उकेरा प्रभावः सेटिङको खुलासापछि बैतडी र दार्चुला अस्पतालले ‘सी–आर्म’ मेसिनको टेन्डर रद्द गरे

उकेरा प्रभावः सेटिङको खुलासापछि बैतडी र दार्चुला अस्पतालले ‘सी–आर्म’ मेसिनको टेन्डर रद्द गरे

काठमाडौँ : निश्चित कम्पनीको मेसिनको क्याटलगै स्पेशिफिकेशनमा राखेर जिल्ला अस्पताल बैतडी र दार्चुलाले अगाडि बढाएको ‘सी-आर्म’ मेसिनको टेन्डर रद्द भएको छ।

बैतडी र दार्चुला अस्पतालले भारतीय कम्पनी ‘स्क्यान रे’ कम्पनीको क्याटलग हुबहु स्पेशिफिकेशनमा राखेर महँगोमा पुरानो प्रविधिको सी-आर्म मेसिन किन्न टेन्डर आव्हान गरेका थिए।

उकेराले प्रमाणसहित सो टेन्डरमा भएको बदमासीको समाचार प्रकाशित गरेपछि दुवै अस्पताल प्रशासनले टेन्डर रद्द गरेका हुन्। दुवै अस्पतालले ‘सी–आर्म’ मेसिनको टेन्डर रद्द गर्दै सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) को विद्युतीय प्रणालीबाट समेत टेन्डर कागजात (बिड डकुमेन्ट) हटाइसकेका छन्।

जिल्ला अस्पताल दार्चुलाले मंसिर २८ मा सूचना जारी गरेर मंसिर २७ को निर्णय अनुसार ‘सी–आर्म’ मेसिन खरिदका लागि भएको टेन्डर रद्द गरेको जनाएको छ।

जिल्ला अस्पताल, बैतडीका प्रमुख डा. सुशील विकले मंसिर २८ गते ‘सी–आर्म’को टेन्डर रद्द गर्ने निर्णय गरेको पुष्टि गरे। ‘हाम्रो २८ गतेको निर्णय अनुसार (सी–आर्मको टेन्डर रद्द गरिएको) हो,’आइतबार उकेरासँगको कुराकानीमा उनले भने।

बैतडीले आफ्नो वेबसाइटमा टेन्डर रद्दको सूचना राखेको छ। तर डाउनलोड गर्दा भने सूचना देखिएन।

सी–आर्मको प्राविधिक स्पेशिफिकेशनका विषयमा विवाद भएकाले टेन्डर रद्द गरिएको डा. विकले पुष्टि गरे। उनले प्राविधिक स्पेशिफिकेशनको विषयमा अध्ययन गरेर पारदर्शी हुनेगरी पुनः सी-आर्मको टेन्डर आह्वान गरिने बताए।


 

जिल्ला अस्पताल, दार्चुलाका प्रमुख डा. सञ्जीव श्रेष्ठले पनि प्राविधिक स्पेशिफिकेशनमा विवाद भएकाले सी–आर्मको टेन्डर रद्द गरिएको बताए।

 ‘(सी–आर्मको टेन्डर) विवादित भयो,’जिल्ला अस्पताल, दार्चुलाका प्रमुख डा. श्रेष्ठले उकेरासँगको कुराकानीमा आइतबार भने,‘विवादित भएर अहिले त्यही (रद्द) नै गर्यौँ।’

दुवै अस्पतालले सी-आर्म मेसिन किन्न एकै पाँच दिनको फरकमा टेन्डर आव्हान गरेका थिए। दुवै अस्पतालको खरिदका लागि स्पेशिफिकेशन एकै बायोमेडिकल इन्जिनियर आशुतोष भण्डारीले बनाएका थिए। अनि दुवै टेन्डरको स्पेशिफिकेशनमा एकै प्रकारले लक्ड गरिएको थियो।

उकेराको खोजमा टेन्डरमा मिलेमतो देखिएपछि मंसिर २४ मा ‘बैतडी र दार्चुला अस्पतालले किन्न लागेको ‘सी–आर्म’ टेन्डरको स्पेशिफिकेशनमा ‘स्क्यान रे’ कम्पनीको क्याटलग हुबहु’ शीर्षकमा समाचार सम्प्रेषण गरेको थियो।

टेन्डर स्पेशिफिकेशनका महत्त्वपूर्ण प्राविधिक प्रावधानहरू ‘स्क्यान रे’ उत्पादक कम्पनीको सी–आर्म मेसिनसँग मात्र मिल्ने बनाउन त्यसको क्याटलग जस्ताको त्यस्तै राखिएको र ‘मोबाइल सी–आर्म (फ्लोरोस्कोपी) मेसिन’को टेन्डरका लागि बनाइएको स्पेशिफिकेशन पुरै ‘लक्ड’ गरिएको प्रमाण उकेराले सार्वजनिक गरेको थियो।

जिल्ला अस्पताल दार्चुलाले ८४ लाख र जिल्ला अस्पताल बैतडीले ८० लाखमा एक–एक सेट सी–आर्म खरिद गर्ने गरी टेन्डर प्रक्रिया अगाडि बढाएका थिए। उकेराको समाचारपछि यी दुवै अस्पतालले सी–आर्मको टेन्डर रद्द गरे।

मंसिर ३०, २०८१ आइतबार २०:४६:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।