एनपएिलको प्लेअफमा नपुगेका चार टिमका व्यथा : रोहित बाहेक तीनै क्याप्टेन फ्लप, कसैको भाग्य चलेन, कसैको ब्याट र बल

एनपएिलको प्लेअफमा नपुगेका चार टिमका व्यथा : रोहित बाहेक तीनै क्याप्टेन फ्लप, कसैको भाग्य चलेन, कसैको ब्याट र बल

काठमाडौँ : नेपाल प्रिमियर लिग सोमबारको सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सले आफ्नो अन्तिम खेल खेलेसँगै प्लेअफ खेल्ने टोलीको टुङ्गो लाग्यो। तालिकाको शीर्ष चारमा रहँदै सुदूरपश्चिम, जनकपुर, चितवन र कर्णालीले प्लेअफ खेल्दा काठमाडौँ, पोखरा, लुम्बिनी र विराटनगर प्रतियोगिताबाट बाहिरिए।

प्लेअफको नतिजासम्म पुग्दा लिग सुरु हुनु अगाडि निकै चर्चामा रहेका टिम फुस्सा भए भने निकै कमजोर मानिएका टिमले मै हुँ भन्ने टिमलाई पछारेर अगाडि बढे। कुनै टिमले निकै राम्रो प्रदर्शन गरे पनि उसको भागमा जीत परेन। कसैले भने नसोचेको जित निकाले।

लिगमा सबैले समान सात–सात खेल खेल्दा कुनै पनि टोली अपराजित रहन सकेनन्। सुदूरपश्चिम चितवनसँग एक खेल हार्यो। जनकपुर र सुदूरपश्चिम र चितवनसँग हार्यो। तेस्रो स्थानमा रहेको चितवनले लिग चरणका तीन खेल हार्यो। यो टोली कमजोर भनिएका लुम्बिनी र विराटनगरसँगै कर्णालीसँग हारेको थियो।

आज हामी लिग चरणका खेल सकिँदा कुन टिमको प्रदर्शन कस्तो रह्यो भन्ने बारेमा यहाँ चर्चा गर्दैछौँ। सुरु गरौँ तालिकाको पुच्छरमा रहेको टोलीबाट।

लुम्बिनी लायन्स अभागी टोली

लिग सुरु भएको पाचौं दिनमा बल्ल पहिलो खेल खेलेको लुम्बिनीले सबैभन्दा पहिला आफ्नो सात खेल सक्यो। पहिलो खेलमा सबैभन्दा धेरै एक सय ९१ रन बनाए पनि त्यसलाई डिफेन्ड गर्ने बलर नहुँदा टिम विराटनगरसँग पराजित भयो। लुम्बिनीले पहिलो दिन बनाएको रन एनपिएलको आजसम्म सबैभन्दा धेरै स्कोर हो।

लुम्बिनीको दोस्रो खेल थियो पोखरासँग। तर पराजित भयो। टी-२० फर्म्याटमा एक सय ७१ रनको लक्ष्य राम्रै मानिन्छ। यही लक्ष्य दिएको थियो लुम्बिनीले पोखरालाई। तर यो खेलमा पनि लुम्बिनीको बलिङ चलेन। दोस्रो खेलमा एक विकेट पनि लिन नसकेर पोखरासँग १० विकेटले हार्यो।

तेस्रो खेलमा सुदूरपश्चिमले एक सय ८८ रनको लक्ष्य दियो। लक्ष्य पछ्याएको लुम्बिनी एक सय ४२ रनमा समेटियो। अन्य खेलमा कप्तान रोहित पौडेलको ब्याटिङ चलेकै थियो। तर यो खेलमा उनको ब्याट चलेन।

जनकपुरसँग भएको चौथो खेलमा एक रनले पराजित भयो लुम्बिनी। अन्तिम ओभरमा सन्दीप जोराले ब्याटिङ सेन्स देखाउन नसक्दा खेल लुम्बिनीको हातबाट बाहिर गयो।

