पीडित पक्षले पाउनुपर्ने किरिया खर्च दिलाउन घुस लिएको आरोपमा २ जना नासु अख्तियारको नियन्त्रणमा

पीडित पक्षले पाउनुपर्ने किरिया खर्च दिलाउन घुस लिएको आरोपमा २ जना नासु अख्तियारको नियन्त्रणमा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिबासबाट खटिइ गएको टोलीले जिल्ला प्रशासन कार्यालय महोत्तरीको मुद्दा फाँटमा कार्यरत नायब सुब्बाद्वय अशोक कुमार यादव र दिनेश प्रसाद साहलाई नियन्त्रणमा लिएको छ। 

प्रवक्ता नरहरि घिमिरेले विज्ञप्ति जारी गर्दै नायव सुब्बा यादवले सवारी ज्यान कसुर मुद्दामा मृतक (पीडित पक्ष)ले पाउनुपर्ने किरिया खर्च तथा क्षतिपूर्ति बापतको रकम उपलब्ध गराउन सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियारको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो। 

यादवलाई सेवाग्राहीबाट २० हजार रूपैयाँ घुस बापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको छ।

सेवाग्राहीसँग घुस माग गरी लिएको पुष्टि भएसँगै यादव र साहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो २० हजार रूपैयाँ कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ। 

पुष १, २०८१ सोमबार १६:५८:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।