रविविरुद्धको प्रहरी प्रस्तावित राय सरकारी वकिलकोमा, तीन अभियोग लगाउन सिफारिस

रविविरुद्धको प्रहरी प्रस्तावित राय सरकारी वकिलकोमा, तीन अभियोग लगाउन सिफारिस

काठमाडौँ : जिल्ला प्रहरी कार्यालय कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथिको सुर्यदर्शन सहकारी ठगीको अनुसन्धान सकाएर प्रस्तावित राय सुझाव सरकारी वकिलको कार्यालय कास्कीमा बुझाएको छ।

प्रहरीले सोमबार अनुसन्धानबाट प्राप्त प्रमाणका आधारमा लामिछानेमाथि सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउने रायसहितको प्रस्तावित राय र सुझाव प्रतिवेदन बुझाएको हो।

प्रतिवेदन आएकोबारे जिल्ला सरकारकी वकिलको कार्यालयका अधिकारीले पुष्टि गरे। रवि दुई महिना अगाडि पोखरामा रहेको सुदर्शन सहकारी ठगीमा संलग्न रहेको आरोपमा काठमाडौँमा पक्राउ परेका थिए।

सो सहकारीमा रहेको बचतकर्ताहरूको रकम अपचलनबारे पहिला नै मुद्दा गइसकेको छ। अब रविविरुद्ध पूरक अभियोग पत्र दर्ता हुनेछ।

अदालतले मुद्दाको तयारीको प्रयोजनका लागि यस अगाडि न्यायिक हिरासतमा राख्ने म्याद थप गरेको थियो। सो म्याद सकिनु अगाडि नै जिल्ला अदालत कास्कीमा मुद्दा दायर गर्ने सरकारकी वकिलको तयारी देखियो।

सहकारी कानुन विपरीत प्रालिमा अवैध रुपमा रकम लगेर ठगि गरेको पहिलो दाबी देखिन्छ। यसमा रविसँगै छविलाल जोशीसहितलाई समेत प्रतिवादी बनाउन सिफारिस गरिएको छ। तीन भन्दा बढी ब्यक्ती संलग्न रहेर ठगी गरेको दाबीसहित संगठित अपराधको समेत सिफारिस भएको देखियो।

रविको सम्पत्तिको अनुसन्धानमा स्रोत नखुलेको कारोबार देखिएको भन्दै उनीमाथि सम्पत्ती शुद्धीकरणमा समेत अभियुक्त बनाउन माग गरिएको छ।

रविविरुद्ध कास्कीसँगै काठमाडौँ, चितवन, बुटवल र वीरगन्जमा समेत सहकारी ठगी सम्बन्धी मुद्दा छ। काठमाडौँको स्वर्णलक्ष्मी, चितवनको सहारा, बुटवलको सुप्रिम र वीरगन्जको सानो पाइला सहकारीको रकम रवि प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया प्रालिमा अवैध रुपमा लगेर ठगी गरेको सरकारी पक्षको दाबी छ।

अन्य चार स्थानमा उनको बयान सकिएको छ। उनको बयान सकिएसँगै अन्य जिल्लामा पनि अभियोग पत्र र पूरक अभियोग पत्रको तयारी भइरहेको देखियो। कास्कीसहितका जिल्लामा पहिला नै अभियोग पत्र गइसकेकाले रविविरुद्ध पूरक अभियोग पत्र दर्ता हुनेछ। काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीबारे भने अभियोग पत्र दर्ता भएको छैन। अब दर्ता हुने अभियोग पत्र नै पहिलो हुनेछ।

पुष १, २०८१ सोमबार १४:१२:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।