दाजुभाइको झगडाले एक सय चार वर्ष पुरानो व्यापारिक घराना फुट्यो, पद्म ज्योतिले बनाए अलग्गै समूह
काठमाडौँ : सम्पत्तिबारे दाजुभाइको विवादले एक सय चार वर्ष पुरानो व्यापारिक घराना ज्योति समूह विभाजित भएको छ। दाइ पद्म ज्योति र भाइ रूप ज्योतिबिच सम्पत्ति बाँडफाँडबारे लामो समयदेखि विवाद हुँदै आएको थियो।
दाई पद्म ज्योति अध्यक्ष रहेको कम्पनीबाट भाई रुप ज्योतिले हटाएको भन्दै शुरु भएको विवाद अन्तमा विभाजनमै पुगेको हो। भाइसँगको विवाद उत्कर्षमा पुगेपछि दाइ पद्म ज्योतिले आफ्नै नामबाट आइतबार नयाँ समूह ‘पद्म ज्योति समूह’ घोषणा गरे।
पछिल्लो समय दाजुभाइबीच ग्राण्डी सिटी क्लिनिक एण्ड हस्पिटलले ओगटेको क्षेत्रबारे चर्को विवाद शुरु भएको थियो। अन्तमा दाइले अलग समूह घोषणा गर्दै समूहको लोगो समेत सार्वजनिक गरे।
नयाँ समूहको अध्यक्षमा पद्म ज्योति छन् भने संस्थापक सदस्यमा मिरा ज्योति, सौरभ ज्योति, सुहृद ज्योति, सिर्जना ज्योति छन्। समूहको निर्देशक आरती ज्योति छिन्।
यसअघि पद्म ज्योति र रूप ज्योति ज्योति समूहको प्रमुख सल्लाहकार थिए।
पद्म ज्योतिले नयाँ समूह घोषणा गर्दै यसले नयाँ पुस्ताको नेतृत्वमा पद्यम ज्योति समूह सकारात्मक परिवर्तन हासिल गर्दै स्थानीय उद्यमशीलतालाई बढवा दिने दाबी गरेका थिए।
अध्यक्ष ज्योतिले पारिवारिक कलह बढेका कारण अलग समूह बनाउन ५ वर्ष अगाडि नै विधान तयार गरेको बताए। उनले पाँच वर्ष अगाडि नै पारिवारिक विधान बनाएको र त्यसले उचित मार्गदर्शन दिने दाबी गरेका थिए।
अब नयाँ समूहको स्वामित्वमा हिमाल स्टिल, भाजुरत्न इन्जिनियरिङ एन्ड सेल्स, हिमाल सिमेन्ट, हिमाल अक्सिजन, हिमाल वायर्स, ज्योति स्पिनिङ मिल्स, भाजुरत्न फार्मास्युटिकल्स र होन्डा मोटरसाइकल रहेको छ।
हजुरबाको इतिहास, नातिले भत्काए
ज्योती समूहको प्रारम्भ १९४० को दशकमा भएको मानिन्छ। यसको प्रारम्भ मणिहर्ष ज्योतिले गरेका थिए। ज्योति समूहको सुरुवात मणिहर्षका हजुरबुबाले तिब्बतको व्यापारबाट सुरु गरेका थिए। मणिहर्ष ज्योतिले यसलाई आधुनिकीकरण गरे।
ज्योति समूहमा पद्य ज्योति अध्यक्ष र रुप ज्योति उपाध्यक्ष भएर नेतृत्व गरेका थिए। तर यी दुबै दाजुभाइबीच सम्पत्तिको विवाद बढ्दै कलह बजारसम्म छरियो। दुबै सार्वजनिक रुपमा एक अर्का विरुद्ध उत्रँदै आएका थिए।
मंसिर ३०, २०८१ आइतबार १६:०२:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।