चार खेलमा लगातार हारिरहेको टोलीले पाचौं खेलमा बल्ल जित निकाल्यो। तर जित ढिला भइसकेको थियो। पाचौं खेलमा लुम्बिनीले चितवनलाई हरायो। छैटौँ खेलमा काठमाडौँसँग हारेको लुम्बिनी सातौँ खेलमा कर्णालीसँग पनि हार्दै लिगबाट बाहिरियो।

लुम्बिनीको सातै खेलमा ब्याटिङभन्दा पनि बलिङमा समस्या देखियो। अलराउन्डरको रूपमा ल्याइएका बेन कटिङले बलिङ गरेनन्। उनलाई ब्याटरको रूपमा मात्र ल्याइएको हुनसक्ने सङ्केत कप्तान पौडेलले गरेका पनि थिए।

कप्तानका रूपमा पौडेलले राम्रो ब्याटिङ गरे। उनी अहिलेसम्म पनि लिगको सबैभन्दा बढी रन स्कोरर हुन्। उनले दुई सय ७९ रन बनाएका छन्। तर उनको प्रयास टिमलाई जिताउन पर्याप्त भएन।

यो टिममा विदेशी खेलाडीको रूपमा साद बिन जफर, उन्मुक्त चन्द, टम मोर्स र रेमन सिमोन्ड रहेका थिए। टम मोर्स र साद बिन जफर केही चलेन पनि उन्मुक्त चन्द र रेमन सिमोन्डसका लागि लिग बिर्सन लायक बन्यो।

पोखरा एभेन्जर्स रेकर्ड मेकरमै सीमित

नेपाल प्रिमियर लिगकै सबैभन्दा महँगो टोली पोखराले एनपिएलमा राम्रै रेकर्डहरू बनायो। तर ती रेकर्ड प्लेअफमा पुग्न सहयोगी बनेनन्। तीन करोड ५७ लाख रुपैयाँमा खरिद गरिएको यो टोली अङ्क तालिकामा छैटौँमा रहेर प्रतियोगिताको बिट मार्यो। टिमले हारबाट प्रतियोगिताको सुरु गरेको थियो, हारबाटै लिगको अन्त्य गर्यो।

टिमको प्रशिक्षक राजीव कुमारलाई पितृशोक हुँदा केही समय टोली नेतृत्वहीन समेत रह्यो। टिममा  नेदरल्याण्डका बास डे लिड, वेस्ट इन्डिजका रेमोन रेइफर, इंग्ल्याण्डका म्याट क्रिचले, स्कटल्यान्डका माइकल लिस्क र अमेरिकाका आन्डोस गौस थिए। बास र रेमोनले लिगमा उत्कृष्ट प्रदर्शन गर्दा अन्यको प्रदर्शन सम्झन लायक रहेन।

कप्तान कुशल भुर्तेल न ब्याटिङमा जमे न त बलिङमै। उनी लयमै देखिएनन्। पोखराका लागि सबैभन्दा खराब प्रदर्शनै क्याप्टेनको रह्यो। उनले अन्तिममा त्यसको जिम्मा लिए पनि।

पोखराको पहिलो खेलदेखि नै टिमको फिल्डिङ अनि खेलको मध्यक्रमको ब्याटिङ लाइनमा समस्या देखिएको थियो। अन्तिम खेलसम्म पनि यो कमजोरीमा सुधार देखिएन। नतिजा प्लेअफका लागि प्रतिस्पर्धी टिममा समेत पर्न सकेन।

पोखराले एनपीएलमा पहिलो प्रतिस्पर्धा चितवनसँग भयो। टस जितेर फिल्डिङ रोजेको टिमलाई चितवनले जितका लागि एक सय ६२ को टार्गेट दियो। तर पोखरा १३.२ ओवरमा ७४ रनमै समेटियो। पोखराका ब्याटरले चितवनका बलर धान्नै सकेनन्।

