उकेरा टप फाइभ : पारसले जुवाबारे नियामक निकायको पत्र छलेकोदेखि रविविरूद्ध सिफारिस तीन अभियोगसम्म
काठमाडौं : नेपाल प्रिमियर लिग एनपिएलको प्लेअफ समीकरण पूरा भएको छ। सोमबार भएको लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई पराजित गरेसँगै प्लेअफ समीकरण पूरा भएको हो। यसको विजेता फाइनल पुग्दा पराजित टोलीले इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर्स खेल्नेछ। इलिमिनेटरमा तेस्रो स्थानमा रहेको चितवन राइनोज र चौथो स्थानमा रहेको कर्णाली याक्स भिड्नेछन्।
यू-१९ महिला एसिया कपमा नेपालले पाकिस्तानलाई हराएको छ। मलेसियामा जारी प्रतियोगिता अन्तर्गत आज भएको नेपालको पहिलो खेलमा टेस्ट राष्ट्र पाकिस्तानलाई नेपालले ६ विकेटले हरायो। पाकिस्तानले दिएको १०५ रनको लक्ष्य नेपालले ४ विकेटकाे क्षतिमा भेट्टाएको हो। यो सँगै नेपाल सुपर-४ मा समेत प्रवेश गरेको छ।
प्रहरीले धादिङकी शोभा पाठकलाई पक्राउ गरेको छ। साइबर अपराधको आरोपमा सोमबार दिउँसो काठमाडौं जिल्ला अदालत परिसरबाटै पक्राउ गरेर उनलाई प्रहरी वृत्त स्वयम्भू लगिएको छ। पक्राउ पर्नुअघि शोभा आफैंले भने एमाले नेता तथा पूर्वमन्त्री महेश बस्नेतले आफूविरूद्ध षड्यन्त्र गर्न खोजेपछि आफैंले प्रहरीसमक्ष गिरफ्तारी दिएको बताएकी छिन्।
राष्ट्रिय सभा सदस्य वामदेव गौतमले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई मदन भण्डारीको हत्याका सन्दर्भमा बोलेको आफ्नो आफ्नो भ्वाइस सार्वजनिक गर्न चुनौती दिएका छन्। आज एक विज्ञप्ति जारी गर्दै गौतमले प्रधानमन्त्रीका स्वकीय सचिव राजेश शाक्यसँग भएको भनिएको भ्वाइस रेकर्ड सार्वजनिक गर्न चुनौती दिए। गत शुक्रबार आदिवासी जनजाति महिलाहरूको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले वामदेव गौतमले आफ्नो राजीनामा मागेको प्रसंग सुनाएका थिए। मदन भण्डारीको हत्यासँग सम्बन्धित एक भिडियो हेरेर गौतमले आफ्नो राजीनामा मागेको ओलीले दाबी गरेका थिए।
बङ्गलादेशमा अगष्टमा विद्यार्थी आन्दोलनले तत्कालीन प्रधानमन्त्री शेख हसिना वाजेदलाई अपदस्थ गरी बनेको कामचलाउ सरकारको नेतृत्व गरिरहेका अन्तरिम नेता मोहम्मद युनुसले आगामी वर्षको अन्त्य वा सन् २०२६ को सुरुमा आम निर्वाचन हुने बताए। गत अगस्टमा पूर्वप्रधानमन्त्री शेख हसिनालाई सत्ताच्युत गर्ने विद्यार्थी नेतृत्वको विद्रोहपछि नोबेल शान्ति पुरस्कार विजेता युनुसलाई बङ्गलादेशको सरकारको नेतृत्व सुम्पिएको थियो।
अब आइतबार उकेरामा प्रकाशित टप पाँच समाचार
