एनपिएलको प्लेअफ चरण पुरा, यसरी छानिने छन् फाइनलका लागि दुई टिम

एनपिएलको प्लेअफ चरण पुरा, यसरी छानिने छन् फाइनलका लागि दुई टिम

काठमाडौँ : नेपाल प्रिमियर लिगको सोमबारको खेलसँगै प्लेअफका चार टोली पक्का भयो। सोमबार भएको सुदूरपश्चिम र कर्णाली याक्सबीचको खेलको नतिजाका आधारमा काठमाडौँ गुर्खाज् पनि प्लेअफमा पुग्ने सम्भावना जीवित थियो।

तर कर्णाली याक्स पराजित भए पनि रन रेटमा अगाडि हुँदा उ चौथो टिमको रूपमा प्लेअफ चरणमा प्रवेश गर्यो। प्लेअफमा अङ्क तालिकाको आधारमा सोमबारको खेल जितेको सुदूरपश्चिम रोयल्स शीर्ष स्थानमा छ। दोस्रोमा जनकपुर बोल्ट्स रहेको छ। तेस्रोमा चितवन राइनोज र चौथोमा कर्णाली याक्स रहेको छ।

एनपिएलको प्लेअफ चरणको पहिलो खेल तेस्रो र चौथो नम्बरमा रहेका टिम चितवन र कर्णालीबिच हुनेछ। यो इलिमिनेटर खेल हो। बुधवार बिहान ९ बजे हुने खेलमा जुन टिमले जित्छ उ क्लिफायरको खेलका लागि छनौट हुनेछ। पराजित टिम लिगबाट बाहिरिनेछ।

पहिलो क्वालिफायर खेल भने पहिलो र दोस्रो नम्बरमा रहेका सुदूरपश्चिम र जनकपुरबीच हुनेछ। बुधवार नै दिउँसो १ बजे हुने पहिलो क्वालिफायरमा जसले जित्छ उ फाइनलमा प्रवेश गर्नेछ। पहिलो क्वालिफायरमा हारेको टिमले इलिमिनेटर खेलमा जितेर आएको टिमसँग दोस्रो क्वालिफायर खेल खेल्नेछ। यसमा जसले जित्छ उ पहिलो क्वालिफायरको विजेता टिमसँग फाइनलमा प्रतिस्पर्धा गर्न पुग्नेछ।

पहिलो क्वालिफायर र दोस्रो क्वालिफायर खेलका विजेताबिच उपाधिका लागि शनिवार मध्यान्ह १२ बजे फाइनल खेल हुनेछ।

पुष १, २०८१ सोमबार १४:५१:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।