कर्मचारीलाई शंकर पोखरेलको ढाडस 'कसैले चाहेर पनि सरकार ढल्दैन, नडराई ढुक्कले काम गर्नुस्'
काठमाडौं : एमालेका महासचिव शंकर पोखरेलले देशका ठूला राजनीतिक दल मिलेर बनेको सरकार कसैले चाहेर पनि नढल्ने बताएका छन्।
नेपाल निजामति कर्मचारी संगठनद्वारा आयोजित प्रथम विधान अधिवेशन तथा १८औं केन्द्रीय परिषद् बैठकमा महासचिव पोखरेलले वर्तमान सरकार बलियो भएको र कसैले चाहेर पनि नढल्ने बताए।
‘अहिलेको सरकार संसदका ठूला दुई दलको बलियो सरकार हो। यो दुई दलले नचाहँदासम्म कसैले चाहेर ढल्दैन,’ उनले भने, ‘यथार्थ यही हो, नडराई ढुक्कले काम गर्नुस्।’
उनले अराजकतावादले मुलुकको देशभक्तिपूर्ण भावलाई नै खाइदिने खतरा भएको र देशमा सबै सकियो भन्ने खालका भाष्य निर्माण गर्ने प्रयत्न हुनु गलत भएको स्पष्ट पारे।
पुराना दलको औचित्य सकियो भन्ने प्रकारको भ्रम फिँजाउने काम समेत भएको उल्लेख गर्दै उनले थपे, ‘लोकप्रियताको माध्यमबाट नयाँ दल निर्माण गर्न सकिन्छ भनेर राजनीति र ठूला दल प्रति निराशा फैलाउने काम भइरहेको छ।’
एमालेसँग वैचारिक प्रतिस्पर्धा गर्न नसक्नेले एमालेमाथि प्रहार गरेर राजनीतिमा निराशा जगाउने प्रयत्न गरी रहेको उनको भनाइ थियो।
लोकतन्त्रमा जनतालाई अधिकार दिने हो भने सबल राज्य हुनुपर्ने र त्यसका लागि सबैभन्दा पहिला बलिया राजनीतिक दल आवश्यक रहेकोमा जोड दिए।
‘जनतालाई निराशाबाट आशामा, कमजोर राज्यबाट बलियो राज्य बनाउने कुरामा, कुशासनबाट सुशासनतर्फ जाने कुरामा ध्यान जानुपर्ने छ,’ उनले भने।
पुष १, २०८१ सोमबार २०:०६:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।