नेपाल प्रिमियर लिगको आवरणमा सरोगेट ब्रान्डको नाममा जुवा खेलाउने कम्पनीको प्रचार गरिरहेको क्रिकेट एसोसिएसन अफ नेपालका सचिव पारस खड्कालाई राष्ट्रिय खेलकुद परिषद्देखि विज्ञापन बोर्डसम्मले पत्र पठाए। तर, उनले कुनै पनि नियामक निकायको पत्रको जवाफ दिएका छैनन्।
पूरा समाचार: जुवाबारे नियामक निकायको पत्र छल्दै क्यान सचिव पारस, राखेपदेखि विज्ञापन बोर्डसम्म जवाफ कुर्दै
नेपाल प्रिमियर लिगको सोमबारको खेलसँगै प्लेअफका चार टोली पक्का भयो। सोमबार भएको सुदूरपश्चिम र कर्णाली याक्सबीचको खेलको नतिजाका आधारमा काठमाडौँ गुर्खाज् पनि प्लेअफमा पुग्ने सम्भावना जीवित थियो। तर, कर्णाली याक्स पराजित भए पनि रन रेटमा अगाडि हुँदा उ चौथो टिमको रूपमा प्लेअफ चरणमा प्रवेश गर्यो।
पूरा समाचार: एनपिएलको प्लेअफ चरण पुरा, यसरी छानिने छन् फाइनलका लागि दुई टिम
पार्टी कार्यालय बनाउन एमालेको व्यवसायी मीनबहादुर गुरुङसँग जग्गा दान लिने काम पार्टीको पारदर्शितामाथिको गम्भीर प्रश्न भन्दै सर्वोच्च अदालतको एकल इजलासबाट अन्तरिम आदेश जारी भएको रिट संयुक्त इजलासबाट खारेज भएको छ। कात्तिक १२ मा न्यायाधीश सुनिलकुमार पोखरेलको पार्टी कार्यालयका लागि व्यवसायीसँग जग्गा दान लिने काम प्रथम दृष्टिमै कानुन अनुकूल नदेखिएको टिप्पणीसहित अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।
पूरा समाचार: सर्वोच्चको एकल इजलासले प्रतिकुल देखेको एमाले जग्गादान प्रकरण संयुक्त इजलासमा पुग्दा खारेज भयो
जिल्ला प्रहरी कार्यालय कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथिको सुर्यदर्शन सहकारी ठगीको अनुसन्धान सकाएर प्रस्तावित राय सुझाव सरकारी वकिलको कार्यालय कास्कीमा बुझाएको छ। प्रहरीले सोमबार अनुसन्धानबाट प्राप्त प्रमाणका आधारमा लामिछानेमाथि सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउने रायसहितको प्रस्तावित राय र सुझाव प्रतिवेदन बुझाएको हो।
पूरा समाचार: रविविरुद्धको प्रहरी प्रस्तावित राय सरकारी वकिलकोमा, तीन अभियोग लगाउन सिफारिस
बशर अल-असदले सोमबार दमास्कसको पतनपछि मात्र सिरियाबाट भागेको बताएका छन्। विद्रोहीहरूले राजधानी कब्जा गरेर आफूलाई सत्ताच्यूत गरेपछि आफ्नो पहिलो टिप्पणीमा उनले देशका नयाँ नेताहरूलाई ‘आतङ्कवादी’ भनेर निन्दा गरे। इस्लामवादी नेतृत्वको विद्रोही गठबन्धनले नोभेम्बर २७ मा उत्तरपश्चिम सिरियाको गढबाट तीव्र आक्रमण सुरू गर्यो, द्रुत गतिमा सरकारी नियन्त्रणबाट प्रमुख सहरहरू कब्जा गर्यो र डिसेम्बर ८ मा राजधानी कब्जा गर्यो।
पूरा समाचार: विद्रोहीहरूले कब्जा गरेपछि भागेका सिरियाका पूर्वराष्ट्रपति असदले सत्ताच्यूतपछि के भने?
पुष १, २०८१ सोमबार २१:५४:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।