पत्रकार महासंघको निर्वाचनमा कांग्रेस-एमाले भातृ संगठनकै बहुमत उम्मेदवार अनुमोदित, अध्यक्षमा निर्मला, महासचिवमा रामप्रसाद,कोषाध्यक्षमा गठबन्धनलाई सर्प्राइज

पत्रकार महासंघको निर्वाचनमा कांग्रेस-एमाले भातृ संगठनकै बहुमत उम्मेदवार अनुमोदित, अध्यक्षमा निर्मला, महासचिवमा रामप्रसाद,कोषाध्यक्षमा गठबन्धनलाई सर्प्राइज

काठमाडौँ : नेपाल पत्रकार महासंघको केन्द्रमा नेपाली कांग्रेसको भातृ संस्था नेपाल प्रेस युनियन र एमालेको भातृ संस्था प्रेस चौतारी नेपालका उम्मेदवारहरूले जितेका छन्। भातृ संस्थाको सहमति अनुसार बनेको संयुक्त प्यानललाई बहुमत पत्रकारहरूले मत दिएर अनुमोदन गरेका हुन्।

केन्द्रीय निर्वाचन समितिले आइतबार मध्यरात सार्वजनिक गरेको नतिजामा युनियनको विद्रोहीसहित माओवादी भातृ संस्था प्रेस सेन्टरबाट उम्मेदवार बनेकामध्येबाट कोषाध्यक्षले मात्र जितेका छन्।

अध्यक्षमा युनियन र चौतारीकी उम्मेदवार निर्मला शर्माले जितेकी छिन्। उनी एमालेको भातृ संस्था प्रेस चौतारीबाट उम्मेदवार बनेकी हुन्। उनको पक्षमा चार हजार २ सय ८२ पत्रकारले मत दिए। उनको प्रतिद्वन्द्वी बागी युनियन र प्रेस सेन्टरको समर्थन पाएका रमेश विष्टको पक्षमा ३ हजार २ सय ३ पत्रकारले मत दिए।

वरिष्ठ उपाध्यक्षमा पनि युनियन-चौतारी प्यानलका दीपक आचार्य विजयी भए। युनियनको सिफारिसमा उम्मेदवार बनेका उनको पक्षमा ४ हजार दुई सय ३० जना पत्रकारले मत दिए। उनको प्रतिद्वन्द्वी प्रेस सेन्टरका उम्मेदवार रोशन पुरीको पक्षमा २ हजार ८ सय ६ जना पत्रकारले मत दिए। उनी यस अगाडि युनियनसँगको गठबन्धनबाट महासंघको महासचिवमा निर्वाचित भएका थिए।

महिला उपाध्यक्षमा पनि कांग्रेसको युनियन र एमालेको चौतारीबाट उम्मेदवार बनेकी नितु पण्डितले जितिन्। चौतारीको आधिकारिक उम्मेदवार बनेकी उनको पक्षमा सबैभन्दा बढी चार हजार सात सय पाँच जना पत्रकारले मत दिए। समावेशी उपाध्यक्षमा पनि युनियन र चौतारीकै उमिदप्रसाद बागचन्दले जिते।

महासचिवमा युनियन र चौतारीकै उम्मेदवार रामप्रसाद दाहालले जिते। युनियनबाट आधिकारिक उम्मेदवार बनेका दाहालको पक्षमा ४ हजार ८४ पत्रकारले मत दिए। उनको प्रतिद्वन्द्वी प्रेस सेन्टरका लेखनाथ न्यौपानेको पक्षमा एक हजार नौ सय २९ पत्रकारले मत दिए। महासचिवका अर्का उम्मेदवार जन्मदेव जैशीले एक हजार एक सय ५८ मत पाए। महासचिवमा उम्मेदवारी दिएर उम्मेदवारी फिर्ताको समय सकिएपछि उम्मेदवारी फिर्ताको घोषणा गरेका युनियनका प्रकाश थापालाई पनि चार सय ८८ पत्रकारले मत दिए।

