‘फर्की फर्की’मा अनमोललाई ५० लाख दिँदा डुबेका रोहित, ‘माइतीघर’मा केदारलाई ५० लाख दिँदा पनि डुबियो भने!
काठमाडौं : फिल्म ‘ह्रस्व दीर्घ’को निर्माण टिमले आफूहरूले महँगो लगानी गरेको दाबी गर्दै आएको छ। फिल्म निर्माणमा महँगो लगानी गरेको भनिएपनि निर्माण टिमले पब्लिसिटीमा भने उस्तोविधि खर्च गर्न सकेन। जति गर्यो सुखदुख। तर, केही निर्माताहरू एउटा फिल्म चल्दैमा पब्लिसिटीका लागि नै करोड खर्च गर्छु भन्न थालेका छन्। भलै, फिल्मको व्यापारले निर्मातालाई सुरक्षित गराउँछ भन्ने टुङ्गो छैन।
निर्माण गर्न लागिएको फिल्म ‘माइतीघर’का निर्माता रोहित अधिकारीले यो फिल्मको पब्लिसिटीका लागि एक करोड खर्चिने धाक लगाइरहेका छन्। यति मात्र होइन, यस फिल्मका मुख्य कलाकार केदार घिमिरे (माग्ने बुढा)लाई ५० करोड पारिश्रमिक दिएको ठुलै हल्ला चलाए।
उनी आफैंले लगानी गरेको यसअघिको फिल्म ‘फर्की फर्की’मा चार करोडमा बनेको दाबी गरेका थिए। तर, दुखलाग्दो कुरा के भने, यो फिल्मले ५ करोड हारहारीको ग्रस कलेक्सन गर्यो। यसको आधा रकम मात्रै निर्माताले पाउने हो भने, साढे २ करोड भागमा पर्छ। अन्य तिरको पैसा घटाउँदा उनको हातमा २ करोड पर्न पनि मुस्किल पर्छ। समीक्षात्मक हिसाबले कमजोर मानिएको फिल्म ‘फर्की फर्की’मा रोहित डुबे।
यो फिल्मका लागि उनले अनमोल केसीलाई ५० लाख दिएको सामाजिक सञ्जालमा सुनाए। तर फिल्मको समीक्षा गतिलो आउन छाडेपछि उनी मिडियामाथि पनि खनिएका थिए।
अब उनी अर्को फिल्म ‘माइती घर’मा जुटेका छन्। यो फिल्ममा पनि माग्ने बुढालाई ५० लाखमा किनेको भन्दै लेखिरहेका छन्। आफ्नो फेसबुकमार्फत उनले पब्लिसिटीमा एक करोड छुट्याउने भनेर लेखेको कुरा अहिले हटाइसकेको देखिन्छ। उनी केही मिडियामा पनि एक करोड खर्च गर्छु भन्दै हौसिएका छन्।
तर, फिल्मका मुख्य अभिनेता केदार घिमिरेलाई ५० लाख, पब्लिसिटीमा एक करोड, प्रकाश सपूत, उपासना सिंह ठकुरी, बुद्धि तामाङ, दिकिला शेर्पाको पारिश्रमिक जोड्ने हो भने कति पुग्ला!
यसअघिको फिल्म ‘छ माया छपक्कै’ र ‘गाजलु’ले जस्तै पैसा कमायो भने त ठिकै छ। तर ‘फर्की फर्की’कै हालत भयो भने के होला? रोहितलाई थाहै होला, सबै फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’,‘छक्का पञ्जा’,‘१२ गाउँ’ हुँदैनन्। कतिपय फिल्म ‘फर्की फर्की’ जस्तो पनि हुन्छ।
पुष १, २०८१ सोमबार १८:०१:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।