जुवाबारे नियामक निकायको पत्र छल्दै क्यान सचिव पारस, राखेपदेखि विज्ञापन बोर्डसम्म जवाफ कुर्दै
काठमाडौँ : नेपाल प्रिमियर लिगको आवरणमा सरोगेट ब्रान्डको नाममा जुवा खेलाउने कम्पनीको प्रचार गरिरहेको क्रिकेट एसोसिएसन अफ नेपालका सचिव पारस खड्कालाई राष्ट्रिय खेलकुद परिषद्देखि विज्ञापन बोर्डसम्मले पत्र पठाए। तर उनले कुनै पनि नियामक निकायको पत्रको जवाफ दिएका छैनन्।
एनपिएलमा बोर्डसँग अनुमति नै नलिई अनलाइन जुवा खेलाउने कम्पनीलगायतको प्रचारप्रसार गरेकोबारे प्रहरी प्रधान कार्यालयबाट सुरु भएको पत्र गृह मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, राखेपहुँदै क्यानको कार्यालयमा पुगिसकेको छ। नेपालको विद्यमान कानुन मिचेर जुवा प्रवर्धन गरेकोबारे राखेपले क्यानसँग स्पष्टीकरण सोधेको थियो।
उता विदेशी विज्ञापन कम्पनी ल्याउँदा विज्ञापन बोर्डबाट अनुमति लिनुपर्ने कानुनी प्रावधान मिचेर क्यानले अनुमति नलिई जुवा खेलाउने कम्पनी वुल्फत्रिपलसेभेनको सरोगेट ब्रान्ड वुल्फत्रिपलसेभेनन्यूजलाई एनपिएलको प्रायोजक बनाएर मैदानमा प्रचार गरिरहेका छन्।
मंसिर १५ गतेदेखि त्रिवि क्रिकेट मैदानको मुख्य भागदेखि स्क्रिन बोर्डसम्म क्यानले अनलाइन जुवाको प्रचार गर्न छद्म ब्रान्डको प्रचार गरिरहेको छ। त्यस्तै, एनपिएलको टिम विराटनगर किंग्स, लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सले समेत अनलाइन जुवा खेलाउने कम्पनीको लोगो जर्सीमा राखेर प्रचार गरिरहेको छ।
विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनको दफा ५ को उपदफा १ को (ख) जुवाको विज्ञापन गर्न रोक लगाएको छ। उपदफा १ को (ख) ले ‘जुवा खेल्न, खेलाउन वा प्रचलित कानुन बमोजिम अनुमति नलिइएको चिट्ठा किन्न, किनाउन प्रोत्साहन गर्ने विषयमा’ रोक लगाएको छ।
क्यानले ल्याएको अन्तर्राष्ट्रिय विज्ञापन, विज्ञापन बोर्डबाट पास गराएपछि मात्रै प्रसारण, प्रकाशन गर्नुपर्नेमा अनुमति नै नलिई वुल्फत्रिपलसेभेनन्यूज लगायतकाको विज्ञापन गरिरहेको बोर्डका विज्ञापन अनुगमन प्रमुख तारा घिमिरेले उकेरालाई बताइन्।
‘कुनै पनि अन्तर्राष्ट्रिय विज्ञापन ल्याउँदा क्यानले हामीसँग अनुमति लिएको छैन। वुल्फत्रिपलसेभेनन्यूज सम्बन्धी पनि पत्र आएको छैन,’ उनले भनिन् ‘कुनै पनि अन्तर्राष्ट्रिय विज्ञापन नेपालमा आउँदा विज्ञापन बोर्ड मार्फत पास भएको विज्ञापन मात्रै बजाउन, देखाउन पाइन्छ। यस विषयमा गृह मन्त्रालयलाई बोधार्थ गरेर पत्र पठाएका छौ। अब खेलकुद र सञ्चार मन्त्रालयमा अहिलेसम्म पत्र लेखेका छैनौ। अब लेख्छौँ। त्यो जुवा खेलाउने कम्पनीको सरोगेट कम्पनी हो भन्ने देखिन्छ।’
उनले यस विषयमा विज्ञापन बोर्डले क्यानलाई दुई पटक पत्र पठाएको तर क्यानले हालसम्म कुनै जानकारी नगराएको घिमिरे बताउँछिन्।
‘समाचारहरू आएपछि हामीले क्यानलाई विज्ञापन सम्बन्धी दुई पटक पत्र पठाएका थियौँ। अझै जवाफ आएको छैन’ उनले भनिन्।
‘जुवा ऐन २०२०’ ले जुवा भन्नाले सम्पत्ति हार्ने वा जित्ने गरी कुनै संयोग आधारमा बाजी थापी खेलेको कुनै खेल सम्झनुपर्ने भनिएको छ।
‘मुलुकी अपराध संहिता २०७४’ को दफा १२५ मा पनि ‘जुवा खेल्न नहुने वा सट्टाबाजी गर्न नहुने’ प्रावधान छ। जसको उपदफा ४ मा सट्टाबाजी गर्नु वा गराउन नहुने भनिएको छ।
