लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अन्जलासहित २५ जनालाई अदालतले भन्यो- ३५ दिनभित्र आउनू
काठमाडौं : मोरङ जिल्ला अदालतले उमागौरी कृषि सहकारी संस्था ठगी प्रकरणमा प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अन्जला कोइरालासहित २५ जनालाई उपस्थित हुन ३५ दिने म्याद दिएको छ।
मुद्दा चलेर पनि फरार रहेका २५ जनाको हकमा मोरङ जिल्ला अदालतले उपस्थित हुन आउनू भनी ३५ दिने म्याद जारी गरेको हो।
मोरङको धनपालथान गाउँपालिका-३ मा रहेको उमागौरी हकारी प्रकरणमा जोडिएका अन्य १० जनाविरूद्ध भने यसअघि नै पक्राउ पुर्जी जारी भइसकेको थियो। पक्राउ परेकाबाहेक २५ जनाको हकमा म्याद जारी भएको हो।
लेखा समिति सभापति पोखरेलकी पत्नी कोइराला उमागौरी सहकारीको पूर्वसञ्चालक हुन्।
सहकारीबाट कर्जा लिएका ऋणीका कागजपत्र बैंक तथा वित्तीय संस्थामा राखेर ऋण लिएर करिब ११ करोड हिनामिना गरेपछि पोखरेल पत्नी अन्जलासहित सञ्चालक कालोसूचीमा परेका छन्।
सहकारी सञ्चालकहरूका अनुसार एमाले नेतासमेत रहेका पोखरेलले पत्नी अन्जलालाई करिब ६ वर्ष सञ्चालक बनाएका थिए।
कार्यकर्ताले खोलेको सहकारीको सञ्चालकमा पोखरेलले नै पत्नीको नाम राखेका थिए। तर, सहकारी संकटमा परेपछि अन्जलाले २०७८ को माघ ५ देखि सहकारीबाट राजीनामा दिएकी थिइन्।
करिब पाँच हजार बचतकर्ता रहेको उमागौरी सहकारी करिब डेढ वर्षदेखि बन्द छ।
पुष २, २०८१ मंगलबार १५:२४:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।