खुल्ला महिला, आदिवासी, मधेसी, दलित अनि एशोसिएट सचिवमा पनि दलगत आधारमा युनियन-चौतारीबाट आधिकारिक उम्मेदवार भएका रमेश खतिवडा, सोनी शर्मा, सविन प्रियासन,अशोककुमार तिवारी, प्रकाश धौलाकोटी र वैकुण्ठराज पराजुलीले जिते।

कांग्रेस-एमालेको भातृ संस्थाको गठबन्धनबाट उम्मेदवार बने पनि कोषाध्यक्षमा रामकृष्ण ज्ञवाली पराजित भए। उनको ठाउँमा प्रेस सेन्टर र युनियन विद्रोही समूहबाट उम्मेदवार बनेका रामकृष्ण अधिकारी विजयी भए।

केन्द्रीय सदस्यहरूमा पनि गठबन्धनकै उम्मेदवारहरू पत्रकारको रोजाइमा परे। खुल्ला केन्द्रीय सदस्यमा छविलाल तिवारी, भूपेन्द्र आचार्य, मुकुन्द प्रसाद भण्डारी, रामेश्वर कार्की र लवदेव ढुंगानाको पक्षमा बहुमत मत पर्यो।

कोशी प्रदेशबाट युनियन-चौतारीकै कमलमणि रिजाल, शंकर खरेलले जित्दा मधेसबाट राजेश कर्ण, अच्युतम् कुमार सापकोटा उठाएकोमा अच्युतम पराजित भएर राजु विश्वकर्माले जिते।

बागमती प्रदेशमा नवराज पथिक, नारायण अधिकारी आधिकारिक उम्मेदवार भएकामा मतादाता रहेका पत्रकारमध्ये बहुमतले युनियन-चौतारी प्यानलकै उम्मेदवार रोजे।

गण्डकी प्रदेशका गठबन्धनका उम्मेदवार केवि राना,कृष्ण केसीले जिते। लुम्बिनीमा रामराज पोखरेल, विकास बन्जाडेले नै जिते। कर्णालीमा पनि गठबन्धनकै उम्मेदवार तुलाराम पाण्डे, नगेन्द्र प्रसाद उपाध्यायले जिते।

सुदूरपश्चिममा योगेन्द्र बहादुर बलायर, सुरेश पन्तले नै जिते।

उपत्यका प्रदेशमा विनोद प्रसाद चौलागाई र पुष्करराज बुढाथोकीलाई युनियन र चौतारीले आधिकारिक उम्मेदवार बनाएकोमा सूर्य सुवेदी र अर्जुन पन्तले जिते। प्रतिष्ठानमा नरेन्द्र मानन्धर, सविता शर्मा आधिकारिक उम्मेदवार बनेकोमा वीरेन्द्र ओली र सविता शर्माले जिते। वीरेन्द्र प्रेस सेन्टरका उम्मेदवार थिए।

एशोसिएटमा युनियन- चौतारी गठबन्धनबाट पवित्रा मुडभरि र  मुक्तिबाबु रेग्मी उम्मेदवार बनेकोमा चौतारीकी पवित्राले जित्दा मुक्तिबाबुले हारे। उनको स्थानमा चौतारीकी बागी मनुका कुँवरले जितिन्।

महिला सदस्यमध्ये मधेसीमा रुवि कुमारी रौनियार, आदिवासीमा माला मालुङ्वा, खस आर्यमा लीला शाह योगी, दलितमा सिकेन्द्र पासवन, दलित महिलामा सावित्री रसाइली, आदिवासी जनजातिमा भरत जर्घामगर नै निर्वाचित भए। यी युनियन र चौतारीका आधिकारिक उम्मेदवार थिए।

आदिवासी जनजाति महिलामा देवीका घर्ती मगर निर्विरोध भएकी थिइन्। मधेसीमा राज करण महतो, मधेसी महिलामा ललिताकुमारी साह, अपाङ्गताबाट भूपराज बस्याल, अल्पसङ्ख्यकबाट लक्ष्मण थामी निर्वाचित भए।

लेखा संयोजकमा पनि युनियन-चौतारीकै केसी लामिछाने, सदस्यमा केशव प्रसाद बोहरा र रुक्मिणी पोखरेल निर्वाचित भए।

मंसिर ३०, २०८१ आइतबार २३:४६:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।