जनकपुर बोल्ट्ससँगको दोस्रो खेलमा पनि पोखराले जित निकाल्न सकेन। पोखराले जितका लागि १ सय ३९ रनको चुनौती दिएकोमा जनकपुरले १७ बल बाँकी हुँदै लक्ष्य पुरा गरेर ७ विकेटले खेल जित्यो।

लुम्बिनी लायन्ससँगको तेस्रो प्रतियोगितामा भने पोखराले शानदार जित मात्र निकालेन, एनपिएलमा रेकर्डको वर्षा गरायो। तेस्रो खेल पोखराले १० विकेटले जित्यो।

चौथो खेलमा कर्णाली याक्ससँग सात विकेटले पराजित भयो। विराटनगर किङस्सँगको खेल निकै टफ भयो। विराटनगरले सात विकेट गुमाएर १४० रनको चुनौती दिएको थियो।

पोखराले निर्धारित ओवरमा जित निकाल्न सकेन। रन बराबर भयो। एनपिएलमा पहिलो खेल सुपरओवरमा गयो। सुपरओवरमा खेल पोखराको पक्षमा गयो। सुपरओवरमा खेल जित्ने एनपिएलको पहिलो टिमको रेकर्ड पोखराको पक्षमा रह्यो।

प्लेअफका लागि टिमको सकस सुरु भइसकेको थियो। बाँकी रहेको दुई खेल जितेमा प्लेअफमा पुग्ने सम्भावना थियो। तर अन्य खेलमा नचलेका काठमाडौँ गोर्खाज्का ब्याटर पोखरासँगको खेलमा चलिदिए। छैटौँ खेल पोखराले गुमाएसँगै प्लेअफमा जाने सम्भावना भाग्य भरोसामा पुग्यो। चितवनले खेल जितेसँगै यो सम्भावना पनि सकियो।

विराटनगर किंग्स ह्यापिनेस नपाएको टोली

सन्दीप लामिछाने नेतृत्वको कप्तानीमा रहेको टोली विराटनगर पनि आफूलाई लिग चरणसम्म मात्रै कायम राख्यो। उसले खेलमा स्टेपअप गर्न सकेन। सात मध्ये पाँच खेल हारेको टोली अहिले तालिकाको सातौँ स्थानमा छ।

यो टोलीका लागि सबैभन्दा खराब प्रदर्शन कप्तान सन्दीप लामिछाने आफैँले गरे। सात खेलमा उनले ६ विकेट मात्र लिन सके, त्यसमा पनि अन्तिम खेलमा मात्र लामिछानेले तीन विकेट लिएका थिए। त्यसअघिका कुनै खेलमा कप्तान चल्न सकेका थिएनन्।

टिमले राम्रै रकम खर्चेर ल्याएका विदेशी खेलाडीहरू मार्टिन गुप्टिल, आकिब इलियास, क्रिस सोल, इस्मत आलम, बसीर अहमद र स्कट एडवार्ड खासै चल्न सकेनन्। मार्टिन र स्कट एकाध खेलमा बाहेक चल्न सकेनन्। निरन्तर हारको दोष कप्तानले ड्रेसिङ रुमको ह्यापिनेसलाई दिए। उनले प्रेस कन्फ्रेन्समा ड्रेसिङ रुममा ह्यापिनेस नभएको दाबी गरेका थिए। तर कारण खुलाएनन्।

लिगको उद्घाटन खेलमा जनकपुरसँगको पहिलो खेल विराटनगरले हार्न पुग्यो। टस हारेर पहिला ब्याटिङमा तानिएको उसले १२७ रन बनाए पनि त्यसलाई जनकपुरले १५.३ ओभरमै भेट्टाएर आठ विकेटको जित निकाल्यो।

दोस्रो खेलमा टस जितेर फिल्डिङ रोजेको टोलीलाई सुदूरपश्चिमले १८२ रन बनायो। लक्ष्य पछ्याउने क्रममा विराटनगर ९२ रनमा अलआउट हुँदै ९० रनले पराजित भयो। तेस्रो खेलमा लुम्बिनीले दिएको १९२ रनको लक्ष्य भेट्टाउँदै विराटनगरले सबैभन्दा ठुलो रन चेज गर्यो। त्यो खेलमा लोकेस बमले ७० भन्दा बढी रन बनाएको थियो।

