भ्रष्टाचार गर्नेलाई आजीवन काराबासको व्यवस्था गर्नुपर्नेमा जोड
धनुषा : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले भ्रष्टाचार गर्नेलार्ई आजीवन काराबासको व्यवस्था गर्नुपर्ने धारणा राखेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार जनकपुरधाममा आयोजना गरेको ‘भ्रष्टाचार नियन्त्रण र सुशासन’ विषयक प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा उहाँले भ्रष्टाचार गर्नेलाई पाँच वर्षदेखि १० वर्षसम्मको सजाय गर्नुभन्दा आजीवन काराबासको व्यवस्था गर्नुपर्नेमा जोड दिए।
मुख्यमन्त्री सिंहले भ्रष्टाचार नियन्त्रणका लागि अहिलेको कानुन पर्याप्त नरहेको उल्लेख गर्दै राजनीतिक क्षेत्र तथा सार्वजनिक निकायमा कार्यरत कर्मचारीले विलासी जीवनशैली जिउने चाहना राख्दा भ्रष्टाचारले प्रश्रय पाइरहेको बताए।
कर्मचारीको तलब कम भएकाले पनि जीवन धान्न भ्रष्टाचार गर्ने गरेका हुनसक्ने भएकाले समयसापेक्ष तलब वृद्धि गर्दै जानुपर्नेमा जोड दिए।
तलब वृद्धि गर्ने, भ्रष्टाचार गरेको पाइएमा ती व्यक्तिमाथि कडा सजायको व्यवस्था गर्ने, सूचनाको हकलाई नागरिकसम्म पहुँच विस्तार गर्नेलगायत काम गरेमा भ्रष्टाचारमा स्वतः कमी आउने उनले दाबी गरे।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दले बेनामी उजुरीको विरोध गर्नेले मुलुकमा सुशासन नचाहेको बताउँदै बेनामी उजुरी नपरेका खण्डमा मुलुकमा थप भ्रष्टाचार बढ्ने दाबी गरे।
पुष २, २०८१ मंगलबार ०८:०९:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।