मदन भण्डारीको हत्या सन्दर्भमा आफूले बोलेको भ्वाइस सार्वजनिक गर्न प्रधानमन्त्री ओलीलाई वामदेवको चुनौती

मदन भण्डारीको हत्या सन्दर्भमा आफूले बोलेको भ्वाइस सार्वजनिक गर्न प्रधानमन्त्री ओलीलाई वामदेवको चुनौती

काठमाडौं : राष्ट्रिय सभा सदस्य वामदेव गौतमले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई मदन भण्डारीको हत्याका सन्दर्भमा बोलेको आफ्नो आफ्नो भ्वाइस सार्वजनिक गर्न चुनौती दिएका छन्।  

आज एक विज्ञप्ति जारी गर्दै गौतमले प्रधानमन्त्रीका स्वकीय सचिव राजेश शाक्यसँग भएको भनिएको भ्वाइस रेकर्ड सार्वजनिक गर्न चुनौती दिए। 

गत शुक्रबार आदिवासी जनजाति महिलाहरूको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले वामदेव गौतमले आफ्नो राजीनामा मागेको प्रसंग सुनाएका थिए। मदन भण्डारीको हत्यासँग सम्बन्धित एक भिडियो हेरेर गौतमले आफ्नो राजीनामा मागेको ओलीले दाबी गरेका थिए।

त्यसपछि गौतमले ओलीका स्वकीय सचिव शाक्यको फोनमा भएको संवादलाई ओलीले प्रचारको विषय बनाएर आफ्नो बदनाम गर्ने कोसिस गरेको भनेका छन्।

विज्ञप्तिमा गौतमले मदन भण्डारी हत्यासम्बन्धी कथित निष्कर्ष भएको लिंक आफूलाई प्राप्त भएको र त्योबारे कुरा गर्नका लागि आफूले ओलीलाई फोन गरेको तर, नलागेपछि राजेशको नम्बरमा फोन गरेको उल्लेख गरेका छन्। 

‘मदन भण्डारी हत्यासम्बन्धी कथित निष्कर्ष भएको लिंक मेरो फोन र नम्बरमा आयो। हेरेपछि म छाँगाबाट खसेजस्तो भएँ। त्यसपछि मैले आफ्नो पहिलो कर्तव्य तपाईंबाटै जानकारी लिने हो भन्ने ठानेँ। त्यसपछि मैले मेरोमा भएको तपाईंको फोनमा कल गरेँ, तर फोन लागेन। त्यसपछि मैले क. राजेशलाई उहाँकै फोनमा लिंक पठाइ दिएँ र तुरुन्तै कल गरेँ, उहाँले कल रिसिभ गर्नु भयो र सदा झैँ नमस्कार कमरेड भन्नु भयो।’ 

राजेशसँग यो भन्दा बढी आफूले एक शब्द पनि नबोलेको दाबी गर्दै गौतमले फोन नम्बर राजेशकै भएको र उनलाई धुलोमा खेल्ने अवस्थादेखि आफूले चिनेको बताएका छन्। 

‘यसलाई केपीले प्रचारको विषय बनाएर मेरो बदनाम गर्ने तुच्छ कोसिस गर्नुहोला भन्ने मलाई लागेको थिएन। क. केपी म तपाईंलाई चुनौती दिन्छु, मेरो भ्वाइस रेकर्ड सार्वजनिक गरिदिनोस्। पिएमको नाताले भ्वाइस रेकर्ड निकाल्न सकिहाल्नु हुन्छ’, गौतमले भनेका छन्। 

त्यसअघि ओलीले भनेका थिए, ‘कमरेड के छ हालखबर भनें। ठिकै छ भन्नुभयो। कुरा गर्दै गइयो। अन्तिममा त तिम्रो ठूलोबालाई भन्देऊ- प्रधानमन्त्री र अध्यक्षबाट पनि राजीनामा गर्न भनेर। यस्तो अपराध गरेर बस्न पाइन्छ भनेर वामदेवजी एकछिन पड्किनुभयो। हस् हजुर भनेर भनें मैले। के बहस गरिराख्नु, उहाँलाई समेत भ्रम पर्ने गरी कसैले भिडिओ बनाएछ।’

पुष १, २०८१ सोमबार १६:०४:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।