उकेरा टप फाइभ : ज्योति ग्रुप फुट्नुको कारणदेखि उकेराको खुलासापछि दुई अस्पतालको टेन्डर रद्दसम्म
काठमाडौँ : सत्तामा रहँदारहँदै प्रतिपक्षी दलझैँ सडकमा प्रदर्शन गर्न आउँदा झिनो सहभागी एमालेको शक्तीमापनको आधार बन्यो। त्यही आधारमा एमाले कमजोर भएको विश्लेषण सुरु भयो। पार्टी नेताहरूले तत्काल त्यसको प्रतिवाद गरेर साख जोगाउने प्रयास गरे पनि बिस्तारै पार्टीकै नेताहरूले पार्टीप्रतिको आकर्षण घटेको अनि एमाले छाड्ने कार्यकर्ता बढेको स्वीकार गर्न थालेका थिए।
तर पार्टीको केन्द्रीय सङ्गठन विभागले जिल्ला नेतृत्वमा रहेका नेताहरूलाई दुई दिने प्रशिक्षण कार्यक्रम दिँदा पार्टीको कमजोरी स्विकार्नुको साटो पार्टी नेतृत्वविरुद्ध कूप्रचार बढेको र यसको जमेर प्रतिवाद गर्ने सङ्कल्प सार्वजनिक गरे।
प्रशिक्षण कार्यक्रम सकिएपछि जारी प्रेस विज्ञप्तिमै ‘यो कार्यशाला पार्टी र नेतृत्वविरुद्ध षडयन्त्र र कुप्रचारको जमेर प्रतिवाद गर्दै पार्टी नीति, नेतृत्व र राजनीतिक कार्यदिशालाई जनताबीच स्थापित गर्ने सङ्कल्प गर्दछ’ उल्लेख गरियो।
जबकि सोही कार्यक्रमको प्रारम्भ गर्दा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र बढिरहेको गुटबन्दीतर्फ लक्षित गर्दै गुटबन्दी नगर्न निर्देशन दिएका थिए। उनले पार्टीमा विष्णु पौडेल र शङ्कर पोखरेलको गुट नरहेको दाबी गर्नु परेको थियो।
आइतबार बिहानै एक महिलाले आत्मदाह गरिन्। आत्मदाहको कारण खुलेन। तर घटनास्थलमा फेला परेको सुसाइड नोटमा उनले आफ्नो कारण दुई छोरा र श्रीमानले दुख पाएकाले आत्मदाह गरेको उल्लेख गरेकी थिइन्।
अब आइतबार उकेरामा प्रकाशित टप पाँच समाचार।
उकेरा प्रभाव: सेटिङको खुलासापछि बैतडी र दार्चुला अस्पतालले ‘सी–आर्म’ मेसिनको टेन्डर रद्द गरे
निश्चित कम्पनीको मेसिनको क्याटलगै स्पेशिफिकेशनमा राखेर जिल्ला अस्पताल बैतडी र दार्चुलाले अगाडि बढाएको ‘सी-आर्म’ मेसिनको टेन्डर रद्द भएको छ।
बैतडी र दार्चुला अस्पतालले भारतीय कम्पनी ‘स्क्यान रे’ कम्पनीको क्याटलग हुबहु स्पेशिफिकेशनमा राखेर महँगोमा पुरानो प्रविधिको सी-आर्म मेसिन किन्न टेन्डर आव्हान गरेका थिए।
उकेराले प्रमाणसहित सो टेन्डरमा भएको बदमासीको समाचार प्रकाशित गरेपछि दुवै अस्पताल प्रशासनले टेन्डर रद्द गरेका हुन्। दुवै अस्पतालले ‘सी–आर्म’ मेसिनको टेन्डर रद्द गर्दै सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) को विद्युतीय प्रणालीबाट समेत टेन्डर कागजात (बिड डकुमेन्ट) हटाइसकेका छन्।
पुरा समाचार : सेटिङको खुलासापछि बैतडी र दार्चुला अस्पतालले ‘सी–आर्म’ मेसिनको टेन्डर रद्द गरे
एनपिएलमा पोखरा एभेन्जर्सको रेकर्डै रेकर्ड, तर हारबाट सुरुवात, हारबाटै बिदाइ
पोखराको यात्राको प्रारम्भ सबैभन्दा महँगो टिमको रेकर्डबाट सुरु भएको थियो। लिगका प्रतियोगिताभर पोखराले रेकर्ड राखिरह्यो। तर आशा गरिएको खेलमा पनि जित भने निकाल्न नसक्दा सातमध्ये २ खेल जितेर चार अंकका साथ सातौँ स्थानमा खुम्चियो।
