वामदेवलाई भित्र्याउन तयारीमा गर्दैछ एकीकृत समाजवादी, 'वरिष्ठ नेता' पाए जान तयार

वामदेवलाई भित्र्याउन तयारीमा गर्दैछ एकीकृत समाजवादी, 'वरिष्ठ नेता' पाए जान तयार

काठमाडौं : एकीकृत समाजवादीले राष्ट्रिय सभा वामदेव गौतमलाई पार्टीमा भित्र्याउनका लागि औपचारिक निर्णय गराउने तयारी गरेको छ। त्यसका लागि वार्ता र छलफल भइरहेको भन्दै केही प्राविधिक कारणले मात्र रोकिएको उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए। 

‘वामदेव गौतमसँग कुराकानी भइरहेको छ। उहाँ धेरै सकारात्मक पनि हुनुहुन्छ। पार्टीको एउटा औपचारिक प्रक्रिया पुरा गर्नका लागि संवादलाई अगाडि बढाउने ठाउँमा पुगेका छौं’, मंगलबारको स्थायी कमिटी बैठकपछि खतिवडाले भने। 

सोमबार अर्का स्थायी कमिटी सदस्य हरि पराजुलीले उक्त प्रस्ताव दर्ज गरेका हुन् । बैठकको अन्त्यमा उठेका विषयको जवाफ दिने क्रममा अध्यक्ष नेपालले वामदेवलाई भित्र्याउने बारेको प्रस्तावमाथि छलफल गरेर मंगलबार निर्णय गर्ने भनेका थिए ।

एकीकृत समाजवादीले जनताको बहुदलीय जनवादलाई स्वीकार गर्नुपर्ने वामदेवको शर्त नमान्दा उनले लामो समयदेखि पार्टी प्रवेशमा आनाकानी गर्दै आएका थिए। अहिले अध्यक्ष नेपाल र गौतमबीच छलफल भइसकेर जनताको बहुदलीय जनवादलाई अस्वीकार नगर्ने सहमति भएपछि उनी पार्टी प्रवेश गर्न तयार भएका हुन्।

त्यसलगत्तै वामदेव आफैंले पनि एकीकृत समाजवादीमा जान आफू तयार रहेको बताए।

उनले भने, ‘म तयार नै छु। भोलि नै कुराकानी हुनसक्छ।’

गौतमलाई एकीकृत समाजवादीमा ‘वरिष्ठ नेता’ पद दिने समझदारी रहेको बताइन्छ। एमालेका पूर्वउपाध्यक्षसमेत रहेका उनी अध्यक्ष माधव नेपाल र ‘सम्मानित नेता’ झलनाथ खनालपछि तेस्रो वरियतामा रहनेछन्।

वामदेव सञ्चालन गरेको पार्टी एकता राष्ट्रिय अभियानको ७२ सदस्यीय कमिटीसहित उनी एकीकृत समाजवादीमा प्रवेश गर्न लागेको बताइएको छ।  

पुष २, २०८१ मंगलबार १८:१०:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।