एनपिएलमा पोखरा एभेन्जर्सको रेकर्डै रेकर्ड, तर हारबाट सुरुवात, हारबाटै बिदाइ
काठमाडौँ : जितका लागि सुदूरपश्चिम रोयल्सले दिएको एक सय ५४ रनको टार्गेट पच्छ्याउँदै प्रशंसनीय प्रदर्शन गरे पनि विकेट जोगाउन नसक्दा पोखरा एभेन्जर्सको नेपाल प्रिमियर लिगको पहिलो सिजन यात्रा समाप्त भयो।
पोखरा यो सिजनको सबैभन्दा महँगो टिम हो। नेपाल टी-२० प्रालिले पोखरा एभेन्जर्सका लागि ३ करोड ५७ लाख बोली लगाएर किनेको थियो। यस अगाडिको टी-२० लिगमा पनि यही नामबाट नेपाल टी-२० प्रालि सहभागी भएको थियो।
सुदूरपश्चिम इम्पायर स्पोर्टस प्रालिले १ करोड ६८ लाखमा किनेको थियो। खेलमा टिमको मूल्यको मात्र अर्थ नहुने रहेछ। टिमको खेल अनि कहिलेकाँही भाग्य दुबै जोडिने रहेछन्। त्यसैले त महँगो टिम पोखरा प्लेअफबाटै बाहिरियो। सस्तो टिम प्लेअफमा पुग्दै लिगकै प्रमुख दाबेदार देखियो।
अङ्क गणितीय रूपमा चितवन राइनोजको जितसँगै पोखरा प्लेअफमा पुग्ने सम्भावना समाप्त भएको थियो। आइतबार सुदूरपश्चिमसँगको खेलमा एक सय ४८ मा अल आउट भएसँगै आठ फ्रेन्चाइज टिममध्ये सातौँ स्थानमा रहँदा पोखराको एनपिएल यात्रा सकियो।
पोखराको यात्राको प्रारम्भ सबैभन्दा महँगो टिमको रेकर्डबाट सुरु भएको थियो। लिगका प्रतियोगिताभर पोखराले रेकर्ड राखिरह्यो। तर आशा गरिएको खेलमा पनि जित भने निकाल्न नसक्दा सातमध्ये २ खेल जितेर चार अंकका साथ सातौँ स्थानमा खुम्चियो।
टिमको कोचको बुबाको मृत्युले टिम केही समय नेतृत्वहीन समेत रह्यो। टिमले आइपिएलको क्लब चेन्नई सुपर किङ्सका फिल्डिङ प्रशिक्षक राजीव कुमारलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो। टिममा नेदरल्याण्डका बास डे लिड, वेस्ट इन्डिजका रेमोन रेइफर, इंग्ल्याण्डका म्याट क्रिचले, स्कटल्यान्डका माइकल लिस्क र अमेरिकाका आन्डोस गौस थिए। बास र रेमोनले लिगमा उत्कृष्ट प्रदर्शन गरे।
विदेशी खेलाडीहरूले जमेर प्रदर्शन गर्दा मार्की प्लेयर हुँदै टिमको क्याप्टेन भएका कुशल भुर्तेल न ब्याटिङमा जमे न त बलिङमै लयमा देखिए। पोखराका लागि सबैभन्दा खराब प्रदर्शनै क्याप्टेनको रह्यो।
पोखराको पहिलो खेलदेखि नै टिमको फिल्डिङ अनि खेलको मध्यक्रमको ब्याटिङ लाइनमा समस्या देखिएको थियो। अन्तिम खेलसम्म पनि यो कमजोरीमा सुधार देखिएन। नतिजा प्लेअफका लागि प्रतिस्पर्धी टिममा समेत पर्न सकेन पोखरा।
हार-जित दुबैमा रेकर्ड
पोखराले एनपिएलमा पहिलो प्रतिस्पर्धा चितवन राइनोज्सँग गरेको थियो। टस जितेर फिल्डिङ रोजेको टिमलाई चितवनले जितका लागि एक सय ६२ को टार्गेट दियो।
तर पोखरा एभेन्जर्सका खेलाडीहरूले रन सय पनि पूर्याउन सकेनन्। १३.२ ओवरमा सबै विकेट गुमाएर टिम ७४ मा अल आउट भयो। चितवनले ८७ रनले खेल जित्यो। यो फराकिलो रनमा हार हुने टिममा दोस्रो अङ्क थियो।
जनकपुर बोल्ट्ससँगको दोस्रो खेलमा पनि पोखराले जित निकाल्न सकेन। पोखराले जितका लागि १ सय ३९ रनको चुनौती दिएकोमा जनकपुरले १७ बल बाँकी हुँदै सो लक्ष्य पुरा गर्दै ७ विकेटले हरायो।
लुम्बिनी लायन्ससँगको तेस्रो प्रतियोगितामा भने पोखराले शानदार जित मात्र निकालेर एनपिएलमा रेकर्डको वर्षा गरायो। तेस्रो खेल पोखराले १० विकेटले जित्यो। यो नै पहिलो रेकर्ड भयो। एनपिएलमा पहिलो शतक पोखराकै खेलाडीबाट बन्यो। सबैभन्दा छिटो अर्धसतक बनाउने, सबैभन्दा धेरै रनको पार्टनरसिप लगायतका रेकर्ड बनायो पोखराले।
तेस्रो खेलमा पोखरा फर्ममा फर्किएको सङ्केत गरेकै थियो। तर त्यसपछिका खेलमा सोही स्तरको खेलले निरन्तरता पाउन सकेन।
चौथो खेलमा कर्णाली याक्ससँग सात विकेटले पराजित भयो। विराटनगर किङस्सँगको खेल निकै टफ भयो। विराटनगरले सात विकेट गुमाएर १४० रनको चुनौती दिएको थियो।
पोखराले निर्धारित ओवरमा जित निकाल्न सकेन। रन बराबर भयो। एनपिएलमा पहिलो खेल सुपरओवरमा गयो। सुपरओवरमा खेल पोखराको पक्षमा गयो। सुपरओवरमा खेल जित्ने एनपिएलको पहिलो टिमको रेकर्ड पोखराको पक्षमा रह्यो।
प्लेअफका लागि टिमको सकस सुरु भइसकेको थियो। बाँकी रहेको दुई खेल जितेमा प्लेअफमा पुग्ने सम्भावना भने थियो। तर काठमाडौँ गोर्खाज्सँगको छैटौँ खेल पोखराले गुमाएसँगै प्लेअफमा जाने सम्भावना भाग्य भरोसामा पुग्यो। चितवनले खेल जितेसँगै यो सम्भावना पनि सकियो।
एनपिएलको पहिलो खेल हारबाट सुरु भए पनि अन्तिम खेल आइतबार जितबाट बिट मार्न चाहन्थ्यो टिम। त्यसका लागि लिगकै बलियो टिम सुदूरपश्चिमसँग पोखराका खेलाडी भिडेकै थिए। जतिको सम्भावना पनि देखिएकै थियो।
जितका लागि पाँच रन बाँकी अनि सबै ओवर सकिन दुई बल बाँकी थियो। तर विकेट गुम्दा त्यो प्रयास पनि सफल भएन। अन्तिम खेलमा पनि सुदूरपश्चिमसँग पाँच रनले पराजित भयो।
मंसिर ३०, २०८१ आइतबार १८:३२:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।