चौथो खेलमा कर्णालीले दिएको १३४ रनको लक्ष्य पछ्याएको टोली १२७ रनमा समेटियो। यो खेल उसले सात रनले हार्यो। पाँचौँ खेल पोखरासँग भएकोमा सुपर ओभरसम्म पुग्यो। आफ्नो बलिङ फिगर अन्यको भन्दा खराब भए पनि कप्तान लामिछाने आफैँले सुपर ओभर गरे। जहाँ उनी नराम्रोसँग चुटिए र टोली पराजित भयो। सन्दीप आफैँले पनि त्यसलाई गल्तीको रूपमा स्विकारिसकेका छन्।

छैटौँ खेलमा टस जितेर १८१ रन बनाएकोमा चितवनले लक्ष्य भेट्टाउन सकेन। चितवनले १३० रनमा मात्र रहँदा विराटनगरले ५१ रनले खेल जित्यो। तर, यति बेलासम्म प्लेअफको लागि धेरै ढिला भइसकेको थियो।

लिगको अन्तिम खेलमा विराटनगरका लागि प्रतिष्ठाको मात्र लडाइँ थियो। टस हारेर ब्याटिङमा तानिएको टोलीले ११८ रनको लक्ष्य दियो। त्यसलाई काठमाडौँले १८.१ ओभरमा नौ विकेट गुमाएर भेट्टायो।

काठमाडौँ गुर्खाज लय नमिलेको टोली

प्लेअफको झिनो आशा बोकेर अन्तिम दिनसम्म पनि कुरेर बसेको टोली हो-काठमाडौँ गुर्खाज। सोमबार भएको अन्तिम लिग खेलको नतिजामा काठमाडौँको प्लेअफमा पुग्ने अलिअलि भए पनि धुकधुकी बाँकी नै थियो।

तर, दोस्रो इनिङ्सको दोस्रो हाफमा पुगेसँगै त्यो पनि बाँकी रहेन। चार खेलमा जित र तीनमा हार व्यहोरेको टोली आठ अङ्कसहित पाँचौँ स्थानमा छ। समान आठ अङ्क भएको कर्णालीले प्लेअफमा स्थान बनाउँदा काठमाडौँ भने आउट हुन पुग्यो।

पहिलो खेलमा चितवनसँग पाँच विकेटले हारेको काठमाडौँले दोस्रो खेलमा कर्णालीलाई तीन विकेटले हराएको थियो। तेस्रो खेलमा सुदूरपश्चिमसँग ७३ रनको ठुलो हार व्यहोरेको उसले चौथो खेलमा कमब्याक गर्दै लुम्बिनीलाई १८ रनले हरायो।

पाँचौँ खेलमा जनकपुरसँग पाँच विकेटले हारेको काठमाडौँले छैटौँ खेलमा पोखरालाई ६ विकेटले हरायो भने अन्तिम खेलमा विराटनगरलाई एक विकेटले पराजित गर्यो।

टोलीमा भएका विदेशी खेलाडीहरू स्टेफेन स्कनाजी, ड्यान डचवेट, माइकल लेभिट, जेरार्ड इरासमस लगायतले ब्याटिङमा आफ्नो कमाल देखाउन सकेनन्। बलिङमा सुधारिएको प्रदर्शन गरे पनि उनीहरूको प्रयास टोलीका लागि लाभदायक रहेन।

नेपाली खेलाडीको कुरा गर्दा भीम सार्कीले टोलीमा योगदान दिन सकेनन्। कप्तान करण केसीको व्यक्तिगत प्रदर्शन बिर्सन लायक रह्यो। हार्ड हिटरको रूपमा परिचय बनाएका शङ्कर राना र रखिद खानको हार्ड हिटिङ देख्न पाइएन।

पुष १, २०८१ सोमबार १८:४८:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।