिल्महरूलाई वितरकहरूले जुन पाराले वितरण गरिरहनुभएको छ। त्यो एकदमै राम्रो छ। यो बुझ्न र कथा लेख्न नै मलाई समय लागेको हो।’
‘पूर्ण बहादुरको सारङ्गी’ले राम्रो व्यापार गरेपछि यही नै उचित समय हो भनेर आफू निर्माणमा जुटेको उनको भनाइ छ।
‘अहिले फिल्म निर्माणको राइट समय आएको जस्तो लाग्छ। राम्रो फिल्मका लागि राम्रो मार्केटिङ हुन थालेको छ,’ उनले भने, ‘जस्तो पूर्ण बहादुरको सारङ्गी सही किसिममा रिलिज पनि भयो।’
‘बाँसुरी’, ‘कुसुमे रुमाल’, ‘अन्याय’, ‘लाहुरे’, ‘चिनो’, ‘दुई थोपा आँसु’, ‘कोसेली’, ‘दक्षिणा’, ‘देउता’, ‘दर्पण’ छाँया’ लगायत हिट फिल्म दिएका उनको पछिल्लो फिल्म ‘दर्पण छायाँ २’ डुबेपछि भने अर्को फिल्म निर्माणको आँट गर्न सकेका थिएनन्।
आठ वर्षअघि ‘किस्मत २’ निर्देशन गरेका ऋषि लामिछाने पनि नयाँ फिल्ममार्फत कमब्याक गर्न लागेका छन्। उनी केदार घिमिरे (माग्ने बुढा)लाई फिल्म ‘माग्ने राजा’ लिएर आउँदैछन्।फिल्मले चलचित्र विकास बोर्डमा छायांकनका लागि अनुमति लिइसकिएको छ। फिल्ममा पुरानै निर्माता मुनाल घिमिरेले लगानी गर्दैछन्। झण्डै एक दशकपछि निर्माता घिमिरे पनि फिल्ममा कमब्याक गर्न लागेका हुन्।
फुर्सदिला घिमिरेले गत स्थानीय चुनावमा एमालेबाट उम्मेदवारी दिएर दाङको घोराही उपमहानगरपालिका-४ वडाअध्यक्षमा निर्वाचित समेत भएका। वडा कार्यालयसँगै फिल्म निर्माणलाई पनि निरन्तरता दिने मनसायमा उनी देखिएका हुन्।
त्यसैगरी अर्का फिल्मका निर्माता तथा अभिनेता रोज राणा एक दशकअघिको हिट फिल्म ‘खलनायक’को सिक्वेल निर्माणमा जुटेका छन्। यस फिल्ममा उनी आफैँ देखिने छन्। निर्माता राणा अहिले लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसमेत हुन्।
आगामी माघ दोस्रो हप्ताबाट छायांकन जाने तयारीमा रहेको यो फिल्मका कलाकार को-को रहने भन्ने कुरा निर्माण पक्षले खुलाएको छैन। त्यसअघि ‘खलनायक’मा विराज भट्ट, राजेश हमाल, निखिल उप्रेती, झरना थापाको मुख्य अभिनय थियो। निर्माण टिमका अनुसार स्क्रिप्टको काम अन्तिम चरणमा रहेको यो फिल्मलाई ‘ह्रस्वदीर्घ’का निर्देशक चन्द्र पन्तले निर्देशन गर्ने पक्कापक्की भएको छ।
छ वर्षअघि फिल्म ‘यात्रा’ डुबाएका निर्माता सुशिल पोखरेल पनि नयाँ फिल्ममार्फत फर्कन लागेका छन्। उनी फिल्म ‘परालको आगो’मा लगानी गर्दैछन्। लक्ष्मण सुनारको निर्देशनमा बन्ने यो फिल्मको छायांकन फागुनबाट सुरू हुनेछ।
उनले भने, ‘फिल्म यात्राले आर्थिक रूपले क्षति पुर्याएपछि अर्को फिल्म बनाउने कुरा सहज भएन। घरमा आमा पनि बिरामी हुनुहुन्थ्यो। त्यसबीचमा ‘कोभिड १९’को चपेटामा परेपछि फिल्म निर्माणमा ढिलाई भएको हो। अर्को कुनै खास कारण छैन।’
निर्माता पोखरेलले कथाकार गुरु प्रसाद मैनालीको कृति ‘परालको आगो’मा केन्द्रित रहेर यो फिल्ममा लगानी गर्न आँटेका छन्। त्यसका लागि उनको टिमले मैनाली कथा पुरस्कार ट्रस्टबाट हरि ओम सिने मेकर्स निर्माता कम्पनीलाई निर्माणको मन्जुरी लिइसकेका छन्। यो फिल्मलाई निर्माण टिमले आउँदो वर्षको दशैंमा रिलिज गर्ने समेत घोषणा गरिसकेको छ।
निर्देशक वसन्त निरौलाले गत दशैंबाट दर्शकमाझ फिल्म ‘ज्वाइँ साब’मार्फत फर्किएका छन्। ६ वर्षअघि ‘मेला’फिल्म उठाएका उनले ‘ज्वाइँ साब’मार्फत निर्मातालाई सुरक्षित बनाए। अब अर्को दशैंका लागि उनी ‘दशमी’नामक फिल्म निर्माणको तयारीमा जुटेका छन्।
यता, निर्माता छवि ओझा पनि फिल्म बनाउन लागेका छन्। उनी निर्देशकको खोजीमा देखिए।
नेपाली फिल्मका दिन फिरेकै हो त?
उच्च लगानीका कारण फिल्म ‘ह्रस्व दीर्घ’ले नेपाली बजारबाट मात्र लगानी सुरक्षित गर्न सकेन। तर, आर्थिक रूपमा लगानी सुरक्षित गर्न नसकेको फिल्मले पनि पाँच करोडको ग्रस कलेक्सन गर्नुलाई सकारात्मक नै मान्नुपर्छ।
एकै पटक तीन विधाका तीन फिल्म कमेडी ‘छक्का पन्जा ५’, एक्सनमा ‘१२ गाउँ’ अनि सोसल ड्रामाको ‘ज्वाइँ साब’ रिलिज भए पनि तीनै फिल्मको लगानी सुरक्षित हुनु गजबको उपलब्धि हो। ‘पूर्णबहादुरको सारङ्गी’ले व्यापारको सुनामी ल्याउँदा ‘तेल भिसा’ले पनि लगानी उठायो।
यही व्यापारिक आँकडा देखेर नेपाली फिल्म हेर्न दर्शक हल फर्किएको भन्दै निर्माता हौसिए पनि आशा गरे अनुसारको माहौल बनिसकेको देखिँदैन।
यो दुई महिनाको बिचमा नेपाली फिल्म बजारको अर्थतन्त्रको गजबको आकार देखिएकै हो। तर, अब जस्तो फिल्म बनाए नि चल्छ भन्ने भ्रममा कमजोर फिल्म बनाउने हो भने त्यसले प्रचारको खर्च पनि नउठाउन सक्छ।
तर, बलियो फिल्म बनाउने हो भने अब लगानी उठ्दैन कि भनेर हच्किनुपर्ने अवस्था भने देखिएन। फिल्म कमजोर हुँदा पनि कमाउने ‘१२ गाउँ’को अपवाद सधैँ कायम रहन सम्भव छैन।बलियो फिल्म बनाउन लगानीमा हात कमाउनु पर्दैन। नेपाली दर्शकले दिएको सन्देश यही हो।
पुष ३, २०८१ बुधबार ०९:४५:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।