सर्वोच्चको एकल इजलासले प्रतिकुल देखेको एमाले जग्गादान प्रकरण संयुक्त इजलासमा पुग्दा खारेज भयो
काठमाडौँ : पार्टी कार्यालय बनाउन एमालेको व्यवसायी मीनबहादुर गुरुङसँग जग्गा दान लिने काम पार्टीको पारदर्शितामाथिको गम्भीर प्रश्न भन्दै सर्वोच्च अदालतको एकल इजलासबाट अन्तरिम आदेश जारी भएको रिट संयुक्त इजलासबाट खारेज भएको छ।
कात्तिक १२ मा न्यायाधीश सुनिलकुमार पोखरेलको पार्टी कार्यालयका लागि व्यवसायीसँग जग्गा दान लिने काम प्रथम दृष्टिमै कानुन अनुकूल नदेखिएको टिप्पणीसहित अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।
सोमबार रिटमाथि सुनुवाइ गर्न न्यायाधीशद्धय अब्दुल अजिज मुसलमान र बालकृष्ण ढकालको इजलासले रिट खारेजको फैसला गरेको छ। के आधारमा रिट खारेज भयो त्यसको विस्तृत विवरण भने सार्वजनिक भएको छैन।
व्यवसायी मीनबहादुर गुरुङले एमालेका लागि करोडौँ मूल्यको जग्गा दान दिएसँगै त्यसमा आफ्नै लगानीमा भव्य भवन बनाउने घोषणा गरेका थिए। त्यस विरुद्ध अधिवक्ता ज्ञानबहादुर बस्नेतले रिट दायर गरेका थिए।
रिटको प्रारम्भिक सुनुवाइमा राजनीतिक दलको पारदर्शिताबारे गम्भीर प्रश्नहरू उठाइएको थियो। प्रधानमन्त्रीको दलले अर्का विपक्षीसँग जग्गा दान लिएको विषय सार्वजनिक चासो र निवेदकजस्ता आमनागरिकसँग सार्थक रूपमा सम्बन्ध जोडिएको विषय भएको भन्दै न्यायाधीश पोखरेलले गम्भीर कानुनी प्रश्न उठाएका थिए।
‘एमालेले अर्का विपक्षी भाटभटेनी डिपार्टमेन्ट कम्पनी प्रालिका सञ्चालक मीनबहादुर गुरुङबाट काठमाडौँ जिल्ला कीर्तिपुर नगरपालिका वडा नं. २ मैत्रीनगरमा १० रोपनी १४ आना जग्गा दान प्राप्त गरेको भन्ने कार्य प्रथम दृष्टिमा नै राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३८ (३) र ३८ (६) को व्यवस्था अनुकूल देखिएन’ आदेशमा लेखिएको थियो।
आदेशमा एमालेको जग्गा दान लिने काम राजनीतिक दलसम्बन्धी ऐनको दफा ३८ (५) मा भएको 'आर्थिक सहयोग प्रदान गर्दा दलबाट कुनै आर्थिक वा व्यक्तिगत फाइदा लिने सर्त गरी प्रदान गर्न र त्यस्तो फाइदा दिने गरी दलले सहयोग प्राप्त गर्न हुँदैन' भन्ने व्यवस्था विरुद्ध रहेको उल्लेख थियो।
सत्तामा रहेको दललाई फाइदा हुने, पारदर्शिता नहुने, निर्वाचन लगायत प्रक्रियाहरू प्रभावित भई अनुचित लेनदेनको अवस्था सिर्जना हुनसक्ने भनिएको आदेश संयुक्त इजलासमा आइपुग्दा काम लागेन। आखिरमा रिटै खारेज भयो।
भाटभटेनीका प्रमुख गुरुङले एमालेको केन्द्रीय कार्यालय बनाउन असोज २५ मा काठमाडौँको कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरमा १० रोपनी १४ आना जग्गा दान दिएका थिए।
त्यही दिन प्रधानमन्त्री केपी शर्मा ओलीको दम्पती र जग्गादाता गुरुङ दम्पतीले एमाले मुख्यालय भवनको शिलान्यास गरेका थिए। शिलान्यास कार्यक्रममै गुरुङले जग्गा मात्रै हैन आधुनिक भवन समेत आफैँले बनाएर एक वर्षमा एमालेलाई हस्तान्तरण गर्ने घोषणा गरेका थिए।
पुष १, २०८१ सोमबार १७:१७:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।