टिमको कोचको बुबाको मृत्युले टिम केही समय नेतृत्वहीन समेत रह्यो। टिमले आइपिएलको क्लब चेन्नई सुपर किङ्सका फिल्डिङ प्रशिक्षक राजीव कुमारलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो। टिममा नेदरल्याण्डका बास डे लिड, वेस्ट इन्डिजका रेमोन रेइफर, इंग्ल्याण्डका म्याट क्रिचले, स्कटल्यान्डका माइकल लिस्क र अमेरिकाका आन्डोस गौस थिए। बास र रेमोनले लिगमा उत्कृष्ट प्रदर्शन गरे।
विदेशी खेलाडीहरूले जमेर प्रदर्शन गर्दा मार्की प्लेयर हुँदै टिमको क्याप्टेन भएका कुशल भुर्तेल न ब्याटिङमा जमे न त बलिङमै लयमा देखिए। पोखराका लागि सबैभन्दा खराब प्रदर्शनै क्याप्टेनको रह्यो।
पुरा समाचार : एनपिएलमा पोखरा एभेन्जर्स : हारबाट सुरुवात, हारबाटै बिदाइ
दाजुभाइको झगडाले एक सय चार वर्ष पुरानो व्यापारिक घराना फुट्यो, पद्म ज्योतिले बनाए अलग्गै समूह
सम्पत्तिबारे दाजुभाइको विवादले एक सय चार वर्ष पुरानो व्यापारिक घराना ज्योति समूह विभाजित भएको छ। दाइ पद्म ज्योति र भाइ रूप ज्योतिबिच सम्पत्ति बाँडफाँडबारे लामो समयदेखि विवाद हुँदै आएको थियो।
दाई पद्म ज्योति अध्यक्ष रहेको कम्पनीबाट भाई रुप ज्योतिले हटाएको भन्दै सुरु भएको विवाद अन्तमा विभाजनमै पुगेको हो। भाइसँगको विवाद उत्कर्षमा पुगेपछि दाइ पद्म ज्योतिले आफ्नै नामबाट आइतबार नयाँ समूह ‘पद्म ज्योति समूह’ घोषणा गरे।
पुरा समाचार : दाजुभाइको झगडाले एक सय चार वर्ष पुरानो व्यापारिक घराना फुट्यो
प्रशासकीय अधिकृत पार्वतीको प्रसव पीडा र खुसी : अस्पताल जाँदा पनि डाक्टले ‘तपाईं जहिले एक्लै आउनु हुन्छ है’ भन्दा मन कटक्क खान्थ्यो
विवाह गरेको अर्को वर्ष हाम्रो सन्तान भइहाल्यो। श्रीमानले 'अलि छिटो भयो कि' भन्नु भएको थियो। तर, पढाई सकेर हामी दुवै जना करिअरमा पनि राम्रै गरिरहेको कारण मलाई त्यति धेरै सोच्नुपर्छ जस्तो लागेन। त्यो अनुभूति अप्ठ्यारो, रोचक अनि कस्तो-कस्तो हुने रहेछ। त्यसपछि श्रीमानको उदयपुरमा पोस्टिङ भयो। अनि म काठमाडौंमै भएँ।
त्यो बेला मैले श्रीमानको कमी खूब महसुस गरें। जँचाउन अस्पताल जाँदा पनि ‘तपाईं जहिले एक्लै आउनु हुन्छ है’ भनिदिनु हुन्थ्यो डाक्टरहरूले। मेरो मन कटक्क खान्थ्यो। गर्भावस्थाको पहिलो तीन महिना त खाना नरुच्ने, कमजोरी हुने जस्तो भयो। त्यसले गर्दा पनि हो कि, म कमजोर भइरहें। तौल पनि मेरो त्यति धेरै बढेको होइन। तर, हिँड्न सकस हुन्थ्यो।
पुरा समाचार : पार्वतीको प्रसव पीडा र खुसी : अस्पताल जाँदा डाक्टले ‘तपाईं जहिले एक्लै आउनु हुन्छ’ भन्दा मन कटक्क खान्थ्यो
राष्ट्र बैंकको प्रतिवेदन : आर्थिक वृद्धिमा मन्द गति, विदेशी मुद्रा सञ्चिति घट्यो
चालू आर्थिक वर्षको चार महिनामा आर्थिक वृद्धिदर र विदेशी मुद्रा सञ्चिति दुवै नकारात्मक देखिएको छ। आइतबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक प्रतिवेदनमा आर्थिक अवस्था सामान्य देखिन्छ।
‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनले चालु आर्थिक वर्षको सुरुवाती चार महिनामा आर्थिक वृद्धि मन्द रहेको र व्यापार घाटाको समस्या देखाउँछ। प्रतिवेदन अनुसार विदेशी मुद्रा सञ्चितिमा गिरावट आएको छ। महँगीको प्रभाव बढेको छ।
पुरा समाचार : राष्ट्र बैंकको प्रतिवेदन : आर्थिक वृद्धिमा मन्द गति, विदेशी मुद्रा सञ्चिति घट्यो
मंसिर ३०, २०८१ आइतबार २२:३५:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।