नक्कली भुटानी शरणार्थी प्रकरण : बेचन झा र प्रतिक थापालाई उच्च अदालतले पनि छाड्न मानेन

नक्कली भुटानी शरणार्थी प्रकरण :  बेचन झा र प्रतिक थापालाई उच्च अदालतले पनि छाड्न मानेन

काठमाडौं : उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका बेचन झालाई छोड्न अस्वीकार गरेको छ।

गत भदौ २ मा जिल्ला अदालत काठमाडौंले ठगी, लिखत किर्ते, राज्यविरूद्ध र संगठित अपराधको आरोपमा पुर्पक्षका लागि थुनामा पठाएका झालाई उच्च अदालत पाटनले पनि त्यही निर्णय सदर गरेको हो। 

त्यसअघि जिल्ला अदालत काठमाडौंले आफूलाई गैरकानूनी रुपमा थुनामा पठाएको भन्दै झाले उच्च अदालत पाटनमा निवेदन दिएका थिए।

पुर्पक्षका लागि थुनामा रहेका प्रतिक थापालाई पनि अदालतले थुनामै राख्न जिल्ला अदालत काठमाडौंको आदेश सदर गरेको छ। पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरासमेत रहेका प्रतिक थापाले पनि त्यसअघि जिल्लाबाट भएको आदेशको पुनर्विचार गर्न भन्दै उच्च अदालतमा निवेदन दिएका थिए। 

गत बिहीबार न्यायाधीशहरू अन्जु उप्रेती ढकाल र कैलाशप्रसाद सुवेदीको संयुक्त इजलासले बेचन झा कारागारमै राख्न आदेश दिएको अदालतका सूचना अधिकारी अर्जुनप्रसाद आचार्यले जानकारी दिए।

गत असार १४ मा झा र थापा पक्राउ परेका थिए। उनीहरू लामो समयसम्म फरार रहँदै आएका थिए।

प्रहरी अनुसन्धानमा झाले राजनीतिक नेतृत्वलाई मिलाउने जिम्मा लिँदै तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणसँग गिरोहको सदस्यको भेटघाट गराएकोसम्म खुलेको छ।

तत्कालीन गृहसचिव टेकनारायण पाण्डेसँग पनि उनको सम्बन्ध खुलेको छ। गिरोहका नाइके देखिएका केशव दुलाल र सानु भण्डारीसँग पनि उनको सम्बन्ध रहेको खुल्यो।

पहिला यिनको नाम जोडिएको थिएन। वैशाख २६ मा रामशरण केसी पक्राउ परे। अनुसन्धानमा केसीले झालाई दुई करोडको चेक दिएको प्रमाण फेला परेपछि उनीबारे अनुसन्धान भएको थियो।

अनुसन्धानमा प्राप्त तथ्यले कांग्रेसका उच्च तहका नेताहरूसँग झाको निकट सम्बन्ध रहेको देखाएको छ। गिरोहका सदस्यहरूलाई गृहका अधिकारीसँग सम्बन्ध बनाउन उनले समन्वय गरेकोसम्म खुलेको छ। तर, उनले यी सबै आरोपहरू अस्विकार गर्दै आएका छन्।  

पुष १, २०८१ सोमबार १८:२८:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।