काठमाडौं महानगरलक्षित प्रधानमन्त्रीको व्यंग्य 'नगर प्रहरी जाँदा जनताले कता भागौं, के गरौं भन्नु नपरोस्'
ललितपुर : प्रधानमन्त्री केपी शर्मा ओलीले सबै तहका सरकारहरू जनताप्रति सेवाभावका साथ उत्तरदायी भएर प्रस्तुत हुनुपर्ने बताएका छन्।
मंगलबार ललितपुर महानगरपालिकाको १०६औं स्थापना दिवसमा अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले ललितपुर नगर प्रहरी आतङ्कको पर्याय नभइ रक्षकको पर्याय बनेकामा प्रशंसा गर्दै जनप्रतिनिधि र कर्मचारीले घमन्ड वा तनाव नलिई सेवाभाव प्रस्तुत गर्नुपर्नेमा जोड दिए।
काठमाडौं महानगरका मेयर बालेन शाहको निर्देशनमा त्यहाँका नगर प्रहरीले फुटपाथ हटाउने भन्दै सडकका व्यापारीदेखि मकै पोल्न बसेका सर्वसाधारणसम्मलाई आतंकित गरिरहेको सन्दर्भमा ललितपुरका नगर प्रहरीलाई सुझाउँदै उनले भने, ‘तपाईंहरूले जनताका लागि त्रास फिँजाउने होइन। तपाईंहरूलाई देख्दा जनताले सुरक्षित महसुस गरून्। तपाईंहरू जाँदा जनताले हाम्रा रक्षकहरु आए भन्ने ठान्नुपर्छ। ताकि लौ आयो, कता भागौं, के गरौं भन्ने हुनुहुँदैन। कोही घडी फुकालेर लुकाउन थाल्ने, कोही सिक्री लुकाउन थाल्ने, यस्तो अवस्था नहोस्।’
काठमाडौंका नगर प्रहरीलाई सुझाव दिँदै उनले थपे, ‘हामी जनताका सेवक हौं। हामीले शासक र हाकिम हुँ भन्ने प्रवृत्ति बिर्सनुपर्छ। हामीभित्र घमन्ड पस्नु हुँदैन। तनाव लिने र दिने काम पनि गर्नु हुँदैन।’
प्रधानमन्त्री ओलीले व्यवस्था परिवर्तनपछि पूर्वाधारका क्षेत्रमा विकास भएको र सरकार अभिभावक बनेर प्रस्तुत भएको जनाउँदै नसक्नेका र गरिब जनताका लागि अभिभावक बनेर वर्तमान सरकार प्रस्तुत भएको बताए।
व्यवस्था बदलियो, अवस्था बदलिएन भन्ने भ्रम फैलाइएकाप्रति सचेत हुन आग्रह गर्दै प्रधानमन्त्री ओलीले मुलुकका व्यवस्था परिवर्तनपछि पूर्वाधार विकास र रोजगारीवृद्धिका साथै थुप्रै ठूला उद्योगहरू सञ्चालनमा आएका बताए।
अहिलेको नाजुक अवस्थालाई सम्हालेर केही वर्षभित्र नेपाललाई माथि उठाउन सरकार दत्तचित्त भएर लागेको पनि बताए।
उनले मानिसका छोराछोरीलाई सडकमा अलपत्र पार्न नदिने र विसं. २०८२ भित्र सडक मानवमुक्त नेपाल बनाउन काम भइरहेको बताए।
आफू पहिला प्रधानमन्त्री हुँदा नौ लाख मानिसलाई निरपेक्ष गरिबीको रेखाबाट तल झारिएको सन्दर्भ पनि प्रधानमन्त्री ओलीले स्मरण गरे।
पुष २, २०८१ मंगलबार १६:०७:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।