मेरो भ्वाइस र मेरो डान्स-२ को जजहरू फाइनल भए, पुरस्कार राशि एक करोड

मेरो भ्वाइस र मेरो डान्स-२ को जजहरू फाइनल भए, पुरस्कार राशि एक करोड

काठमाडौँ : मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको सिजन २ को निर्णायक  मण्डल चयन भएका छन्। मेरो भ्वाइस युनिभर्स सिजन २ को लागि वरिष्ठ गायक दीप श्रेष्ठ, सङ्गीतकार सुरेश अधिकारी, गायकहरू शिव परियार र पुष्पन प्रधान, गायिका अन्जु पन्त र तृष्णा गुरुङ निर्णायक (जज)को भूमिकामा छन्।

आयोजकका अनुसार मेरो डान्स युनिभर्स सिजन २ को निर्णायक मण्डलीमा वरिष्ठ कलाकार मिथिला शर्मा, नायक दिलीप रायमाझी, चर्चित अभिनेतृ शिल्पा मास्के, चर्चित कोरियोग्राफरहरु शंकर वि.सी., किरण थापा छन्।

मेरो भ्वाइस युनिभर्सको सिजन २ लाई रियालिटी सोको निर्देशन सुरेश पौडेलले गर्ने आयोजक संस्था इन्ट्रा–नेशनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले जानकारी दिएको छ। डान्स युनिभर्सको सिजन २ का लागि निर्देशन विषयमै अध्ययन पूरा गरेकी मोसमी गुरुङले निर्देशन गर्ने छिन्। कार्यक्रम रिमा विश्वकर्मा, नरेश भट्टराई, राजा राजेन्द्र पोख्रेल र नम्रता श्रेष्ठले चलाउने छन्।

दोस्रो संस्करणका लागि युरोप महादेशमा बेलायत र पोर्चुगलमा, पूर्वी एसियाका लागि थाइल्यान्ड, हङकङ र जापानमा, मध्यपूर्वका लागि दुबई र कतारमा अस्ट्रेलियाका लागि सिड्नीमा, भारतको लागि सिलिगुरी र मुम्बईमा, र नेपालका झापाको दमक, बाँकेको नेपालगन्ज, कास्कीको पोखरा र काठमाडौँमा अडिसनहरू आयोजना गरिने आयोजकले बताए।

विश्वभरिबाट स्थलगत अडिसनमा छनौट भएका कलाकारहरूलाई थप प्रतिस्पर्धाका लागि नेपालको राजधानी काठमाडौँ ल्याइने र भ्वाइसका लागि एक सय बिस र डान्सका लागि एक सय बिस गरी दुई सय चालीस प्रतिस्पर्धी काठमाडौँमा आउने छन्।

दुवै शोका विजेताहरूलाई १ करोड नेपाली रुपैंया पुरस्कार पाउने र दोस्रो हुनेलाई २५ लाख रुपैंया र तेस्रो हुनेलाई १० लाख पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएका छन्।

पुष १, २०८१ सोमबार ०१:०६:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।