त्यसलाई थप प्रस्ट पार्दै उपदफा ५ मा ‘कसैले कानुन बमोजिम खेल्न खेलाउन नहुने कुनै खेल वा प्रक्रियामा खास पक्षले हारेमा वा जितेमा कुनै चल अचल सम्पत्ति वा प्रतिफल पाउने वा गुमाउने गरी बाजी थापेमा सट्टाबाजीको कसुर गरेको मानिने’ उल्लेख छ।
कानुनले प्रस्टै प्रतिबन्ध लगाउँदै दण्डनीय बनाएको काम एनपिएलमा भइरहेको छ। तर नियामक निकाय पत्र काट्ने औपचारिकतामै खुम्चिएको छ। उता व्यक्तिगत घरभित्र छिरेर ताल खेलेका छन् छैनन् भनेर छापा मार्दै हिँड्ने प्रहरी नेतृत्व समेत जुवाको प्रचार हुँदा मूकदर्शक भएर बसेको छ।
जुवा खेलाउने विरुद्ध मुद्दाको तयारी, क्यानलाई भने उन्मुक्ति
एनपिएलको मैदानमा भइरहेको जुवाको प्रचार ट्वाँ परेर हेरिरहेको प्रहरीले त्यही मैदानमा जुवा खेलाएको आरोपमा पक्राउ परेकाहरुविरुद्ध भने मुद्दा चलाउने तयारी गरेको छ। एनपिएल सुरु भएदेखि ७ जनालाई अनलाइन जुवा खेलाएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको थियो। उनीहरूलाई मुद्दाको प्रक्रियामा लैजाने तयारी भइरहेको ब्युरोका प्रवक्ता होविन्द्र बोगटीले बताए।
‘मैदानमा पक्राउ परेकाहरुविरुद्ध मुद्दा दर्ताको प्रक्रियामा छौँ’ उनले भने। उनले एनपिएलको मैदानबाट अनलाइन जुवाको प्रचार भइरहेकोबारे सम्बन्धित (गृह) मन्त्रालयमा पत्र पठाएको उनले बताए।
बोगटी भन्छन्, ‘क्यानको सवालमा हामीले सम्बन्धित मन्त्रालयलाई पत्र पठाइसकेका छौँ। उताबाट पत्रको जवाफ आएको छैन।’
एनपिएलको मैदानबाट अनलाइन जुवाको प्रवर्धन गरेकोबारे राखेपले १० दिन अगाडि क्यानलाई पत्र पठाएको थियो। तर उत्तर आएको छैन। मंसिर २१ गते नै क्यानलाई पत्र पठाए पनि हालसम्म कुनै जवाफ नआएको राखेपका सूचना अधिकारी खुशराज दाहालले उकेरालाई बताए।
‘मंसिर २१ गते क्यानलाई पत्र पठाएका छौँ। आज भोली नै पत्रको जवाफ आउनु पर्ने हो। उहाँहरूलाई हामीले ताकेता लगाएका छौँ’ उनले भने, ‘मौखिक रूपमा उहाँहरूले आजभोलि नै पत्रको जवाफ पठाउँछु भनेका छन्। अब त खेल पनि सकिन लागिसक्यो। पत्रको जवाफ आजभोलि नै आउँछ’ उनले दाबी गरे।
क्यान अध्यक्ष चतुरबहादुर चन्दलाई वुल्फत्रिपलसेभेनन्यूज सम्बन्धी राखेपले पठाएको पत्रको जवाफ कहिले पठाउने भनेर सोधेको थियो। उनले ‘छिट्टै पठाउने’ भने। ‘ह्राटएपमार्फत पत्र आएको थियो। मैले एनपिएल हेर्ने कमिटीलाई पठाएको थिए। अब उहाँहरूले पत्रको जवाफ पठाउनु हुन्छ होला’ उनले उकेरासँग भने।
क्यानका सदस्यलाई खेलकुदमन्त्रीको प्रश्न 'कानुन मान्नु पर्दैन?'
एनपिएलको मैदानमा गैर कानुनी काम भइरहेको सूचना युवा खेलकुदमन्त्री तेजुलाल चौधरीले क्यानका केही केन्द्रीय सदस्यहरूलाई मन्त्रालयमा बोलाएर एनपिएल आयोजक समितिले गरिरहेको गतिविधिबारे जानकारी लिएका थिए। छलफलमा संलग्न एक सदस्यका अनुसार मन्त्री चौधरीले मुख्य रूपमा खेल मैदानबाट भइरहेको जुवाको प्रचारबारे विशेष चासो राख्दै एनपिएल आयोजक समितिका संयोजक पारस खड्काको व्यवहारप्रति रिसाएका थिए।
'मन्त्रालयलाई पनि नटेर्ने, नेपालको कानुन पनि नटेर्ने। यसबारे अनुसन्धान गर्नुपर्छ। पारसलाई नेपालको कानुन लाग्दैन?' मन्त्रीको भनाई उदृृत गर्दै सहभागी एक सदस्यले भने।
पुष १, २०८१ सोमबार १९:५५:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।