पुसका लागि नौ बैंकले घटाए ब्याजदर, दुई बैंकको फेरबदल

पुसका लागि नौ बैंकले घटाए ब्याजदर, दुई बैंकको फेरबदल

काठमाडौँ :  २० मध्ये ११ वाणिज्य  बैंकले पुस महिनाका लागि ब्याजदर समायोजन गरेका छन्। तीमध्ये ९ वटा बैंकले आफ्नो ब्याजदर घटाएका छन्। बैंकहरुले प्रकाशित गरेको सूचि अनुसार दुईवटा बैंकले निक्षेपको प्रकारका आधारमा ब्याजदर घटबढ गरेका छन्। 

बैंकहरुको सूची अनुसार तीनवटा बैंकले साधारण बचत खातातर्फ ब्याजदर घटाएका छन्। एक बैंकले सामान्य  रूपमा ब्याजदर बढाएको छ। तीन वटा बैंकले एक वर्षे व्यक्तिगत मुद्दती खाताको ब्याजदर घटाएका छन्। एउटा बैंकले मात्र ब्याजदर बढाएको छ। एक वर्षे संस्थागत मुद्दती खाताका लागि आठवटा बैंकले ब्याजदर घटाएका छन्।

सिटिजन्स बैंकले पुस महिनाका बचत खाताको ब्याजदर स्थिर राख्यो। व्यक्तिगत मुद्दती खाता र संस्थागत मुद्दती खाताको लागि उसले ०.२५ र ०.५० प्रतिशत विन्दुले ब्याजदर घटायो। अब पुसमा बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि उसले  ३, ५.५० र ३.५० प्रतिशत ब्याजदर कायम गरेको छ। 

ग्लोबल आईएमई बैंकले बचत खाता तथा व्यक्तिगत मुद्दती खाताको ब्याजदरलाई यथावत् राख्दै संस्थागत मुद्दती खाताको ब्याजदर ०.२५ प्रतिशत विन्दुले घटाएको छ।

कृषि विकास बैंकले बचत खाताको ब्याजदरलाई स्थिर राखेर बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि ३, ४.२६ र २.५० प्रतिशत ब्याज तोकेको छ।

नबिल बैंकले साधारण बचत खाता र व्यक्तिगत मुद्दती निक्षेपका खाताको ब्याजदरलाई स्थिर राखेको छ। बैंकले पुसका लागि संस्थागत मुद्दती खाताको ब्याजदर ०.२५ प्रतिशत विन्दुले घटाएको छ।

बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि ३, ५ र ३ प्रतिशत ब्याज दर कायम गरेको छ।

एभरेस्ट बैंकले पुसका लागि सबै प्रकारका खाताका ब्याजदरलाई यथावत् राखेको छ। मंसिरमा बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि ३.०५, ४ र ३ प्रतिशत ब्याज दिएको थियो। पुसमा पनि सोही दर कायम गरेको छ।

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले पुसका लागि बचत तथा व्यक्तिगत मुद्दती खाताको ब्याजदरलाई यथावत् राखेको छ। उसले संस्थागत मुद्दती खाताको ब्याजदरलाई ०.८५ प्रतिशत विन्दुले घटाएको छ। बैंकले पुसमा बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि ३, ५ र ३.१५ प्रतिशत ब्याज दिनेछ।

हिमालयन बैंकले बचत खाताको ब्याजदरलाई ०.०५ प्रतिशत र संस्थागत मुद्दती खाताको ब्याजदरलाई ०.२५ प्रतिशत विन्दुले घटाएको छ। व्यक्तिगत मुद्दती खाताको ब्याजदरलाई यथावत् छ। बैंकले पुसमा बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि ३, ४.७५ र ३.५० प्रतिशत ब्याज दिनेछ।

कुमारी बैंकले सबै प्रकारका निक्षेपको ब्याजदर स्थिर राखेको छ। कात्तिकदेखि बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि ३.०१, ५.३१ र ३.२५ प्रतिशत ब्याज दिँदै आएकोमा पुसका लागि पनि त्यही दर कायम गरेको छ।

लक्ष्मी सनराइज बैंकले सबै प्रकारका खाताको ब्याजदरलाई यथावत् राखेको छ। मंसिरमा बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि ३, ५ र ४ प्रतिशत ब्याज दिएको थियो। पुसमा पनि यही ब्याजदर कायम रहेको छ।

माछापुच्छ्रे बैंकले बचत खाताको ब्याजदरलाई यथावत् राखेको छ। बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि ३, ५.५० र ४.७५ प्रतिशत ब्याज दर कायम गरेको छ।

नेपाल बैंकले सबै प्रकारका खाताको ब्याजदर घटाएको छ। उसले बचत खातामा ०.०१ प्रतिशत, व्यक्तिगत मुद्दती खातामा ०.३५ र संस्थागत मुद्दती खातामा ०.३० प्रतिशत ब्याजदर घटाएको छ। यो अनुसार पुसमा बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि ३, ४.२० प्रतिशत र ३ प्रतिशत ब्याज दर कायम भएको छ।

नेपाल एसबीआई बैंकले सबै प्रकारका खाताको ब्याजदरलाई यथावत् राखेको छ। एनआईसी एसिया बैंकले बचत खाता ब्याजदर ०.१७ प्रतिशत विन्दुले घटाउँदै व्यक्तिगत खातामा भने ०.५० प्रतिशत विन्दुले बढाएको छ।

संस्थागत मुद्दती खाताको ब्याजदरलाई स्थिर छ । यस अनुसार पुसमा बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि ३.१०, ४.६५ र ३ प्रतिशत ब्याज दिनेछ।

एनएमबि बैंकले यसपटक सबै प्रकारका खाताको ब्याजदर स्थिर राखेको छ। प्रभु बैंकले पुसका लागि ब्याजदर मंसिरकै कायम गरेको छ।

प्राइम बैंकले साधारण बचत खाताको ब्याजदरलाई यथावत् राखेको छ। बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि ३, ६ र ४प्रतिशत ब्याज दर कायम गरेको छ।

राष्ट्रिय वाणिज्य बैंकले सबै प्रकारका खातामा मंसिरकै ब्याजदर कायम गरेको छ। सानिमा बैंकले बचत खाता र संस्थागत मुद्दती खाताको ब्याजदर स्थिर राखेको छ। व्यक्तिगत मुद्दती खाताको ब्याजदर ०.१० प्रतिशत विन्दुले घटाएको छ। सिद्धार्थ बैंकले यसपटक बचत खाता तथा व्यक्तिगत मुद्दती खाताको ब्याजदर स्थिर राखेको छ भने संस्थागत मुद्दती खाताको ब्याजदर ०.२५ प्रतिशत विन्दुले घटाएको छ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकले बचत खाता तथा व्यक्तिगत मुद्दती खाताको ब्याजदर स्थिर राखेको छ। बैंकले संस्थागत मुद्दती खाताको ब्याजदर ०.२५ प्रतिशत विन्दुले घटाएको छ। 

मंसिर ३०, २०८१ आइतबार १५:३४:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।